कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशीको 'ओभरस्टे’ चक्कर

भिसा अवधि सकिएर पनि आफ्नो मुलुक नफर्की लुकेर बसेकालाई खोज्ने संयन्त्र दरिलो छैन

पोखरा — घटना १– शरणार्थी बताउँदै वर्षौंदेखि लेकसाइडमा बस्दै आएका जर्मन नागरिक लुजिफर प्लेज पक्राउ परे । भिसालगायत ट्राभल्स कागजात नभएका उनले सर्वसाधारणलाई धम्क्याउने, गालीगलौज गर्ने र मागेर गुजारा चलाउँदै आएका थिए । 

विदेशीको 'ओभरस्टे’ चक्कर

घटना २– फेवातालपारिको अनदुगाउँमा होटल चलाउँदै आएका जर्मनीका म्यानफ्रेड अगस्ट न्युमानलाई प्रहरीले पक्राउ गरेपछि उनी सन् २०१२ अगस्ट १५ देखि बिनाभिसा बस्दै आएको खुल्यो । न उनीसँग बिजनेस भिसा थियो, न त होटल सञ्चालन इजाजत ।


घटना ३– लेवनानका अलि स्लेमान सन् २०१६ नोभेम्बर ११ मा नेपाल भित्रिए । साथमा दुई छोरी म्यारियम रहम स्लेमान र फत्मा अल जहरा पनि थिए । सन् २०१७ मे ३० देखि भिसा सकिए पनि उनीहरू फेवाताल सिरानको खपौंदी क्षेत्रमा लुकीछिपी बस्दै आएका भेटिए ।


घटना ४– फ्रान्सेली नागरिक डिमिट्री ओगाले स्वीट्जरल्यान्डको नितिडा फाउन्डेसनको प्रतिनिधि भन्दै पोखरा आसपासका विद्यालयमा पुगेर परिचय दिन्थे । सहयोग गर्न आएको भन्दै तस्बिर खिच्थे । प्रहरीले सोधखोज गर्दा खुल्यो, उनीसँग कुनै पनि वैधानिक कागजात रहेनछ ।


सन् २०१७ मा नेपाल प्रवेश गरेका टर्कीका ओस्मान फिरात कोर्टमाज बेगनास ताल किनारको जंगलमा टेन्ट हालेर बस्दै आएका थिए । उनीसँग कुनै पनि वैधानिक कागजात थिएन । उनको साथमा एउटा चक्कु पनि भेटिएकाले चोरीमा संलग्न हुनसक्ने प्रहरीको अनुमान छ । केन्याका केल्भिन ओचेङ नुदीविरुद्ध काठमाडौं र पोखराका विभिन्न होटलमा खाना खाएर पैसा नतिरी भाग्ने गरेको आरोप थियो । त्यसैले गर्दा उनी पोखरामा समातिए । पक्राउपछि खुल्यो, उनको नेपाल बसाइँको भिसा अवधि सकिएको थियो ।


पर्यटक भिसामा आएका विदेशी नागरिकहरू बसाइँ अवधि सकिए पनि नेपालमा के कसरी ‘ओभरस्टे’ गर्दा रहेछन् भन्ने माथिका उदाहरणले पुष्टि हुन्छ । पर्यटकीय सहर पोखरा र आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि बढ्दै जाँदा गैरकानुनी रूपमा बस्ने पर्यटकको संख्या पनि उल्लेख्य रहेको सहजै अनुमान गर्न सकिन्छ ।


अध्यागमन विभाग, स्थानीय प्रशासन र प्रहरीले प्रभावकारी अनुगमन नगर्दा अवैध पर्यटक बस्दै आएका छन् । नेपाल भित्रिने पर्यटक कहाँ गएर के गर्छन् र कहिले फर्कन्छन् भन्ने जानकारीका लागि कुनै अध्यागमनको संयन्त्रले अद्यावधिक नगर्दा यस्तो समस्या बढेको हो । विभिन्न शंकाका आधारमा समातिएका विदेशीको संख्या ठूलो छ ।


