कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकीय गन्तव्य खोज्दै पदयात्रा

कान्तिपुर संवाददाता

भक्तपुर — चाँगुनारायण नगरपालिकाले पर्यटकीय गन्तव्य खोज्दै ‘चाँगुनारायण पर्यटन वर्ष २०८२’ को तयारी थालेको छ । नगरप्रमुख जीवन खत्रीले आगामी दुई वर्षभित्र पर्यटकीय गन्तव्यको खोजी गरी भौतिक पूर्वाधार निर्माण गरेर पर्यटन वर्ष मनाउने बताएका छन् । मंगलबार ४३ औं विश्व पर्यटन दिवसको अवसरमा नगरपालिकाले नगर क्षेत्रभित्रको पर्यटकीय गन्तव्य खोजी गर्दै पदयात्रा आयोजना गरेको छ ।

पर्यटकीय गन्तव्य खोज्दै पदयात्रा

यस अवसरमा संयोजक नगरप्रमुख खत्रीसहित प्रमुख कार्यकारी अधिकृत हिरामान सुवेदी, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले बाँसबारी, मणिकर्णिका, वाल्मिकेश्वर, सरस्वतीस्थान हुँदै कल्पेश्वरसम्म पदयात्रा गरेका छन् ।

नगरको मुख्य पर्यटकीय गन्तव्य विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर, नगरकोटसँगै धार्मिक पर्यटकीय गन्तव्यको रुपमा प्रर्वद्धन गर्न मणिकर्णिका, वाल्मिकेश्वर, सरस्वतीस्थान हुँदै कल्पेश्वर पदमार्गको रुपमा विकास गर्ने नगरप्रमुख खत्रीले बताए ।

‘आन्तरिक तथा बाह्य पर्यटकको लागि पर्यटकीय क्षेत्रको पहिचान तथा प्रर्वद्धन गर्न भौतिक पूर्वाधारको मर्मत तथा निर्माणमा विशेष योजना ल्याइनेछ,’ उनले भने, ‘पर्यटकीय क्षेत्रको सडक सुधार र विस्तार, शौचालय निर्माण, विश्रामस्थललगायत व्यवस्थापन गर्नेछौं ।’ नगरपालिकाले प्रदेश र संघीय सरकारको समन्वयमा पर्यटन क्षेत्र प्रर्वद्धन गर्ने लक्ष्य लिएको उनले बताए ।


यसैबीच, भक्तपुर नगरपालिकाले भक्तपुर प्रवेश गर्ने पर्यटकलाई लाखे प्याखं (नाच) प्रर्दशन गरेर स्वागत गरेको छ । पर्यटन दिवसको अवसरमा मंगलबार भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा विदेशी पर्यटकको पहिलो समूहलाई लाखे प्याखं प्रर्दशन, खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाद्वारा स्वागत गरेको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।

भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीले संयुक्त रुपमा भक्तपुर प्रवेश गर्ने पहिलो समूह जर्मनी, अष्ट्रिया र बुल्गेरियाका ४ जना पर्यटकहरूलाई लाखे प्याखंका साथ स्वागत गरेको छ ।

पर्यटक प्रवेश शुल्कबाटै भक्तपुर नगरपालिकाले सम्पदाहरूको संरक्षण गर्नुका साथै शिक्षा, स्वास्थ्य, सरसफाइ जस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको नगरप्रमुख प्रजापति बताउँछन् । कोभिड १९ का कारण लकडाउन हुँदा नराम्रो असर पुगेको पर्यटन क्षेत्र प्रर्वद्धनका लागि नगरपालिकाले पर्यटकको सेवामा आवश्यक स्थानीय पथप्रदर्शकहरूको तालिम, चिनियाँ, जापानीलगायत विदेशी भाषाहरूको प्रशिक्षण, ठाउँठाउँमा पर्यटक शौचालय र पर्यटक सूचना केन्द्रको व्यवस्था गर्दै आएको उनले बताए ।

विदेशी पर्यटकलाई स्वागत गर्दै नगरप्रमुख प्रजापतिले भक्तपुरलाई संसारकै हेर्न र घुम्नलायक सहरको रुपमा विकास गर्ने उद्देश्य लिएको बताए । ‘पर्यटकीय क्षेत्रहरूमा विशेष सरसफाइ, समय समयमा सांस्कृतिक विधाहरूको प्रतियोगिताको आयोजना गर्नुका साथै सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रम पनि गर्दै आएका छौं,’ उनले भने ।

प्रकाशित : आश्विन ११, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?