कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फूल्चोकीमा हराएका चार विद्यार्थीको ११ घण्टापछि उद्धार

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुरको फुल्चोकीमा हराएका चार जना विद्यार्थीको प्रहरीले उद्धार गरेको छ । काठमाडौं मूलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय कक्षा ११ र १२ मा अध्ययनरत १२५ जना विद्यार्थी शनिबार फूल्चोकी घुम्न गएका थिए ।

फूल्चोकी घुमेर फर्किने क्रममा खोटाङ घर भई मूलपानी बस्ने १६ वर्षीय नारायणकुमार भट्टराई, अर्घाखाँची घर भई काँडाघारी बस्ने १६ वर्षीय अशोक विक, दोलखा घरभई मूलपानी बस्ने १७ वर्षीय अर्जुन विक र मकवानपुर घरभई मूलपानी बस्ने १८ वर्षीय रमेश विष्ट हराएका थिए ।

छोटो बाटो हिँड्न खोजेपछि उनीहरू जंगलमा हराएको ललितपुर प्रहरीले जनाएको छ । उनीहरूसँग ९ जना शिक्षक पनि थिए । शिक्षक र विद्यार्थीहरूले मिलेर खोज्दा पनि फेला नपरेपछि शनिबार साँझ करिब ७ बजे उनीहरूले प्रहरी प्रभाग बाडेगाउँमा जानकारी गराएका थिए ।

प्रहरी निरीक्षक दिपक केसीको कमान्डमा २० जना प्रहरीको टोलीले मध्यराति १ बजे उनीहरूलाई फेला पारेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उद्धार गरिएका विद्यार्थीलाई विद्यालयका शिक्षकलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २७, २०७९ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?