कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फलामको पाइप खसेर लाग्दा एक जनाको मृत्यु

भक्तपुर — सूर्यविनायक नगरपालिका ८ जगातीस्थित समानान्तर कंक्रिट (रोडा, बालुवा, सिमेन्ट र केमिकल उत्पादन गरी तयार गर्ने) उद्योगमा काम गर्ने क्रममा फलामको पाइप खसेर लागेपछि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया बारबर्दिया नगरपालिका-७ घर भई सोही  उद्योगमा काम गर्ने २४ वर्षीय विवेक चौधरी रहेका छन् ।

फलामको पाइपले लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघरमा मृत्यु भएको प्रहरीले जनाएको छ । फलामको पाइप खसेर लाग्दा अर्का एक जना घाइते भएका छन् ।

घाइते हुनेमा बर्दिया बारबर्दिया नगरपालिका-७ घर भई सोही उद्योगमा काम गर्ने १९ वर्षीय प्रमोद चौधरी सामान्य घाइते भएको र उपचारपछि डिस्चार्ज भइसकेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।

अन्दाजी ३ मिटर लामो कंक्रिट पेल्ने फलामको पाइप बिग्रिएपछि मर्मत गर्ने क्रममा सोही पाइप खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ६, २०७९ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?