कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भक्तपुरमा ६ महिनामा मानवअधिकार हननका १२० घटना

भक्तपुर — भक्तपुरमा गएको ६ माहिनामा मानवअधिकार उल्लंघनका १२० वटा घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको मानवअधिकार हननका घटनाको तथ्यांकअनुसार सन् २०२३ को पहिलो ६ महिनामा जिल्लामा १२० वटा मानवअधिकार उल्लंघनका घटना भएका हुन् ।

भक्तपुरमा ६ महिनामा मानवअधिकार हननका १२० घटना

इन्सेकले शनिबार एक कार्यक्रम आयोजना गरी ती घटनाको विवरण सार्वजनिक गरेको छ ।इन्सेकका अनुसार यस अवधिमा १ जनाको हत्या भएको छ भने अन्य ४ जनामाथि हत्याको प्रयास भएको छ । २१ जना महिला तथा बालिका बलात्कृत भएका छन् भने २ जनामाथि बलात्कार प्रयास भएको छ ।

त्यस्तै, बाल यौन दुर्व्यवहारमा ५, बहुविवाहमा २, अभद्र व्यवहारमा ५१, घरेलु हिंसामा ३२ र आत्महत्या दूरुत्साहनमा २ जना पीडित भएको इन्सेक जिल्ला प्रतिनिधि रमेश गिरीले जानकारी दिए । कार्यक्रममा जिल्लाका सरोकारवालाहरूले मानवअधिकार हननका घटनामा कमी आउन नसकेको, बरू जघन्य अपराधको संख्या बढेर जान थालेको भन्दै दुःख व्यक्त गरे ।

जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले पछिल्लो समय व्यक्ति र राज्यबाट समेत समान संख्यामा मानवअधिकार उल्लंघनका घटनाहरू हुन थालेको बताए । उनले राज्यबाट समेत मानवअधिकार हनन् हुने गरी नागरिकहरूमाथि आक्रमण हुनु दुःखद भएको बताए ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मानवअधिकार हननका घटनामा कमी ल्याउन जिल्ला सरोकारवाला सबैको चासो र ध्यान जान आवश्यक रहेको बताएका थिए । इन्सेकले हरेक ६-६ महिनामा घटनाको विवरण सार्वजनिक गर्ने र वार्षिक रुपमा पुस्तक सार्वजनिक गरी समीक्षा गर्ने गर्दै आएको छ ।

प्रकाशित : असार ९, २०८० १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?