कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पालमुनि अझै पुगेन सरकार

सर्लाही र  पर्सा — धनकौल–३ ढापटोलका राजेन्द्र पासवान र पत्नी स्मितादेवी १५ दिने शिशु च्यापी वागमती किनारमा पाल हालेर बसिरहेका छन् । दुई साताअघिको बाढीले उनीहरूको घर भत्काएको छ । छानो गुमेका बेला पासवानलाई सुत्केरी र बच्चा स्याहार्नुपर्ने दायित्व थपिएको छ । 

मनुस्मारा खोलाको बाढीले दक्षिण–पश्चिम धनकौल, हरकठवा, महिनाथपुर, ढापटोल, छटौल, बैरिया, हिरापुर, भवानीपुरलगायत दुई दर्जन गाउँ डुबेका थिए । विस्थापित केही परिवार पानी घटेसँगै घर फर्केका छन् । घरै भत्केकाहरू पालमै बसेका छन् ।


राजेन्द्रलाई सुत्केरी पत्नीलाई के खुवाउने भन्ने चिन्ता छ । पोसिलो खान नपाएकाले पत्नीलाई बच्चालाई दूध पुर्‍याउनै मुस्किल छ । राजेन्द्रले दैनिक ज्यालादारी गरेर परिवार धान्दै आएका थिए । अहिले काम नपाएको र बाढीले अन्नपात समेत बगाएकाले मर्कामा परेको उनले बताए । उनीरूले अहिलेसम्म एक संस्थाले दिएको केही चामल र चिउराबाहेक केही पाएका छैनन् । ‘न घर छ न खानेकुरा, पालमा सुत्केरी र बच्चा राखेको छु, उनीहरूलाई खुवाउन केही छैन,’ उनले भने, ‘राहत कुरेर बसेको छु, त्यो पनि आएको छैन ।’


ढाप टोलका अधिकांश परिवारको उस्तै अवस्था छ । भत्कन बाँकी रहेका घरमा पनि बस्न सकिने अवस्था छैन । बालबालिका सबभन्दा बढी प्रभावित छन् । पल्लो गाउँको पसलबाट उधारोमा बिस्कुट र चाउचाउ ल्याएर बालबालिकाको पेट भरिदिने गरेको सीतादेवीले बताइन् । ‘खानेकुराको अभाव छ, एक संस्थाले दिएको केही चामलबाट दैनिक थोरै खर्च गर्छु, एक छाक मात्र खान्छौं,’ उनले भनिन् ।


यता जिल्ला विपद् व्यवस्थापन समितिले विस्तृत विवरण संकलन नभएसम्म राहत वितरण नगर्ने जनाएको छ । वास्तविक पीडितभन्दा अर्कैले राहत लैजान सक्ने भन्दै समिति हच्किएको हो । यसअघि समितिले जिल्लामा २ हजार ४ सय घरधुरी प्रभावित भएको अनुमान गरेको थियो । समिति अध्यक्ष तथा प्रजिअ कृष्णबहादुर राउतले ३२ वटा टोली बनाएर विवरण संकलन भइरहेको जानकारी दिए ।


राहत वितरण स्थगित

सर्लाहीमा पनि जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण स्थगित गरेको छ । वास्तविक पीडितभन्दा अर्कैले राहत लिएको आशंकामा वितरण रोकिएपछि पालमुनि बसिरहेकाहरू निराश छन् ।


समितिले जिल्लामा २ हजार ४ सय घरधुरी प्रभावित भएको अनुमान गरेको थियो । समितिको शुक्रबार साँझ सदरमुकाम मलंगवामा बसेको बैठकले तत्काललाई राहत वितरण रोकी घरधुरी सर्वेक्षण गर्ने निर्णय गरेको हो ।


धनकौल–३ का लालधारी पासवानले पीडामा परेका आफूहरू राहत पर्खाइमा आहत बनेको बताए । ‘अब कहिले सर्वेक्षण गर्ने र कहिले राहत पाउने ?,’ उनले भने ।


सदरमुकामबाट राहत आउन पनि यतिका समय लाग्नु विडम्बना भएको पासपति देवीको भनाइ छ । खानबस्नै समस्या रहेकाहरूको हकमा स्थानीय तहले बन्दोबस्ती गर्ने निर्णय भएको प्रजिअ एवं समिति अध्यक्ष कृष्णबहादुर राउतले बताए । ‘यसअघि प्रभावित क्षेत्रका वडाध्यक्षसँग सोधेर राहत वितरण गरिरहेका थियौं तर प्रभावकारी भएन । वास्तविक पीडितभन्दा अन्यले पाएको गुनासो आयो,’ उनले भने, ‘राहत प्रभावकारी बनाउन पुनः सर्वेक्षणको काममा जुटेका छौं, ढिलो भए पनि वास्तविक पीडितले राहत पाउनेछन् ।’


संघसंस्थाको भरथेग

डुबान क्षेत्रमा मंगलबार नेविसंघले एकदिने स्वास्थ्यशिविर सञ्चालन गर्‍यो । धनकौलको हरकठवा स्वास्थ्यचौकीमा आयोजित शिविरमा स्थानीयको भिड थियो । बाढीपीडितमा रोग संक्रमण बढ्न सक्ने भएकाले निःशुल्क स्वास्थ्य परीक्षणसहित विभिन्न औषधि प्रदान गरिएको नेता मनोजमणि आचार्यले बताए । काठमाडौंस्थित शिक्षण अस्पतालका प्रज्वल घिमिरे, सागर पन्त, भूषण श्रेष्ठ, नारायण कँडेल, गोपाल खनाल, सागर अधिकारीलगायत डाक्टरको टोलीले स्थानीयको स्वास्थ्य जाँच गरेको थियो ।


त्यस्तै पोखरास्थित असल छिमेकी नेपाल संस्थाले पर्सा र बाराका ३ सय ४२ परिवारलाई राहत वितरण गरेको छ । वीरगन्ज महानगरका नगवा, पशुपतिनगर, बाराको जितपुर सिमरा उपमहानगरपालिकाको रमौलीलगायत स्थानमा राहत बाँडिएको संस्थाका वीरगन्ज प्रतिनिधि प्रेम घिमिरेले जानकारी दिए । राहत सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, एक बोरा चामल, दाल, नुहाउने र लुगा धुने साबुन, नुन, खाने तेल, टुथपेस्ट, ब्रस, सेनेटरी प्याड, लाइटर आदि छन् ।


पीडितलाई राहत नै मुस्किल परिरहँदा संघीय सरकारकी समाजकल्याण मन्त्री थममाया थापाले प्रभावित क्षेत्रमा पुनर्निर्माण गरिने बताइन् । बुधबार बिहान सर्लाही, ईश्वरपुरमा विभिन्न संस्थाका तर्फबाट राहत सामग्री बाँड्दै उनले सबै स्थानबाट क्षतिको अन्तिम विवरण आएपछि पुनर्निर्माण अघि बढाउने जनाइन् ।

प्रकाशित : श्रावण ९, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?