सुन्धाराको पाइप भाँचिएपछि विवाद- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन्धाराको पाइप भाँचिएपछि विवाद

दामोदर न्यौपाने

काठमाडौँ — सुन्धारामा पानी झर्ने परम्परागत पाइप भाँचिएपछि धरहरा पुनर्निर्माणमा विवाद भएको छ । धरहराका नयाँ संरचना बनाउने क्रममा सुन्धाराछेउमा डोजरले खन्दा काठको पुरानो पाइप भाँचिएको थियो । स्थानीयवासीले ऐतिहासिक ठाउँमा नयाँ संरचना बनाउँदा ध्यान दिनुपर्छ भनेर खबरदारी गरेका थिए ।

तर, निर्माण कम्पनीले बेवास्ता गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । विरोधपछि खन्ने काम रोकिएको छ । ‘हामीले यहाँ संरचना बनाउन हुँदैन भनेका थियौं,’ स्थानीयवासी गौतम डंगोलले भने, ‘तर मेयरसँग कुरा भइसकेको छ भनेर जबर्जस्ती गरियो । हामीले दुई महिनादेखि भनिआएका हौं ।’

विवाद बढेको थाहा पाएपछि काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले सोमबार धरहरा क्षेत्रको निरीक्षण गर्दै सरसल्लाह नगरी काम अघि नबढाउन निर्देशन दिएका छन् । ‘खन्दाखेरि यस्तो भेटियो भनेर काम रोक्न सकिन्थ्यो । के गर्ने भनेर सल्लाह गरेर अघि बढ्न सकिन्थ्यो,’ शाहले भने । धरहरा पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का जीआईईटीसी रमन जेभीलाई दिएको थियो । निर्माण सम्पन्न नहुँदै गत पुसमा प्राधिकरणको म्याद सकिएपछि हालको जिम्मेवारी सहरी विकास मन्त्रालयअन्तर्गतको भवन निर्माण विभागलाई छ । सुन्धारामा कृत्रिम उपायबाट पानी खसाल्न पानी जमाउने उद्देश्यले ट्यांकी बनाउन लागिएको थियो । ‘सुन्धाराकै लागि रिजर्भ ट्यांकी बनाउन खनेका हौं,’ निर्माण कम्पनीका मेनेजर सञ्जय नकर्मीले भने, ‘काम रोकिएको छ । पुरातत्त्व विभागले निरीक्षण गरेपछि के गर्ने भन्ने टुंगो लाग्छ ।’ सुन्धाराका लागि १ लाख लिटर क्षमताको रिजर्भ ट्यांकी बनाउन लागेको नकर्मीले जानकारी दिए ।

यही ठाउँमा ट्यांकी बनाउन नहुने स्थानीयवासीले माग गर्दै आएका थिए । ‘वैज्ञानिक इन्जिनियरिङ थियो यहाँ,’ सम्पदा संरक्षण अभियानकर्मी आलोकसिद्धि तुलाधरले भने, ‘तर प्राचीन इन्जिनियरिङलाई ध्यानै नदिई सम्पदा क्षेत्रमा अन्धाधुन्ध डोजर चलाइयो । यहाँ काठको डुँड भेटियो । अब यसबाट पाठ सिक्नुपर्छ । यस्ता ठाउँमा निर्माण गर्दा सबै कुरामा होस गर्नुपर्छ ।’ सुन्धाराको संरक्षण गर्नुपर्ने उनले बताए ।

‘डिजाइनलाई सच्याउनुपर्छ,’ उनले भने । प्राचीन स्मारक भएका ठाउँमा जथाभावी ढंगले खन्ने काममा रोक लगाउन माग गर्दै स्थानीयवासीले पुरातत्त्व विभागको पनि ध्यानाकर्षण गरेका छन् । अधिवक्ता सञ्जय अधिकारीले दोषीलाई अनुसन्धान गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार कारबाही गर्न माग गर्दै पुरातत्त्व विभागमा निवेदनसमेत दर्ता गरेका छन् ।

सुन्धारा धरहराको उत्तरतिर छ । धारा दक्षिणतिर फर्केका छन् । धरहराको सतहभन्दा गहिरो भएकाले सुन्धारा पुग्न २५ खुड्किला ओर्लनुपर्छ । सबैभन्दा तल्लो सतहमा धारा छन् । पाँचवटा धारा छन् । साफल्य अमात्यको पुस्तक ‘पुरातत्त्व, इतिहास र संस्कृति’ अनुसार सुन्धाराको पानी आउने स्रोत भाग कर्मचारी सञ्चय कोष भवन भएको ठाउँतिर छ । यही ठाउँमा पानी आउने संरचना थियो । सञ्चय कोष भवन बनाउने क्रममा संरचना भत्किएपछि सुन्धारा सुक्यो । कृत्रिम नभई प्राकृतिक रूपमै सुन्धारामा पानी ल्याउनुपर्ने माग सम्पदाविद्ले गरेका छन् ।

