मेयर शाहका सय दिन

कामको प्रशंसासँगै महानगर सुधारको संकेत

गोविन्द पोखरेल

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कार्यभार सम्हालेको सय दिन पूरा भएको छ । नगर कार्यपालिकाको पहिलो बैठक लाइभ गर्ने निर्णय गर्दै जेठ १६ गते बालेन्द्रले कार्यभार सम्हालेका थिए ।

कामको प्रशंसासँगै महानगर सुधारको संकेत

कार्यभार सम्हाल्दै बालेन्द्रले काठमाडौंको फोहोरलाई दीर्घकालीन रुपमा व्यवस्थापन नगरेसम्म माला नलगाउने घोषणा गरेका थिए। र उनले हालसम्म कुनै पनि सार्वजनिक कार्यक्रममा माला र खादा लगाएका पनि छैनन् । जेठ १६ गते बोलाइएको पहिलो कार्यपालिका बैठक लाइभ गरियो । पहिलो कार्यपालिका बैठकमा मेयर र वडाध्यक्षहरुबीच सवाल–जवाफ भयो । बैठकले इन्फ्रास्ट्रक्चर एम्बुलेन्स, फोहोर मैला व्यवस्थापन समिति र कल सेन्टर सञ्चालन गर्ने निर्णय भयो ।

बालेन्द्रको ती निर्णयले निकै नै चर्चा भयो । टुटेफेटेका संरचना मर्मत गर्नका लागि इन्फ्रास्ट्रक्चर एम्बुलेन्समार्फत् गर्ने र कल सेन्टर मार्फत् नगरपालिकामा आउने गुनासो र समस्याहरु समाधान गर्ने निर्णय भयो । यस्तै, होटल तथा रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने सम्बन्धमा पनि अर्को निर्णय भएको थियो । केही व्यवसायिक संस्थाहरुले सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने निर्णय गरे पनि प्रभावकारी भने भएको छैन ।

चुनावी अभियानका क्रममा फोहोर व्यवस्थापनलाई प्राथमिकता राख्ने निर्णय गरेका मेयर बालेन्द्रले सिसडोलमा दशकौंदेखि हुँदै आएको अवैज्ञानिक फोहोर विसर्जन कार्यलाई कार्यभार सम्हालेको केही दिनभित्रै गरे । उपत्यकाको फोहोर विसर्जन हाल बन्चरेडाँडामा हुन थालेको छ ।

सिसडोलको पोस्ट क्लोजरको काम भइरहेको छ । बालेन्द्रले दशकौंदेखि सिसडोलबासीले भोग्दै आएका समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कामहरु पनि थालेका छन् ।

मेयरमा निर्वाचित भएको केही दिन पहिलो कार्यपालिका बैठकले गरेका निर्णयबारे चर्चा र स्याबासी पाएका बालेन्द्रले त्यसको केही दिनपछि उनको आलोचना हुन थाल्यो ।

सिसडोलका स्थानीयवासीको आन्दोलनका कारण फोहोर ढुवानी कार्य स्थगित भएपछि काठमाडौंका सडकमा फोहोरको डंगुर थुप्रिएको थियो । त्यही बेला भारी वर्षाका कारण मड्खु–सिसडोल सडकखण्ड बिग्रिएपछि फोहोर ढुवानी कार्य स्थगित भयो । जेठयता मात्रै उपत्यकाको फोहोर ३३ दिनसम्म सडकमा थुप्रियो ।

पटकपटकको छलफल र सहमतिपछि फोहोरको ढुवानी कार्य सुरु भएको छ । सडक निर्माणको ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सनलाई सरकारले कालो सूचीमा राखेको छ । सडक विभागले मड्खु–सिसडोल सडक खण्ड निर्माणका लागि नयाँ ठेक्का खुलाउँदै फास्ट ट्रयाक मार्फत् काम गर्न आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम पनि चर्चामा रह्यो । बालेन्द्रको अगुवाइमा ल्याइएका नीति तथा कार्यक्रम पनि सकरात्मक छन् । ‘सांस्कृतिक सहर, समृद्ध महानगर’को नारा दिएरले ल्याइएको बजेट तथा कार्यक्रम ल्याइएको छ । उनले ल्याएका नीतिमा महानगर क्षेत्रका हिटी, मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण र सम्वर्द्धन गर्ने उनको योजना छ ।

महानगर उज्यालो कार्यक्रम, डबलीहरुको पुनर्स्थापना र एमपी थिएटर निर्माण, सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधारमा गुणात्मक सुधार, फोहोरबाट ऊर्जा उत्पादन गर्ने योजना, सवारी साधनमा जीपीएस जडान, परम्परागत फाल्चा निर्माण, विपद् जोखिम नक्सांकन, घरघरमा गएर स्वास्थ्य परीक्षण गर्ने नीति ल्याइएका छन् ।

यस्तै, महानगरले आविष्कार केन्द्र स्थापना गर्ने, सहरी स्वास्थ्य क्लिनकलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्तारोन्नति गर्ने, बाजा संग्रहालयको स्थापना, अनुसन्धान तथा विकास कार्यक्रमहरु उनले समेटेका छन् ।

बालेन्द्रले महानगर सुधार्नका लागि पछिल्लो प्रयास हो ‘अनधिकृत संरचना हटाउने अभियान’ । अभियान थाल्नुअघि उनले धनपति सापकोटालाई नगर प्रहरी प्रमुखबाट हटाएर उनको ठाउँमा राजुनाथ पाण्डेलाई ल्याए । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचना हटाउन नगर प्रहरीको भूमिका मुख्य हुने ठानेर नै बालेन्द्रले पाण्डेलाई ल्याए ।

