कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस नेता रिजालमाथि आक्रमण प्रयास

प्रताप रानामगर

दमौली — नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. मिनेन्द्र रिजालमाथि आइतबार तनहुँको ऋषिङ्ग अैरीचौतारीमा नेकपाका कार्यकर्ताले आक्रमण प्रयास गरेका छन् । 

कांग्रेस नेता रिजालमाथि आक्रमण प्रयास

ऋषिङ्ग गाउँपालिकाको भवन शिलन्यास गर्ने कार्यक्रममा सहभागी हुन जाँदै गर्दा नेकपाका कार्यकर्ताले नेता रिजालमाथि आक्रमण प्रयास गरेका हुन् ।

नेकपाका कार्यकर्ताले सवारी साधन आउजाउमा रोक लगाएपछि पैदलमा कार्यक्रमस्थल जाँदै गर्दा ढुंगामुढासहित सिसाको बोतल प्रहार भएको कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले बताए । तर, नेता रिजाललाई ढुंगा र सिसाका बोतलले नलागेको उनले बताए । घटनाको नेपाली कांग्रेस तनहुँले घोर भर्त्सना गरेको छ ।


आफूमाथि मात्र आक्रमण नभई कांग्रेस र लोकतन्त्रमाथि नै आक्रमण भएको नेता रिजालले बताए । ‘घटनाले नेकपाको दुई तिहाई सरकारको चरित्र उदांगो भएको छ,’ उनले भने, ‘घटनाले यो सरकार अधिनायवादतर्फ लागेको पुष्टि भएको छ ।’


संविधान र लोकतन्त्र विरोधी गतिविधि यही सरकारले गरेको नेता रिजालको अरोप छ । दुई तिहाई प्राप्त केपी ओलीको सरकारबाट नै संविधान र लोकतन्त्र खतरामा परेको उनले बताए ।


'नेकपाका कार्यकर्ता पुरानै माओवादीको शैलीमा प्रस्तुत हुनु नै संविधानको खिल्ली उडाएको छ । आफूमाथि आक्रमण गर्दा समेत प्रहरी प्रशासन मुखदर्शक भएर बसेको छ ।' नेता रिजालले भने ।


नेकपाका कार्यकर्ताहरुलाई डा रिजाललाई कार्यक्रममा आउन नदिनका लागि ठाउँठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका थिए । पूर्वमन्त्री समेत रहेका नेता रिजालाई नेकपाका कार्यकर्ताले करिब ४ घण्टा सडकमै रोकेका थिए ।


कांग्रेस नेता रिजालमाथि आक्रमण नभएको नेकपा ऋषिङ्गका अध्यक्ष गन्जसिं गुरुङ्गले बताए । ‘नेकपाका कार्यकर्ताले कसैमाथि आक्रमण गरेको छैन,’ उनले भने,‘आक्रमण गरेको भए त घाउचोटपटक लाग्थ्यो ।’ यो सरासर झूट कुरा हो । केन्द्रकै विषयलाई लिएर उक्त संयुक्त संघर्ष समितिले ऋषिङ्ग बन्दको आहृवान गरेको उनले बताए ।


संयुक्त संघर्ष समितिमा नेकपा, लोकतान्त्रिक पार्टी कांग्रेस वीपी, नेकपा क्रान्तीकारी, नेकमा माले लगायत वाम घटक आबद्ध छन् ।


ऋषिङ्ग गाउँपालिका केन्द्र सरोकार संयुक्त संघर्ष समितिले गाउँपालिकाको केन्द्र ढुंगाडे वा चालिसेमा राख्नपर्ने माग गर्दै आएको छ । तर, गाउँपालिकाको कार्यपालिकाको बैठकले गाउँपालिकाको वडा नम्बर ६ पोखरीभज्याङ्गमा केन्द्र हुने गरी आइतबार नै प्रशासनिक भवनको शिलन्यास गरेको छ ।


यो पनि पढ्नुहोस्:

रिजालमाथि आक्रमण प्रयासको कांग्रेसद्वारा भर्त्सना

प्रकाशित : आश्विन १२, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?