कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुकुम्बासी बस्तीमा जब महानगरको डोजर पस्यो...

गोविन्द पोखरेल

काठमाडौँ — काठमाडौंको थापाथली प्रसूति गृह सडक खण्डमा सोमबार दिउँसो प्रहरीको बाक्लो उपस्थिती भइरहँदा वाग्मती किनारको सुकुम्बासी बस्ती आक्रोशित देखिन्थ्यो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोली बस्ती खाली गराउने सूचना पाएपछि उक्त क्षेत्रका स्थानीयहरु महानगरले दमन गरे प्रतिकार गर्ने भन्दै प्रदर्शनको तयारीमा देखिन्थे ।

सुकुम्बासी बस्तीमा जब महानगरको डोजर पस्यो...

टोल प्रवेशद्वारमै रहेको प्रहरी सुरक्षा बिटमा प्रहरीको उपस्थिति बाक्लो थियो भने गेटमा स्थानीय भेला भएर नाराबाजी गर्दै थिए । काठमाडौं महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डे डोजरसहित नगरप्रहरीको टोली लिएर जब बस्ती प्रवेश गर्न खोजे, स्थिति तनावग्रस्त बन्यो ।

महानगरको नगर प्रहरी बलको टोली बस्ती पुग्नुअघि नेपाल प्रहरीका डीएसपीको कमान्डमा सुरक्षाकर्मी बस्तीअगाडि जम्मा भएका थिए । तर नगर प्रहरीको टोली आएपछि प्रहरी दोस्रो घेरामा बस्यो । महानगरले डोजर लगाउन खोजेपछि स्थानीयले टल्किने हरियो ज्याकेट लगाएर महानगरका नगर प्रहरीलाई ढुंगा प्रहार गरे । डोजर लिएर बस्ती छिर्न खोजेपछि स्थानीयको भीडले महानगरको टोलीलाई ढुंगा प्रहार गर्दा पाण्डेसहित दजर्नभन्दा बढी नगर प्रहरी घाइते भए ।

महानगरका फुटपाथ हटाउन गए जसरी नै प्रस्तुत भएको पाण्डेको टोलीलाई बस्तीबाट ढुंगा प्रहार भएपछि तितरबितर भएको थियो । सुरक्षाकर्मी पछि हटेपछि उनीहरूले टायर बालेर प्रर्दशन गरे ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरुले आफूहरुलाई बल प्रयोग गरेर हटाउन खोजे, ‘मर्न र मार्न तयार हुने’ भन्दै नाराबाजी गरेका थिए । हतियारसहित प्रर्दशन गरेका उनीहरुले व्यवस्थित रूपमा बसोबास गराउनुपर्ने जिम्मा सरकारको भएको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि किनारमै बस्ने बताएका छन् ।

गत कात्तिक २४ गते अधिकारसम्पन्न वाग्मती सम्भयता एकीकृत विकास समितिले सूचना निकाल्दै थापाथली किनारमा रहेको अव्यवस्थित बस्ती १० दिनभित्र हटाउन निर्देशन दियो । निर्धारित मितिभित्र बस्ती खाली नगराइए, बलप्रयोग गरेर पनि हटाइने सूचनामा उल्लेख थियो ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सँघारमा सूचना निकालिएपछि थापाथलीको वाग्मती किनारमा बस्दै आएकाहरु आक्रोशित भए । मंसिर १ गते उनीहरुले सरकारी कदमको विरोध गर्दै काठमाडौंमा बृहत् र्‍याली निकाल्दै खबरदारी गरेका थिए ।

चुनावकै दिन बस्ती खाली गरिसक्नुपर्ने सरकारी सूचना आएसँगै थापाथालीमा रहेको बसोबास क्षेत्रमा दलका उम्मेदवारले अर्को व्यवस्था नभएसम्मका लागि बस्ती खाली गराउन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

१७ वर्षदेखि थापाथलीको वाग्मती किनारमा बसोबास गर्दै आएकी पवित्रा राईंगाईंले भनिन्,‘ चुनावमा बेला उम्मेदवारहरूले अर्को व्यवस्था नभएसम्मका लागि बस्ती खाली गर्न नदिने भनेका थिए । तर कोही पनि आएनन् । ’ राईंगाईंले समितिको सूचनाबारे आफूहरुले समाजिक सञ्जालबाट मात्रै थाहा पाएको दाबी गरिन् ।

अब कहाँ जाने ?