प्रकाशित : मंसिर २७, २०७९ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्

खुलामञ्चमुनि पार्किङ बनाउने निर्णयको विरोध

दामोदर न्यौपाने

काठमाडौँ — काठमाडौं महानगरपालिकाले खुलामञ्चमुनि तीनतले पार्किङ बनाउने भएपछि विरोध सुरु भएको छ । महानगरको गत साता बसेको १० औं कार्यपालिका बैठकले डीपीआर बनाउने निर्णय गरेपछि स्थानीय र सम्पदा संरक्षणकर्मीले खुलामञ्चको जमिन बिगार्न नहुने भन्दै निर्णय फिर्ता लिन माग गरेका छन् । 


‘अकुपाई टुँडिखेल’ का संयोजक विजय श्रेष्ठले सम्पदा जोगाउने र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने भन्दै आएका मेयरले यस्तो निर्णय गरेकोमा आश्चर्य लागेको बताए । ‘मेयर बालेन्द्रले राम्रो काम गर्दै आउनुभएको छ, हामीले समर्थन नै गर्दै आएका छौं,’ उनले भने, ‘तर यो ऐतिहासिक खुलामञ्चमुनि सवारी पार्क गर्ने आइडिया कसले दियो उहाँलाई ? हामी यो ठाउँको जमिन नबिगार्न आग्रह गर्छौं ।’ महानगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाहले त्रिपल बेसमेन्ट पार्किङ र रिचार्जको डीपीआर तयार पार्नेसम्बन्धी प्रस्ताव पेस गरेका थिए । त्यसको अध्ययन र प्राविधिक सहयोगका लागि ‘टाउन डेभलपमेन्ट फन्ड’ लाई अनुरोध गर्ने उनको प्रस्ताव छ ।

महानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा खुलामञ्च नजिकैको खाली ठाउँमा पार्क बनाउने योजना समावेश गरिएको थियो । वार्षिक बजेट पुस्तिकाको सहरी यातायातसम्बन्धी नीतिको १११ नम्बर बुँदामा ‘काठमाडौंको बढ्दो सवारी चापलाई मध्यनजर गरी महानगरपालिका वडा नम्बर ११ मा रहेको खुलामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिनेछ’ लेखिएको छ ।

‘१० औं कार्यपालिका बैठकले खुलामञ्चमा भूमिगत पार्किङ बनाउन सम्भाव्यता अध्ययन गर्ने भनियो तर नीति तथा कार्यक्रम बनाउने बेलामा खुलामञ्च नजिकै भनेर भ्रम छर्ने काम भयो,’ सम्पदा संरक्षण अभियानकर्मी गणपतिलाल श्रेष्ठले भने, ‘नीति कार्यक्रमका भने जस्तै खुलामञ्च ११ वडा पनि होइन । खुलामञ्च नजिकैको स्थल भन्नासाथ त्यतिबेलै खुलामञ्चै मास्न लागेको भन्ने शंका लागेको थियो, हो रहेछ ।’ ८६३ कित्ता नम्बर रहेको खुलामञ्च २८ वडामा पर्छ । सैनिक मञ्च, टुँडिखेलसम्मको कित्ता एउटै हो ।

पार्किङ स्थलका लागि बहुउद्देश्यीय भवन बनाएर खुलामञ्चको विकल्प खोज्न सकिने र नेपाल वायुसेवा निगमको भवन भएको ठाउँ प्रयोगमा ल्याउन सकिने स्थानीयवासीले सुझाव दिएका छन् । यसबाहेक धरहरामा बनेको दुई तले पार्किङ स्थललाई प्रयोगमा ल्याउन सकिने सुझाव अभियानकर्मीले दिएका छन् । ‘पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं टावरमा पार्किङस्थल बनिरहेको छ । यी ठाउँलाई प्रयोगमा ल्याइहाल्नुपर्छ,’ श्रेष्ठले भने, ‘यसबाहेक एनएसीलगायतका ठाउँमा बहुतले पार्किङ बनाउन सकिन्छ । त्यस्ता विकल्प नहेरी सिधै खुलामञ्च ताकिएको छ, यहाँको जमिन हामी छुन दिँदैनौं ।’

महानगर स्रोतका अनुसार यही ठाउँमा भूमिगत पार्क बनाउन केशव स्थापित मेयर भएको बेलादेखि नै प्रयास भएको हो । स्थानीयको विरोधले काम अघि बढ्न सकेन । विद्यासुन्दर शाक्य मेयर हुँदा पनि खुलामञ्चलगायत टुँडिखेलमुनि भूमिगत पार्किङ बनाउने चर्चा चल्यो । अकुपाई टुँडिखेल अभियान सञ्चालन भइरहेकाले महानगरले यसलाई प्रस्तावका रूपमा भने अघि बढाएन । ‘अहिलेको जति ठाउँ छ, त्यो डबलीका रूपमा रहन्छ, भूमिगत मात्र पार्किङ गर्ने हो भनेर मेयरले म्यासेज गरेका थिए,’ श्रेष्ठले भने, ‘खुलामञ्चमा पार्किङ बनाउन सोच्नसमेत नहुने बताएको थिएँ । हामीले सार्वजनिक सम्पत्ति र काठमाडौंको पानीको मुख्य भरण हुने ठाउँ नचलाउन अनुरोध गरेका छौं ।’

