कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा सचिवालयमा 'एक्लिए' माधव नेपाल

काठमाडौं — पार्टी भित्र वरीयता घटाइएपछि पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता माधव नेपालले सोमबार जनकपुर पुगेर आफूलाई अपमान  भएको सार्वजनिक रुपमै बताए । यसले उनी पार्टी भित्र निकै कर्नरमा पर्दै गएको संकेत देखिएको छ । उनको असहमति रहँदारहँदै पार्टी सचिवालयका अन्य नेताहरु एकातर्फ उभिएपछि नेपाललाई अष्ठ्यारो पर्‍यो ।

नेकपा सचिवालयमा 'एक्लिए' माधव नेपाल

त्यसैले उनले झलनाथ खनाललाई तेस्रो वरीयतामा राख्ने विषयको विरोध गरेनन् । तर उनी निर्णयहरुमाथि 'नोट अफ डिसेन्ट' भन्दै बैठकबाट हिँडे । नेकपाको सविचलायको शक्ति सन्तुलनभित्र सोमबारको बैठकमा नेपाल अहिले एक्लै जस्तो देखिए । सचिवालयमा नौ जना नेता छन् । त्यसमध्ये पछिल्लो कार्यविभाजनमा अरु सबै एकातिर जस्तो देखिएका छन् ।


पहिला खनाललाई, अब मलाई अपमानित गरियो : नेपाल

पछिल्लो कार्यविभाजनमा ओलीले आफूसँग असन्तुष्ट सबै नेतालाई मिलाएका छन् । पार्टीमा कुनै जिम्मेवारी नदिइएको भन्दै रुष्ट रहेका गौतमलाई उपाध्यक्ष बनाउन ओली र दाहालले प्रस्ताव गरेका थिए । ओलीले अझ गौतमलाई कास्की-२ मा चुनाव लड्नसमेत अफर गरिरहेका छन् । त्यस्तै स्कुल विभागको जिम्मेवारी मागेका ईश्वर पोखरेललाई केही दिन छलफल लम्ब्याएर भए पनि ओलीले त्यही विभाग दिलाएका छन् । जुन विभागको विवाद हुँदा नेपाल समूहले पोखरेलको सट्टा अन्य विकल्पमा जान सकिने धारणा राखेको थियो । पोखरेल पनि पछिल्लो समय ओलीसँग केही असन्तुष्ट थिए ।

एकताका क्रममा आफ्नो वरीयता तल झारिएकामा खनाल रुष्ट थिए । उनको बढुवा गरेर ओलीले खुसी पार्ने प्रयास गरेका छन् । पूर्वमाओवादी समूह अहिले पनि पार्टीभित्र एउटै जस्तो छ । नौ सदस्यीय सचिवालयमा रहेका पूर्वएमालेका ६ जनामध्ये ५ जना एकातिर र नेपाल मात्र अर्कोतिर देखिन पुगेका छन् ।


नेता नेपालले आइतबार आफूलाई कर्नर गर्ने गरी निर्णय हुनेभएपछि सचिवालयमा काउन्टर प्रस्तावका रूपमा तत्कालीन एमालेमा आफ्नो समूहबाट उपाध्यक्ष जितेका तीन नेता भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्य बनाउन प्रस्ताव गरेका छन् ।


नेता नेपालले पूर्वएमालेमा हुँदाको वरिष्ठताक्रमका आधारमा जाने हो भने त्यो बेला तल्लो वरीयतामा रहेका नेताहरूलाई अहिले पनि त्यही स्थानमा राख्नुपर्ने धारणा बैठकमा राखेका थिए । तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल एकीकरणपछि सचिवालयमा रहँदा महाधिवेशनबाटै निर्वाचित तीन उपाध्यक्ष बाहिर रहेकाले वरीयता सच्याउन त्यहीँबाट सुरु गर्नुपर्ने नेपालको धारणा थियो ।


उनले निर्वाचित ५ उपाध्यक्षमध्ये विद्यादेवी भण्डारी राष्ट्रपति, गौतम पुनः पार्टीको उपाध्यक्ष बन्दा अन्य तीन जनामाथि चाहिँ अन्याय भएको भन्दै रावल, शाक्य र ज्ञवालीलाई ल्याउनुपर्ने धारणा राखेका थिए । यी तीन जना अहिले स्थायी समिति सदस्य मात्र छन् । रावल सुदूरपश्चिम प्रदेशको इन्चार्ज, शाक्य प्रदेश ३ इन्चार्ज र ज्ञवालीलाई हालै स्थानीय तह विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

नेपालले तीन जनाको प्रस्ताव ल्याएपछि अर्का नेता गौतमले तत्कालीन एमालेका एक उपमहासचिव पौडेललाई सचिवालयमा ल्याइसकेपछि अर्का उपमहासचिव घनश्याम भुसाललाई पनि सचिवालय सदस्य बनाउनुपर्ने प्रस्ताव गरेका थिए । नेपाल र गौतमको प्रस्तावमा मंगलबारको बैठकमा छलफल हुनेछ ।


आइतबारको बैठकमा नेता नेपालले अध्यक्ष ओलीलाई पार्टीका काम छोड्न भनेका थिए । सरकारको काममा केन्द्रित हुन र अध्यक्षका रूपमा पार्टी कामको जिम्मेवारी दाहाललाई छाड्न आग्रह गरेका थिए । नेपालको आग्रह ओलीले मानेनन् । बरु अर्का अध्यक्ष दाहालले नै ओली पनि अध्यक्षको भूमिकामै रहने धारणा राखिएदिए ।

प्रकाशित : भाद्र २, २०७६ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?