एउटा प्रयोजनका लागि नक्सा पास गर्ने र अर्को प्रयोजनमा प्रयोग भइरहेको भवनबाट अनाधिकृत संरचना हटाउनका लागि उनी आफैं कस्सिए । बानेश्वरबाट सुरु भएको अभियान अहिले पनि जारी छ । बेसमेन्ट पार्किङका लागि नक्सा पास गर्ने र उक्त ठाउँमा रेस्टुरेन्ट, होटल तथा अन्य व्यवसाय सञ्चालन भएपछि बालेन्द्र एक्सनमा उत्रिए । ३५ दिने सूचना दिदा पनि अटेर गरेको भन्दै उनी आफैं फिल्डमा खटिएर त्यस्ता अनाधिकृत संरचना हटाउन निर्देशन दिए ।

त्यस्ता ठाउँमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले उनको शैलीललाई विरोध गरेपछि आम सर्वसाधरणको सहयोग बालेन्द्रलाई बन्यो । अनधिकृत रुपमा त्यस्ता ठाउँमा व्यवसाय सञ्चालन गर्न दिने घरबेटी नै मुख्य दोषी भएकाले क्षतिपूर्ति पनि उनीहरुले दिनुपर्ने महानगरले जनाएको छ । बेसेमन्टमा पार्किङ हुन थालेपछि सवारी आगमन पनि सहज हुने अनुमान छ ।

यही बीचमा काठमाडौं महानगरले जिल्ला अदालतलाई नक्सा पासको विवरण पठाउन भन्दै पत्र लेख्यो, राहदानी विभागको बेसमेन्टमा पार्किङ गर्न गरेको निर्देशन, त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टर अगाडि राखिएको स्किृन हटाउन निर्देशन दियो । महानगरले बेसमेन्टमा सञ्चालन गरिएका बैंक पनि हटाउन भन्दै एक्सनमा उत्रिएको छ । अहिले यो अभियान जारी रोखेको छ ।

बालेन्द्रको महानगर सुधार योजनामा सर्वसाधरण र स्थानीयले पनि साथ दिएका छन् । अनधिृकत संरचना हटाउनुअघि उनले फुटपाथमा रात्रिकालीन पसल राख्नेहरुलाई हटाउँदै व्यवस्थित गरेका छन् । बानेश्वरमा स्थानीयवासीको सहयोगमा उनले रात्रिकालीन फुटपाथ व्यवसाय हटाएका छन् । यस्तै, कोटेश्वरलगायत अन्य मुख्य सहरी क्षेत्रमा लाग्ने फुटपाथ व्यवसाय हटाइएका छन् । तीनलाई एकीकृत रुपमा फुटपाथ बाहेकका अन्य ठाउँमा राखिएको छ । फराकिलो फुटपाथ बनाउने, फुटपाथ तथा लेन अनुसाशन पनि कायम राख्ने अभियानमा बालेन्द्र छन् ।

अनाधिकृत संरचना हटाउने अभियान चलिरहँदा बालेन्द्र कर नतिर्ने व्यवासयीहरुप्रति आक्रामक भएका छन् । यस्तै, उनले महानगरलाई कर नबुझाउने सार्वजनिक संस्थानलाई पनि कारबाही गर्ने तयारी थालेका छन् । वर्षौंदेखि व्यवसाय, मनारेञ्जन कर नबुझाएको भन्दै उनले काठमाडौं फन पार्कलाई २४ घन्टे अल्टिमेटम दिँदै पत्र पठाउन लगाए । पार्कले पत्र पठाएको भोलिपल्टै महानगरलाई मनोरञ्जन र व्यवसाय कर २० लाख रुपैयाँ बुझायो ।

जग्गा भाडामा लगाएको समाज कल्याण परिषद्लाई पनि पत्र लेखेर बहाल कर बुझाउन महानगरले भनेको छ । यस्तै, सम्पत्ति कर नबुझाउने सार्वजनिक संस्थानहरुलाई पनि पत्र लेखेको छ । कर नबुझाउने सबैलाई कारबाही गर्ने महानगरको तयारी छ ।

नीति तथा कार्यक्रममै टेकेर बालेन्द्रले केही दिनअघि राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई भेट्दै महानगरमा पनि अविष्कार केन्द्र खोल्ने कार्यक्रम सुनाए । पुनले पनि महानगरलाई सहयोगगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै, हरेक वडामा विशेषज्ञ चिकित्सक राख्ने, खाद्य अधिकृत खटाउनेजस्ता निर्णय सुधारका प्रयासहरु देखिएका छन् । बालेन्द्रको कार्यकालको सय दिन पूरा गर्दा सकारात्मक परिवर्तनसँगै महानगर सुधार हुने आसा देखिएको छ । सुधारका काम गर्दै केही सकारात्मक छाप छाड्न सफल देखिएका बालेन्द्रले साँघुरो फुटपाथमा ट्रि–गार्डसहित लाखौं खर्च गरेर रोपिएका बिरुवा सम्बन्धमा छुट्टै नीति बनाउनुपर्ने देखिएको छ । ४ फिटको फुटापथमा त्यसरी बिरुवा राख्दा पैदलयात्रीलाई असहज भएको छ । यस्तै, वृक्षारोपण गर्दा पनि रैथाने बिरुवाभन्दा अन्य प्रजातिमा जोड दिइएको भन्दै आलोचना भइरहेको छ । टुकुचा खोला अतिक्रमण कसरी हटाउँछन् भन्ने आम चासोको विषय पनि बनेको छ ।

प्रकाशित : भाद्र १८, २०७९ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?