खुलामञ्चमा पार्किङ बनाउनुभन्दा पनि कोर सिटीमा सवारी प्रवेशमै रोक लगाउनुपर्ने माग सम्पदाप्रेमीले गर्दै आएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई वर्षअघि तयार गरेको बृहत् टुँडिखेल पार्क गुरुयोजनामा यो क्षेत्रलाई सवारी निषेध गरेर रिक्सा मात्र चलाउने भनिएको छ । माथिल्लो क्षेत्रमा जाने सवारी सिंहदरबार, पुतलीसडक हुँदै जमलतिर पठाउने, कलंकीतिर जानेलाई माइतीघर, त्रिपुरेश्वरतिरबाट पठाएर बीचको क्षेत्र सवारी निषेध गर्ने साथै रानीपोखरीबाट शान्ति वाटिका, रत्नपार्क, खुलामञ्च, सैनिक मञ्च, टुँडिखेल हुँदै दशरथ रंगशालासम्म विस्तार गर्ने गुरुयोजनामा उल्लेख छ ।

खुलामञ्च ठूला राजनीतिक परिवर्तन भएका बेला सभा गरिएको ऐतिहासिक स्थल हो । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापित हुँदा यही ठाउँमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीलगायतले सम्बोधन गरेका थिए । २०६२/२०६३ मा लोकतन्त्र पुनःस्थापित भएपछि पनि दलहरूले यही ठाउँलाई आफ्नो अभिव्यक्ति राख्ने ठाउँको रूपमा प्रयोग गरेका थिए । ‘यो नागरिकको आवाज राख्ने ठाउँ हो । लोकतन्त्रमा नागरिकको आवाज राख्ने ठाउँ महत्त्वपूर्ण हुन्छ । यस्तो महत्त्वपूर्ण स्थानलाई संरक्षण गरिएका थुप्रै अन्तर्राष्ट्रिय नजिरसमेत छन्,’ अधिवक्ता सञ्जय अधिकारीले भने, ‘यो ठाउँलाई बिगार्न कानुनी र नैतिक रूपले मिल्दैन ।’

महानगरले भने भूमिगत पार्क बनाउन सम्भाव्यता अध्ययन मात्र गर्न लागेकाले अहिले नै आत्तिनुपर्ने अवस्था नआएको जनाएको छ । ‘सभ्याव्यता अध्ययन गरेपछि के गर्ने भनेर छलफल हुन्छ,’ महानगर प्रवक्ता नवीन मानन्धरले भने, ‘सार्वजनिक सुनुवाइ हुन्छ, त्यसमा उठेका आवाज सुनिन्छ ।’ संरक्षणकर्मीले भने अनावश्यक ठाउँमा अध्ययन गर्न जरुरी नै नभएको बताएका छन् । ‘बनाउनै नहुने ठाउँमा सम्भाव्यता अध्ययन गरेर किन बजेट खेर फाल्नु ?’ श्रेष्ठले भने, ‘प्रक्रिया अगाडि बढाउनु नै ठीक छैन ।’

रिभर्स बोरिङसहितको पार्किङ बनाउने नीतिको त्यतिबेलै वडाअध्यक्षहरूले विरोध गरेका थिए । विधान मस्यौदा समितिका अध्यक्ष तथा वडा नम्बर २३ का अध्यक्ष मच्छाराजा महर्जनले निर्णय सच्याउन माग गरेका थिए । ‘प्रस्तावित नीति तथा कार्यक्रममा रहेको खुलामञ्चसँगै रहेको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङबारे उल्लेख गरेको बुँदा पूर्ण रूपमा हटाउन प्रस्ताव गर्छु,’ महर्जनले राखेको प्रस्तावमा छ, ‘किनभने यी क्षेत्र काठमाडौंको नेचुरल पानीको भण्डारण गर्ने क्षेत्र पनि भएको पूर्वजले मान्दै आएको भएर यो क्षेत्रमा बोरिङ गरी भूमिगत पार्किङ गर्दा हाल भएको पानीको नेचुरल स्रोत घट्ने सम्भावना बढी छ ।’

खुलामञ्च पटकपटक अतिक्रमणमा पर्दै आएको छ । भुइँचालो जानासाथ आधा भाग काटेर बसपार्क बनाइयो । छेउमा राख्न थालिएका पसल टहरा संरक्षणकर्मीको विरोधमा भत्काइएको थियो । वीर अस्पताल, दरबार हाइस्कुल बनाउने ठेकेदारको निवाससमेत यहीं बनाइएको थियो । अकुपाई

टुँडिखेल अभियान सञ्चालन भएपछि खुलामञ्च हाल खाली गरिएको छ ।


प्रकाशित : मंसिर ७, २०७९ ०६:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×