अध्यागमन कार्यालय पोखराका अनुसार चालु वर्षको ११ महिनामा अवैध रूपमा बस्दै आएको पाइएका २० विदेशीलाई नियन्त्रणमा लिएर काठमाडौंस्थित अध्यागमन विभाग पठाइएको छ । गत वर्ष यसरी ९ जनालाई नियन्त्रणमा लिइएको थियो । जोखिम क्षेत्रको पहिचान र अनुगमनबिनै यति धेरै विदेशी समातिनुले समस्याका रूपमा रहेको कार्यालयका प्रमुख प्रमिला गौतम बताउँछिन् ।


‘पर्यटकीय गतिविधि बढ्दै जाँदा पोखरा र आसपासका क्षेत्रमा अवैध रूपमा बस्दै आएका पर्यटक पनि उल्लेख संख्यामा रहेको अनुमान गर्न सकिन्छ,’ उनले भनिन्, ‘विभागसँग समन्वय गरेर अब प्रभावकारी अनुगमनको तयारीमा कार्यालय छ ।’ भिसा अवधि सकिए पनि आफ्नो देश फिर्नुको साटो नेपालमा लुकीछिपी बस्ने स्थानको पहिचान गरी प्रभावकारी अनुगमनका लागि कार्यालयले योजना बनाउन लागेको उनले बताइन् । ‘कडाइ गर्न केन्द्रीय तहबाटै योजना, जनशक्ति र निर्देशन आवश्यक छ,’ उनले भनिन् ।


अध्यागमन कार्यालयले पर्यटक प्रहरीसँग सहकार्य गरी ‘ओभरस्टे’ गरिरहेका विदेशीलाई नियन्त्रणमा लिएर विभाग पठाउँछ । हालसम्म यसरी पठाइएका विदेशीबारे कुनै खास प्रकारका घटनासँग जोडिएर केरकार गर्दा मात्रै ‘ओभरस्टे’ बारे खुल्ने गरेको छ । अध्यागमन कानुनअनुसार भिसाको म्याद गुजार्नेले प्रतिदिन ५ डलर जरिवाना बुझाउनुपर्छ । कारबाहीपछि उनीहरूकै देश फिर्ता पठाइन्छ ।


पोखरा पर्यटक प्रहरीको अनुभवमा भिसा अवधि सकिएको, श्रम स्वीकृतिबिना काम गर्दै आएका, भिसा प्रयोजनविपरीत काम गरेका र लुकीछिपी बसेर लागूऔषध कारोबारमा संलग्न हुनेहरू समातिने गरेका छन् । कतिपयको खर्च सकिने, विभिन्न पेसा र व्यवसाय सञ्चालन गर्ने, यतै विवाह गरी बस्नेहरू पनि छन् । लेकसाइड, खपौंदी र पामेलगायत अन्य होमस्टे सञ्चालन भएका गाउँहरूमा अवैध पर्यटक बसेको हुनसक्ने पर्यटक प्रहरीको अनुमान छ । प्रहरी सहायक निरीक्षक विधानसिंह क्षत्री पर्यटकीय चहलपहल हुनेभन्दा ग्रामीण क्षेत्रमा बढी मात्रामा अवैध पर्यटक हुनसक्ने बताउँछन् ।


ब्रिटिस आर्मीबाट अवकाश पाएका बेलायती नागरिक ६५ वर्षीय रोय वोल्सनक्रफ्ट पनि समातिए । उनी पोखरा–१७ मा एउटा घर भाडामा लिएर २१ वर्षीया नेपाली युवतीसँग ‘लिभिङ टुगेदर’ मा बस्दै आएको खुल्यो । एक दिन केही पैसा हराएपछि चोरी भएको भन्दै उनले प्रहरीलाई खबर गरे ।


