कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

मोबाइल, घडी, गितार धरौटी राखेर लागूऔषध कारोबार

काठमाडौँ — मोटो रकम खर्चेर लागूऔषध किनबेच तथा सेवन गरेका घटनाहरु त प्रशस्तै छन् । तर, मोबाइल, घडी, गितारलगायत सामान धरौटी राखेर लागूऔषध प्रयोग गर्ने/गराउने गरेको नयाँशैली भने मंगलबार लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले सार्वजनिक गरेको छ ।

मोबाइल, घडी, गितार धरौटी राखेर लागूऔषध कारोबार

भदौ १६ (बुधबार) ब्युरोको टोलीले ललितपुर महानगरपालिका–९ भोलाखेलबाट च्यासलका ३२ वर्षीय संजय कपाली र रामेछाप मन्थली नगरपालिका–१३ फुलासीका २७ वर्षीय कुमार तामाङलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३१ एम्पुल, डाइजेपाम ३१ एम्पुल र फेनारगन ३० एम्पुलसहित पक्राउ गर्‍यो ।

कुमार तामाङसमेतसँग नियन्त्रित लागूऔषध एम्पुल कारोबारमा संलग्न ललितपुर महानगरपालिका–१७ दुपाटका २९ वर्षीय अनिस महर्जनलाई लागुऔषध बुप्रेनोर्फिन ५६ एम्पुल, डाईजेपाम २५ एम्पुल र फेनारगन ७९ एम्पुल, नगद २२ हजार १ सय रुपैयाँ र लागुऔषध प्रयोगकर्ताले लागुऔषध एम्पुलका लागि धरौटी राखेको मोबाइल १७ थान, घडी ७ थान र गितार ४ थानसमेत बरामद गर्‍यो । सोही मोबाइल, घडी र गितार बरामद भएपछि लागूऔषध कारोबारको नयाँशैली पत्ता लागेको ब्युरो प्रमुख एसएसपी विकासराज खनालले बताए ।

‘अभिभावक सचेत हुनुपर्ने बेला आएको छ, कतै हाम्रा सन्तान पनि मोबाइल, घडी, गितार धरौटीमा राखेर लागूऔषध दुव्र्यसनीमा फसेका त छैनन्,’ उनले भने,‘लागूऔषध कारोबारीले नगद नहुनेहरुसँग सामान धरौटीमा राखेर लागूऔषध वितरण गरेको पाइएको छ ।’ प्रहरीले अनिस महर्जनलाई लागूऔषध एम्पुल बिक्री गर्ने सप्तरी डाक्नेश्वरी नगरपालिका–७ घर भई ललितपुर महालक्ष्मी बस्ने २७ वर्षीय धरमदेव रामलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । धरौटीमा लागूऔषध सेवन गर्नेहरुको अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

त्यस्तै, ब्युरोले ४० दशमलव ५ ग्राम लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१८ भैंसेपाटीका ३३ वर्षीय प्रताप कार्की, पाँचथर फिदिम नगरपालिका–१ का २४ वर्षीय भुवन विक र २५ वर्षीय देङ्ग हाङ्ग नेम्वाङ छन् । ब्युरोका प्रवक्ता एसपी योगेन्द्रकुमार खड्काका अनुसार बिहीबार कार्की ७ दशमलव ५ ग्राम खैरो हेरोइनसहित पक्राउ परे । अनुसन्धानका क्रममा कार्कीलाई लागूऔषध खैरो हेरोइन बिक्री गर्ने (११९ दशमलव ५ ग्राम खैरो हेरोइन) मुद्दामा फरार रहेका विक र नेम्वाङ ३३ ग्राम खैरो हेरोइनसहित अनामनगरबाट पक्राउ परेको खड्काले बताए ।

ब्युरोको ५ दिनको अप्रेसनमा अर्को थप २४७ ग्राम खैरो हेरोइन, डिजिटल तराजु ३ थानसहित ५ जना पक्राउ परेको जनाएको छ । बिहीबार काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ माकलबारीस्थित काठमाडौं महानगर–६ का २५ वर्षीय उत्सव घिमिरे र भोजपुर ट्याम्केमैयुङ गाउँपालिका–९ का ४१ वर्षीय दोर्ची शेर्पालाई लागुऔषध खैरो हेरोइन ७ ग्रामसहित पक्राउ परे । अनुसन्धानका क्रममा खैरो हेरोइन कारोबारमा संलग्न भोजपुर पौवाढुङा गाउँपालिका– १ की ३२ वर्षीया फुर्लामी शेर्पालाई २४० ग्राम खैरो हेरोइन र डिजिटल तराजु १ थान सहित शुक्रबार सुकेधाराबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दोर्ची शेर्पा र फुर्लामी शेर्पाको साथबाट बरामद भएको लागूऔषध खैरो हेरोईन बिक्री गर्ने झापा मेचीनगर नगरपालिका–१५ की ३० वर्षीया अप्सरा खातुन भन्ने अप्सरा राजवंशी र राजवंशीलाई खैरो हेरोईन कारोबारमा सहयोग गर्ने ४४ वर्षीय नौसाद आलमलाई आइतबार झापा मेचीनगर नगरपालिका–१५ बाटै डिजिटल तराजु थान २ र १० लाख ४० हजार रुपैयाँसहित पक्राउ गरेको प्रवक्ता एसपी खड्काले बताए ।

त्यसैगरी, ब्युरोले अमेरिकाबाट ल्याएको २ केजी लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा अमेरिकाबाट आएको लागूऔषध गाँजा लुकाएको पार्सल बुझेर लैजाने क्रममा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–७ का २८ वर्षीय मनोज राईलाई २ केजी गाँजासहित पक्राउ गरेको हो ।

गाँजा लुकाइएको पार्सल रिसिभ गर्नका लागि राईलाई मिलाइदिने काठमाडौं नक्सालका ३० वर्षीय अंकितकुमार श्रेष्ठ र दुवैलाई ३० हजार रुपैयाँ दिने सर्तमा गोश्वारा हुलाक डिल्लीबजारमा पार्सल रिसिभ गर्न पठाउने खुसिबुका ३० वर्षीय राहुल क्षेत्रीलाई नक्सालबाट पक्राउ गरेको ब्यूरोले जनाएको छ । उनीहरु विरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको प्रवक्रा एसपी खड्काले बताए ।

प्रकाशित : भाद्र २१, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?