टीकापुरमा देशभरका थारु अगुवाहरुको भेला

टीकापुर घटनाको चार वर्ष 
ठाकुरसिंह थारु, गणेश चौधरी

टिकापुर — टीकापुरमा देशभरका थारु अगुवाहरु भेला भएका छन् । थारुवन प्रदेशको माग गर्दै जारी थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटनाको सम्झनामा देशभरीका थारु अगुवाहरु टिकापुरमा जम्मा भएका हुन् ।

थारु कल्याणकारिणी कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा सयौले सहभागीता जनाएका छन् । टीकापुरको सिटी हल र चौर खचाखच भरिएको छ । कार्यक्रममा सहभागी हुन मुलुकका विभिन्न क्षेत्रहरुबाट थारु समुदायले सहभागिता जनाएका छन् ।

कार्यक्रमलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राजपाका अध्यक्षमण्डलका सदस्य लक्ष्मणलाल कर्ण, पूर्व राजदूत विजय कर्ण, वरिष्ठ पत्रकार किशोर नेपाल, लेखक खगेन्द्र संग्रौला, युग पाठकले सम्बोधन गर्दैछन् ।

कार्यक्रमस्थलमा कडा सुरक्षाको व्यवस्था गरिएको छ । सुरक्षाकर्मीहरुले सुरक्षा जाँच गरेरमात्रै कार्यक्रम स्थलमा प्रवेश दिइरहेका छन् । आयोजकले १० हजार बढीको सहभागिता रहेको दाबी गरको छ ।

वक्ताहरुले टीकापुर घटनाका मुख्य दोषी मानिएका निलम्बित राजपाका सांसद रेशम चौधरीलाई रिहाईको माग गरेका छन् । टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्षमण न्यौपाने, डेढ वर्षीय बालक टेकबहादुर साउदसहित ८ को ज्यान गएको थियो ।

प्रकाशित : भाद्र ७, २०७६ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चाउचाउ खाएर सुतेकी बालिका मृत अवस्थामा फेला, आमा छोरा सिकिस्त

सन्तोष सिंह

धनुषा — धनुषाधाम नगरपालिकामा चाउचाउ खाएर सुतेको बालिकाको मृत अवस्थामा फेला परेकी छन् । शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी धनुषाधाम नगरपालिका–३ तेजनगरकी ६ वर्षीया काजल साह बिहान मृत फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताए ।

प्रतिकात्मक तस्बिर ।

शुक्रबार साँझ २९ वर्षीया आमा पवित्रि देवी, ६ वर्षीया छोरी काजल र ४ वर्षीय भाइ राकेश चाउचाउ खाएर सुतेका थिए । शनिबार बिहान बालिका मृत अवस्थामा फेला परेकी थिइन् । आमा र छोरा सिकिस्त अवस्थामा फेला परेपछि अस्पताल भर्ना गराइएको प्रहरी निरीक्षक थापाले बताए ।

आमा छोरोको स्थानीय अस्पातलमा उपचार भइरहेको छ । प्रहरीका अनुसार हाल दुवैको अवस्थामा सुधार आएको छ । अस्पताल भर्ना भएकी आमा र छोरालाई फुड प्वाइजन भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको थापाले बताए ।

सँगै चाउचाउ खाएकी आमा र छोरालाई फुड प्वाइजन भएको कारण चाउचाउकै कारण काजलको मृत्यु हुन सक्ने अनुमान गरिएपनि पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । मृतक बालिकाको घरबाट ज्याकपोट लेखिएको चाउचाउको खाली प्याकेट प्रहरीले बरामद गरेको छ ।

बालिकाको मृत्यु र एकै परिवारका २ जना सिकिस्त हुँदा घरका सबै सदस्य अस्पतालमा रहेकाले थप विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ । यता प्रहरीले स्थानीय पसलहरुबाट परीक्षणका लागि चाउचाउको नमुना संकलन गरेको छ । बालिकाको मृत्यु बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : भाद्र ७, २०७६ १४:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT