कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मिटर ब्याजको पासोमा सिंगै गाउँ

केत्तुकेका २ सय तामाङ घरधुरीमध्ये ६० प्रतिशतभन्दा यो पासोमा जेलिएका छन् । जसमा २५ हजारदेखि ७ करोड रुपैयाँ गुमाउनेहरू छन् । ठगी ओखलढुंगा सदरमुकाम र चिशंखुगढी गाउँपालिकाको कुईभीरसम्म फैलिएको छ 

(ओखलढुंगा/काठमाडौं) — झट्ट हेर्दा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ४ को केत्तुके गाउँ निकै शान्त देखिन्छ । तर यो शान्तिमा गाउँलेको वेदना मिसिएको अनौठो छटपटी गुम्सिएको छ । उनीहरू सजिलै मन फुकाएर आफ्ना कथा भन्ने सक्ने स्थितिमा छैनन् । त्यसो गर्दा आफैंलाई गलपासो पर्ला भन्ने भय उनीहरूलाई छ । 

मिटर ब्याजको पासोमा सिंगै गाउँ

दुई वर्षअघि ठगीको अनौठो पासोमा परेको केत्तुकेको यो कथा कानेखुसीमै सीमित छ । स्थानीयका अनुसार केत्तुकेका करिब २ सय तामाङ घरधुरीमध्ये ६० प्रतिशतभन्दा ठगिएका छन् । जसमा २५ हजारदेखि ७ करोड रुपैयाँ गुमाउनेहरू छन् । ठगीको यो जालो ओखलढुंगा सदरमुकाम र चिशंखुगढी गाउँपालिकाको कुईभीरसम्म फैलिएको छ । आफन्त र चिनजानकै मान्छेबाट ठगिएका कारण उनीहरू यसरी चुपचाप बस्न बाध्य भएका हुन् । ‘धेरैजसोले पैसा माया मारिसकेका छन्,’ एक पीडितले भने, ‘सबै नभए पनि अलिअलि फिर्ता आउने आशाले प्रहरीमा उजुरी दिँदा उल्टै सम्बन्ध बिग्रिने डरले चुप छौं,’ ठगिनेमा सर्वसाधारणदेखि निर्वाचित जनप्रतिनिधिसम्म छन् ।


कान्तिपुरले गरेको स्थलगत अध्ययन र नाम गोप्य राख्ने सर्तमा दर्जनौंसँग गरिएको कुराकानीले देखाउँछ, गाउँका सबैको जोडदा करिब २० करोड रुपैयाँभन्दा धेरै रकम फसेको छ । अलिअलि आफ्नै लोभ, अलिअलि आफन्ती तथा गाउँलेले देखाएको विश्वास र अलिअलि अरूले आँखैअघि कमाएको देखेर यो गाउँका धेरैले पैसा ब्याजमा लगाएका थिए । मिटर ब्याजमा पैसा पाउने लोभमा केही हजारदेखि लाखौं रुपैयाँ ब्याजमा लगाएका धेरैले अहिले ब्याजको आशा त मारिसकेका छन् नै, साँवा पनि नपाउने स्थितिमा पुगेका छन् ।


ठगी धन्दाको यो लहरोमा जोडिएका छन्, केत्तुकेकै शर्मिला लामा, एक समय माओवादी नेतासमेत रहेका उनका श्रीमान् ज्ञानेन्द्र गुरुङ ‘कसम’ र काठमाडौंमा एजुकेसन कन्सलटेन्सीसमेत चलाएर बसेका कपिल बर्मा । माओवादी सशस्त्र द्वन्द्व चलिरहेका बेला शर्मिलाले सिन्धुपाल्चोक ठेगाना बताउने तत्कालीन माओवादी नेता ज्ञानेन्द्र गुरुङ ‘कसम’ सँग बिहे गरिन् । शान्ति स्थापनापछि उनी श्रीमान्सँगै राजधानीमा बसेर स–साना व्यवसायमा संलग्न थिइन् । त्यहीबेला उनीहरूको परिचय कपिल बर्मासँग भयो ।


काठमाडौंको बानेश्वरमा इनोभेटिभ नेपाल नामक कन्सलटेन्सी चलाएर बसेका बर्मा रवाफिलो व्यक्तिका रूपमा परिचित थिए । शक्तिशाली व्यक्तिसँग गतिलो पहुँच बनाएका उनले एक समय अभिनेता राजेश हमाललाई आफ्नो कन्सलटेन्सीको ब्रान्ड एम्बेस्डर बनाएका थिए । ख्याति प्राप्त कलाकारलाई ब्रान्ड एम्बेस्डर बनाएकै कारण उनको चर्चा झनै बढेको थियो । साथै विद्यार्थीलाई टोफेल, आईएलटीएस जस्ता कक्षा गराएर अस्ट्रेलिया, बेलायतजस्ता मुलुक पठाउँथे ।


यिनै कपिलले ज्ञानेन्द्रमार्फत आफ्नो कम्पनीमा पैसा लगानी गरे राम्रो ब्याज पाउने खबर गाउँ पुर्‍याए । मासिक रूपमै सयकडा चार र पाँच (वार्षिक ६० प्रतिशत) सम्म ब्याज दिने प्रलोभनको हल्ला ‘एक कान, दुई कान, मैदान’ भयो । सुरुमा केही आफन्त र गाउँलेले लगानी पनि गरे । एक लाख लगानी गर्नेले एक महिनामै आफ्नो खातामा ५ हजारदेखि १० हजारसम्म ब्याज प्राप्त गरे । त्यसपछि त के चाहियो र, कम्पनीमा लगानी गर्न गाउँलेहरू आफैं अग्रसर भए ।


सुरु–सुरुमा कपिलले लगानीबापतको ब्याज गाउँलेको बैंक खातामा महिना मर्नेबित्तिकै हालिदिन्थे । घरमै बसीबसी कमाइ हुने भएपछि धेरैलाई मिटर ब्याजको धन्दाले आकर्षित गर्‍यो । यही लोभको पासोमा परेर धेरैले ब्याजबापतको रकममा थप खोजखाज गरेर पैसा थप्दै लगानी गर्न थाले । कतिले आफन्तसँग थोरै ब्याजमा पैसा ऋण लिएरसमेत लगानी गरे । झन्डै दुई वर्षसम्म कम्पनी र गाउँलेबीचको कारोबार चलिरह्यो ।


त्यसपछि मिटरको ब्याजको आम्दानी विस्तारै कम हँुदै गयो । कम्पनीले ब्याजबापतको रकम त दिएन नै, साँवा दिन पनि आनाकानी गर्न थाल्यो । खुरुखुरु ब्याज दिने कम्पनीले साँवा नै नदेला भन्ने विश्वास कसैले गरेनन् । आफ्नै गाउँकी चेलीमार्फत लगानी गरेकाले पनि धेरैले मुख खोलेर पैसा फिर्ता माग्न सकेनन् । त्यसो त कैयन् गाउँलेले चर्को ब्याजबाट पैसा कमाउन सकिने भन्दै आफ्ना आफन्त र छिमेकीलाई पनि लगानी गर्न उक्साएका थिए ।


तर विस्तारै महिना बित्न थालेपछि र पैसा लिएकाहरू सम्पर्कमै आउन छाडेपछि गाउँलेहरूले कपिललाई खोज्न थाले । कतिपयले उनलाई भेटेरै गाडी खोस्ने प्रयाससम्म गरे । तर अहँ, पूरा पैसा उठेन । यही बीचमा कपिल आफ्नो कार्यालय नै बन्द गरेर बेपत्ता भए । स्थानीय गाउँलेले पैसा फिर्ता गराइदिन शर्मिला र ज्ञानेन्द्रलाई पनि बारम्बार अनुरोध गरे । तर केही काम लागेन । ‘नाताले हाम्रै चेली र ज्वाइँ हुन् । कमाएर तिर्छु भन्छन् ।’ झन्डै ५ करोड फसाएका केत्तुकेका एक व्यापारीले भने, ‘अब कमाएर करोडौं रुपैयाँ कहिले फिर्ता होला र ? उजुरी गरेर जेल पठाउँदा उल्टै पैसा डुब्ने डर ।’ कपिलको खोजीमा खटिएका स्थानीय गाउँलेले कपिल दिल्लीतिर बस्ने गरेको सुनाए ।


‘मलाई त मेरो बच्चैदेखिको अत्यन्तै मिल्ने साथीले लगानी गर्नु, पैसा फस्दैन भन्यो,’ सिद्धिचरण नगरपालिका १२ का गणेश कार्कीले भने, ‘मैले विश्वास गरेर लगानी गरें । केही समय ब्याज र साँवा दुवै फिर्ता आयो । तर पछि भने आउनै छोड्यो ।’ उनले ८४ लाख लगानी गरेकामा १२ लाख फिर्ता गरे । अब ७२ लाख लिन बाँकी छ । उनले सिधै आफ्नो साथीको नाममा पैसा पठाएका कारण भौचर र भर्पाई साथीकै नाममा भएको बताए । ‘साथीले आफंैले पैसा फिर्ता गर्दिन्छु भनेकाले विश्वास गरेर बसेको छु,’ उनले थपे ।


पैसा लगानी गर्ने भन्दै सम्पर्कको माध्यम बनेका धेरैजसोको बिचल्ली भएको छ । उनीहरूले आफ्ना घरजग्गा बेचेर सकेजति पैसा फिर्ता गरिरहेका छन् । कम्पनी मालिकबाट पैसा उठाउन नसकिने भएपछि आफूले मागेर पैसा लगानी गरिदिएका आफन्तको पैसा फिर्ता गरिदिन भएको जायजेथा बेच्नुपरेको हो ।


कपिलको ठगी धन्दामा मुछिएका ज्ञानेन्द्र गुरुङको राजनीतिक पहुँचका कारण पनि गाउँका पीडित खुलेर बोल्न चाहँदैनन् । ठगी कथाको पोल खुल्दा आफ्नै आफन्त पर्ने डर मात्रै गाउँलेमा छै्रन, आउला भन्ने आस गरेको पैसा सधैंका लागि डुब्ने हो कि भन्ने चिन्ता पनि छ । कान्तिपुरले बारम्बार सम्पर्कको प्रयास गर्दा पनि सिन्धुपाल्चोकमा राजनीति गरिरहेका ज्ञानेन्द्र सम्पर्कमा आएनन् । गाउँलेले उनकी पत्नीको भन्दै दिएको नम्बरमा बारम्बार सम्पर्क गर्दा ज्ञानेन्द्रको आफन्त बताउने एक महिलाले फोन उठाइन् । केत्तुकेको ठगी प्रकरणबारे बुझ्न फोन गरेको बताउँदा पनि उनले ज्ञानेन्द्र घरमा नभएको र पछि कुरा गराइदिने बताइन् । तर दोस्रो र तेस्रो फोन सम्पर्कमा पनि ज्ञानेन्द्रसँग कुरा हुन सकेन ।


सिन्धुपाल्चोकका माओवादी नेता अग्नि सापकोटाले ज्ञानेन्द्र विगतमा जिल्लाको योङ कम्युनिस्ट लिग अर्थात् वाईसीएलको कोषाध्यक्ष रहेको र पार्टी एकीकरणपछि पदको विभाजन भइनसकेको बताए । जिल्लास्थित पूर्वमाओवादी नेताबाट प्राप्त ज्ञानेन्द्रको नम्बरमा बारम्बार प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।


कपिलको अर्को ठगी धन्दा

पैसा फसाएका केत्तुकेका धेरैजसो सोझा तामाङलाई कपिलको ठगी धन्दाको ‘विराट स्वरूप’ बारे थाहा नभए पनि प्रहरी परिसर काठमाडौंका निम्ति भने उनको नाम नौलो होइन । पहिलोपटक २०७४ जेठमा रमेशमान सिंहले उनीविरुद्ध प्रहरी परिसर काठमाडौंमा ठगी मुद्दा दायर गरेका थिए । आफ्नो छोरालाई विदेश पठाइदिने भन्दै १२ लाख रुपैयाँ लिएर बेपत्ता भएको भन्दै परेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेर ठगी मुद्दा चलाएको थियो । प्रहरी परिसरको अभिलेखअनुसार त्यतिबेला उनी ३० दिन थुनामा बसेपछि धरौटी बुझाएर छुटेका थिए ।


यसरी छुटेका बर्माविरुद्ध फेरि २०७४ साउन २६ गते प्रहरी परिसर काठमाडौंमै ठगीको अर्को उजुरी पर्‍यो । अस्ट्रेलिया, युरोप र अमेरिका लगिदिने भन्दै ६० लाख रुपैयाँ उठाएर ठगी गरेको भन्दै हीरामणि शर्मासहितका पीडितले इनोभेटिभ कपिलसहित अन्य तीनविरुद्ध उजुरी गरेपछि प्रहरीले ठगी मुद्दामा अनुसन्धान सुरु गरेको थियो । अन्य दुई पक्राउ परे पनि उनी फरार भइसकेका थिए । खोजी गर्दा पनि फेला नपरेपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा प्रक्रिया अगाडि बढायो । अदालतले ठगी मुद्दालाई सदर गर्दै उनीविरुद्ध पक्राउ वारेन्टसमेत जारी गरिसकेको छ । प्रहरी परिसर काठमाडौंका डीएसपी मोहन थापाले भने, उनी प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति हुन् ।


कपिलले आफ्नो ठगी धन्दा विस्तारका निम्ति नायक राजेश हमाललाई समेत दुरुपयोग गरेका थिए । कपिलको ठगी धन्दाबारे प्रहरीमा उजुरी परेपछि कन्सलटेन्सीहरूको छाता संगठन शैक्षिक परामर्श संघले पनि इनोभेटिभको सदस्यता खारेज गरेको थियो । कपिलमाथि अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार अमेरिका, अस्ट्रेलियालगायतका देश पठाउने भन्दै उनले झन्डै २ करोड रुपैयाँ ठगेको देखिन्छ ।


कारोबार शून्य भयो गाउँ

कपिललाई मिटर ब्याजमा पैसा लगाउने लहर चलेपछि केत्तुकेमा सञ्चालित सहकारी नै समस्यामा पर्न थालेका थिए । दुई वर्ष अघिसम्म केत्तुकेमा सञ्चालित सहकारीहरूमा अधिकांश स्थानीयको खातामा औसतमा ४ लाखदेखि ५ लाख रुपैयाँसम्म बचत थियो । बर्माको कम्पनीमा लगानी गर्दा सहकारीको भन्दा धेरै ब्याज आउने हल्ला फैलिएपछि अधिकांशले सहकारीको रकम निकालेर बर्माको कम्पनीमा लगानी गरे ।


‘हाम्रो सहकारीमा बचत शून्य हुने डर बढेको थियो,’ स्थानीय जनसेवी बचत तथा ऋण सहकारी संस्थाका एक–एक कर्मचारीले भने, ‘कम्पनीमा लगानी गरेको रकम फिर्ता आउन छाडेपछि मासिक बचत १ लाख पुर्‍याउन धौधौ भयो ।’ सहकारीबाट धमाधम रकम निकाल्न थालेपछि सहकारीको कारोबार स्वाट्टै घटेको ती कर्मचारीले बताए । उनका अनुसार अहिले सहकारीबाट रकम निकाल्नेहरू पछुताइरहेका छन् र गाउँमा केही आपत् परिहाल्यो भने केही लाख रुपैयाँ पनि खोज्न मुस्किल हुन थालेको छ ।


ठगी प्रकरणबारे मानेभन्ज्याङ गाउँपालिका ४ केत्तुकेका वडाध्यक्ष सन्तबहादुर तामाङ पनि जानकार छन् । किनकि चर्को ब्याज पाइने आसमा उनले पनि केही पैसा गुमाएका छन् । तर कान्तिपुरसँगको कुराकानीमा उनले आफूले कति पैसा फसाएको छु भनेर बताउन तयार भएनन् । उनले ठगी प्रकरणको जालो यथार्थ घटना भएको बताए । उनले भने, ‘आफन्तमार्फत लगानी गर्दा धेरैको पैसा डुब्यो ।’ वडाध्यक्ष तामाङले कति हो कति मान्छेको पैसा फसेको बताउँदै १७/१८ करोड नै फसेको हुन सक्ने अनुमान लगाए । लेनदेनको मुद्दा भएकाले प्रहरीले पनि अनुसन्धान नगर्ने भएकाले गाउँलेहरू प्रहरीमा नगएको र गाउँलेले आफ्नै तरिकाले पहल गरिरहेको बताए । उनले भने, ‘पैसा बुझ्नेले दिन्छु, दिन्छु भनिरहेको छ । तर कहिले दिन्छ, कसरी दिन्छ थाहा छैन ।’ त्यसो त आफ्नो र गाउँलेको फसेको पैसा उठाउन १५ दिनअघि मात्रै वडाध्यक्ष तामाङ काठमाडौं पुगेर ज्ञानेन्द्र र शर्मिलालाई भेटेका थिए । स्रोतका अनुसार उक्त भेटमा ज्ञानेन्द्रले पैसा उठाउन पहल भइरहेको र आफूले गर्दा मात्रै यस्तो नभएकाले प्रयास भइरहेको बताएका थिए । वडाध्यक्ष तामाङले कुराकानीको अन्तिममा भने, ‘कि समाचार छापेर सर्लक्क हाम्रो पैसा उठाइदिनुपर्‍यो । होइन भने हामी आ–आफ्नै तरिकाले उठाउँछौं ।’


ओखलढुंगास्थित जिल्ला प्रहरी कार्यालयका डीएसपी पुष्पराज मल्लले ठगीको विषयमा प्रहरीमा कुनै उजुरी नपरेको बताए । उनले भने, ‘मिटर ब्याजमा लगानी गर्नु गैरकानुनी भएको र यसैको आडमा ठगी धन्दा चलेको रहेछ भने अनुसन्धान गर्छौं ।’ कान्तिपुरसँगको कुराकानीमा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले ठगीबारे उजुरी आए अनुसन्धान गरिने बताइन् । उनले भनिन्, ‘ठग्ने फरार भएर भारत पुगेको भए पनि प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मार्फत भए पनि पक्राउ गर्न सकिन्छ ।’

प्रकाशित : माघ १७, २०७५ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले नेपालमा फेरि हवाइ सुरक्षाको प्रश्न उठेको छ । पटकपटक दुर्घटना भइरहनुको मुख्य कारण के होला ?

×