नीति अनुसन्धान प्रतिष्ठानले मनायो चौथो वार्षिकोत्सव- उपत्यका - कान्तिपुर समाचार

नीति अनुसन्धान प्रतिष्ठानले मनायो चौथो वार्षिकोत्सव

कान्तिपुर संवाददाता

काठमाडौँ — नीति अनुसन्धान प्रतिष्ठानले आइतबार चौथो वार्षिकोत्सव मनाएको छ । यसै अवसरमा प्रतिष्ठानले आफ्नो दोस्रो जनरल ‘नेपाल पब्लिक पोलिसी रिभ्यु’ पनि ल्याएको छ ।

प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको प्रतिष्ठानले हालसम्म ४३ वटा अनुसन्धान गरेको कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीले बताए । उनले त्यसमध्ये २२ वटा प्रकाशित भइसकेको र २१ ओटा प्रकाशन हुने क्रममा रहेको जानकारी दिए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थिंक ट्यांकहरुको भूमिका विषयमा नीति प्रवचन दिएका थिए । उनले आफ्नो अनुभवसमेत सुनाउँदै नेपालमा नीति निर्माणमा थिंक ट्यांकको भूमिका प्रभावकारी नभएको बताए । उनले थिंक ट्यांकको भूमिकालाई बढाउन जोड दिए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय परिवेक्षमा थिंक ट्यांकको महत्व बारे जानकारी दिँदै नेपालमा पनि यसलाई प्रभावकारीरुपमा अघि बढाउनु पर्ने बताए ।

प्रकाशित : आश्विन ९, २०७९ १६:००
प्रतिक्रिया
पठाउनुहोस्

जंगलको बीचमा गिडीदह, जहाँ पुग्ने बाटो छैन

डीबी बुढा

जुम्ला — वरिपरि पहाड र घना जंगल । सयौंथरि फूल र चराहरू । थुप्रै प्रजातिका वन्यजन्तुको बासस्थान हो गिडीदह क्षेत्र । प्राकृतिक सौन्दर्यको अनुपम उपहार मात्रै नभएर सुगन्धित बहुमुल्य जडीबुटी र पानीमा देखिने विभिन्न थरिका रंगहरूका कारण गिडीदह (गिरि ताल) को अलग पहिचान छ ।

२०४९ सालमा पहिलोपटक हराएको घोडी खोज्दै पुगेका तातोपानी ४ का दुर्गाप्रसाद पाण्डे गिडीदहको संरक्षण र प्रवर्द्धन गर्दा आर्थिक समृद्धिको आधार बनाउन सकिने बताउँछन् । 'घोडी खोज्न जाँदा पाटनमा कुहिरो लागेको थियो । जब कुहिरो हट्न थाल्यो गिडीदहको नजिकै पुगेको पत्तै भएन । छेउमै गिडीदह रहेछ । गाढा नीलो र गहिरो देखिने गिडीदहले मनमा त्रास पैदा भयो । तर जति हेरे पनि आँखा थाकेन,’पाण्डेले पहिलो पटक दह पुग्दाको अनुभव सुनाए । पहाड र जंगलले घेरिएको यो दह शान्त देखिन्छ । जहाँबाट निस्किन्छ गिडीखोला । र खोला हाँकु गाउँ हुँदै तिला नदीमा मिसिन्छ । ओझेलमा परेको गिडीदह सदियौं पुरानो भएको आकलन गरिन्छ । यद्यपि अहिलेसम्म दहको गहिराइ, चौडाइ र लम्बाइ नापजाँच गरिएको छैन ।

स्थानीयहरू यस दहबाट निस्केको पानीले सिँचाइ, विद्युत उत्पादन र घट्ट चलाउँछन् । पहाडहरूको खोंचमा रहेको दह कोणधारी जंगलले ढपक्कै ढाकिएको छ । स्थानीयहरू ताल नजिकै एक्लै जान डर लाग्ने बताउँछन् । भण्डार वन र पानसय पाटन उक्त दहसँग जोडिएका ठाउँ हुन् । तातोपानी गाउँपालिकाबाट उक्त दहसम्म पुगेर सोही गाउँपालिका फर्कन चार दिन लाग्ने स्थानीयहरूको भनाइ छ । पछिल्लो समय स्थानीय तहहरूले पनि पर्यटन भित्र्याउन सकिने भन्दै यसलाई उच्च प्राथमिकता दिन थालेका छन् । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं, वडा नं ४ का अध्यक्ष अमर रोकाया लगायतका प्रतिनिधिहरू हालै उक्त दहमा पुगेर फर्किएका छन् । यस क्रममा अध्यक्ष चौलागाईंको नेतृत्वमा ७५ जनाको टोली यहाँ पुगेको थियो । तातोपानी गाउँपालिकाको शीरमा रहेको यस दहमा जनप्रतिनिधिहरूले राष्ट्रिय झण्डा फहराएर आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमणका लागि आह्वानसमेत गरेका थिए ।

यसअघि भूगोलविद् स्व डा. हर्क गुरुङ वि सं. २०३० सालतिर गिडीदहसम्म जाने प्रयास गरेका थिए । उच्च हिमाली भेगको हिमपात र बाटोको असहजताका कारण गुरुङ गिडीदहसम्म पुग्न नसकेको स्थानीयले बताए । त्यसपछि दहसम्म पुग्न कुनै पनि निकायाले चासो देखाएनन् । यसैले पनि हालसम्म गिडीदहसम्म जाने व्यवस्थित बाटो छैन । दहको दक्षिण पूर्वी क्षेत्रमा शंख दह, पाले दह र जोगिनी दह छन् ।

'गिरि' भनेको पहाड र दह भनेको एकै ठाउँमा जमेर रहेको पानी । स्थानीयहरूले गिरिलाई अपभ्रंश गरी 'गिडी' भन्ने गरेको स्थानीय अगुवाहरू बताउँछन् । समुन्द्री सतहदेखि ३ हजार ४८२ मिटर उचाइमा छ गिडीदह । उचो स्थानमा भए पनि यहाँसम्म पुग्ने सडक तथा पदमार्ग नहुँदा अपेक्षाकृत प्रचारप्रसार हुन नसकेको वडाअध्यक्ष रोकाया बताउँछन् । अध्यक्ष चौलागाईंले भने फुलचाउले पाटनसम्म मोटर बाटो पुर्‍याउने र त्यहाँदेखि गिडीदहसम्म ट्रेकिङ रुट पुर्‍याएर ताललाई पर्यटकीय स्थल बनाउने योजना रहेको बताएका छन्।


प्रकाशित : आश्विन ९, २०७९ १५:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×