सोमबार अपरान्ह प्रसूति गृहको सडकमा प्रहरीको बाक्लो उपस्थिति भइरहँदा बस्ती प्रवेश गर्ने करिडोरका सडकमा त्यहाँका स्थानीय मेयर बालेन्द्र र सरकारविरुद्ध नाराबाजी गर्दै थिए । १३८ घर रहेको थापाथली करिडोरको बस्तीमा अर्कै अवस्था थियो ।

श्रीमान्‌को अन्तिम संस्कार गरिरहेकी पवित्रा रनपहेली 'मान्छेबिनाको सरकार कस्तो हुन्छ' भन्दै आक्रोश व्यक्त गर्दै थिइन् । उनले भनिन्,‘यो अवस्थामा हामी अब कहाँ जाने ?’

सुकुम्बासी बस्तीमा बस्दै आएकी पवित्रा राईंगाईं घर खाली गर्दै थिइन् । ४ जना छोछोरीसहित उनको परिवारमा ९ जना छन् । बाहिर सबै समान निकालेर उनी घरसँगै रहेका भाडाकुँडा र सरसामानहरु पनि भत्किने चिन्ता देखिन्थ्यो । ‘बाबुरामको पालामा पनि हाम्रो घर भत्काएको हो । खाइनखाइ जोडेका सामान छन् घरलाई छेकेर त सामान छेकिन्न,’ उनले भनिन्, ‘बालबच्चाहरूको लुगा/किताब लगायतका समानहरु सुरक्षित राख्नु त परो नि । ’

उनका छोराछोरीहरु कक्षा ९, ११ र १२ मा पढ्छन् । घर भत्किने चिन्तासँगै उनी छोरछारीको शिक्षा र ओत लाग्न कहाँ जाने भन्दै निराश थिइन् । उदयपुरबाट विस्थापित भएर काठमाडौं आएको बताउने पवित्राले १७ वर्षदेखि थापाथली किनारमा बस्दै आएको बताइन् ।

सिन्धुलीबाट विस्थापित भएर आएको बताउने हरिमाया जिम्बा पनि सामान निकाल्दै थिइन् । ‘घर भत्किए पनि सामान सुरक्षित हुन सक्छ नि,’ उनले भनिन्,‘सामन सुरक्षित राखेका छौं अब मर्न र मार्न तयार छौं । ’

जिम्बाका अनुसार यो बस्तीमा ५५ जिल्लाबाट आएका मानिसको बसोबास छ । अधिकांश ज्याम काम गर्ने उनले बताइन् । अशक्त भएकाहरु घरायसी मजदुरको रुपमा खाना बनाउने, लुगा धुने,सरसफाइका काम गर्ने उनले बताइन् ।

जिम्बाका अनुसार बस्तीमा सडक बालबालिका भएर हुर्केका पनि घरजम गरेर बसेका मानिसहरु पनि भएको सुनाइन् । ‘उनीहरूका सन्तान पनि यही ठाउँमा हुर्किसकेका छन्,’ जिम्बाले भनिन्, ‘धेरै जना यही जन्मे हुर्केका छन् । हामीलाई व्यवस्थापन नगरे हामी जाने ठाउँ देखाइदिनुपर्‍यो । हैन भने ज्यानको कुनै परबाह नगरी बालेन र सरकारविरुद्ध लड्न तयार छौं । ’

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती करिडोरमा विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । हाल वाग्मती सौन्दर्यीकरण परियोजना सञ्चालन भइरहेको समितिका आयोजना प्रमुख सुवास बस्नेतले बताए । ‘तीनकुनेदेखि टेकुसम्म वाग्मती करिडोरको दुवैतर्फ सौन्दर्यीकरण चलिरहेको छ,’ बस्नेतले कान्तिपुरसित भने, ‘नदीका दुवै किनार क्लियर गरेर दुबो रोप्ने,मर्मत सम्भार गर्ने, पार्क बनाउनेलगायत कामहरु भइरहेका छन् ।’

सौन्दर्यीकरण आयोजनाअन्तर्गत घाट पनि निर्माण भइरहेको छ । यसका लागि करिब ३ अर्ब रुपैयाँ बराबरको परियोजना सञ्चालन भएको उनले जानकारी दिए ।

सुकुम्बासी बस्ती हटाउनका लागि काठमाडौं महानगरपालिकासँग सहयोग मागिएको उनले बताए । समितिको अर्को बैठक बसेर थप निर्णय गर्ने उनले बताए ।

महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफूहरूले समितिलाई सहयोग गरेको बताए । उनले भने,‘हामीले समितिको आग्रहबमोजिम सहयोग गरेको हो । हाम्रा केही साथीहरू सामान्य घाइते हुनुभएको छ । ’

अनधिकृत संरचना हटाउने क्रममा नगर प्रहरीमाथि सांघातिक आक्रमण गरेको भन्दै काठमाडौं महानगरले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी गरेको जनाएको छ ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : मंसिर १२, २०७९ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?