अनुसन्धानका क्रममा उनको नेपाल बसाइको भिसा अवधि २०१४ जुलाई १० देखि सकिएको खुल्यो । पोखरामै ‘सेटल’ हुन चाहेका उनलाई उनकै देश फिर्ता पठाइयो । पछिल्लो समय नेपाली युवतीसँग विवाह गरेर वा लिभिङ टुगेदरकै रूपमा कतिपय पर्यटक बस्न थालेका छन् । पर्यटक प्रहरी कार्यालय पोखराकी प्रमुख निरीक्षक भगवती तिमिल्सिेना भिसा अवधि गुज्रिए पनि लुकीछिपी बसेका विदेशीलाई पक्राउ गर्ने सरकारको घोषित अभियान छैन ।


‘समाउने अभियान नभए पनि निगरानी बढाएका छौं,’ उनले भनिन्, ‘गस्तीमा जाने बेला र कुनै पनि सूचना आएमा फिल्डमै गएर निगरानी गरिरहेका छौं । धमाधम कारबाही अघि बढाउन हामीसँग न पर्याप्त जनशक्ति छ, न बजेट ।’ नेपाल आइसकेपछि पर्यटक कहाँ जान्छन्, के गर्छन् भन्ने नियमित र प्रभावकारी अनुगमन, नियमन नहुँदा अवैध बसोबास गर्ने विदेशी बढेका हुन् । एउटा उद्देश्यको भिसामा नेपाल आएर अरू काम गर्ने, अवैध रूपमा बस्ने र विभिन्न अपराध तथा तस्करीमा संलग्न हुने र धर्म प्रचारलगायत काममा संलग्न हुने गरेको अध्यामगनका कर्मचारी नै बताउँछन् ।


जडीबुटी, पुरातात्त्विक सम्पदा र ओखटेपहराको ओसारपसारमा संलग्नसमेत हुने गरेका छन् । त्यस्तै सहयोग गर्ने नाममा धर्म परिवर्तनलगायत अरू क्रियाकलाप गर्ने, बालबालिका ओसारपसार तथा यौन दुर्व्यवहार, किर्ते कागजात, कल बाइपास, अवैध विदेशी मुद्रा चोरी तथा हुन्डीको कारोबारमार्फत नेपालको अर्थतन्त्रलाई नकारात्मक असर पुर्‍याउने काममा पनि संलग्न हुने गरेका छन् । भारतसँगको खुला सिमानाबाट बिनाकागजात नेपाल भित्रिने गरेकोसमेत पाइएको छ ।


अध्यागमन कार्यालय पोखराका सूचना अधिकारी राजुप्रसाद लामिछाने सबै विवरण अद्यावधिक नहुँदा कुन व्यक्ति केका लागि बसेको हो भन्न सकिने अवस्था नरहेको बताउँछन् । पक्राउ परेकाले पनि सही सूचना दिंदैनन् । अवैध बस्ने विदेशी धेरैजसो पैसा सकिएर बेखर्ची भएका छन् । शृंगारका सामान बिक्री गर्ने, गैरसरकारी संघसंस्थामा काम गर्ने, विद्यालयमा पढाउने, होटल, रेस्टुरेन्टमा काम गर्ने, आफैं सञ्चालन गर्ने पनि छन् ।


उद्यम दर्ताका लागि महानगर, घरेलु तथा साना उद्योग कार्यालयलगायत सरोकारवाला निकायले पनि यसतर्फ खासै चासो देखाउँदैनन् । बिनाअनुमति हिमाली तथा अन्य क्षेत्रमा घुम्न जाने र उनीहरू त्यतै हराउने पनि समस्याका रूपमा देखापरेको छ । हिमाली जिल्ला मनाङ र मुस्ताङमा समेत वर्षौं पुराना बिनापहिचानका विदेशी नागरिक बेलाबेला फेला परिरहन्छन् ।

प्रकाशित : जेष्ठ १३, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?