कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिजालमाथि आक्रमण प्रयासको कांग्रेसद्वारा भर्त्सना

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले पार्टीका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालमाथि नेकपाका कार्यकर्ताहरुबाट सोमबार तनहूँमा भएको आक्रमण प्रयासको घटनाप्रति भर्त्सना गरेको छ ।

रिजालमाथि आक्रमण प्रयासको कांग्रेसद्वारा भर्त्सना

तनहूँको ऋषिङ्ग गाउँपालिकाको भवन शिलन्यास गर्न पार्टीका जिल्ला कार्यसमितिका कार्यबाहक सभापतिसहित गएका रिजाललाई नेकपाका कार्यकर्ताहरुले बाटोमा रुख ढालेर अवरोध पुर्‍याउनुको साथै आक्रमण प्रयास गरेका थिए ।


भवन शिलन्यास कार्यक्रम गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट रिजालबाट गराउने निर्णय गरेको थियो । त्यसैलाई लिएर नेकपाका कार्यकर्ताहरुले अवरोध गरेका हुन् ।


‘खुकुरी, भाला, लाठी, ढुंगा, बियरका बोतलसहित मण्डले शैलीमा आक्रमण गर्न खोजेको सुनियोजित घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’ कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ,‘कार्यक्रमको विषयमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले वेवास्ता गर्नु चिन्ताको विषय हो ।’


कांग्रेसले फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र देखाएको भन्दै निन्दा प्रकट गरेको छ । ‘सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले एकपछि अर्को घटना दोहोर्‍याउँदै व्यक्तिको

स्वतन्त्रतामाथि नै प्रहार गर्दै गइरहेको घटनाप्रति सर्तक रहन आग्रह गर्छ’ कांग्रेसले भनेको छ,‘मण्डले शैलीमा हुने यस्ता गतिविधि नियन्त्रण नगरे अधिनायकवादी सरकारका विरुद्ध कांग्रेस आन्दोलनमा उत्रन बाध्य हुनेछ ।’


कांग्रेसले लोकतान्त्रिक आन्दोलनको मियो कांग्रेसलाई नजिस्काउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेकपालाई चेतावनी दिएको छ ।

प्रकाशित : आश्विन १२, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?