मेयर शाहले भने- 'चाहेको यत्ति हो'- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयर शाहले भने- 'चाहेको यत्ति हो'

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जे संरचना जे प्रयोजनका लागि बनेको हो त्यही प्रयोग हुनुपर्ने बताएका छन् । उनले शुक्रबार बेसमेन्ट खाली गराएपछि राहदानी विभागले जारी गरेको सूचना राखेर फेसबुकमा पोस्ट गर्दै धन्यवाद पनि दिएका छन् ।

'चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यहीरुपमा प्रयोग होस् । यो कुरालाई पहिलेदेखि नै व्यवहारिकरुपमा प्रयोग गर्नु भएकाहरुप्रति महानगर आभारी छ । अहिलेको अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ,' मेयर शाहले लेखेका छन् ।

राहदानी विभागमा शुक्रबार महानगरको टोली पुगेर बेसमेन्टमा राखिएका कुर्सी खाली गराएको थियो । त्यसपछि राहदानी विभागले उक्त स्थान अब पार्किङकै लागिमात्र प्रयोग हुने भन्दै सूचना जारी गरेको थियो । 'महानगरको यो अभियान सँधै रहनेछ । हामी पुन: अनुरोध गर्दछौं, कृपया ! नियमको पालना गरिदिनुहोला । महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिनुहोला,' मेयर शाहले भनेका छन् ।

केही दिनयता मेयर शाहले काठमाडौंमा अनधिकृतरुपमा बनेका संरचना र पार्किङस्थल अन्य व्यापारिक प्रयोजनका लागि प्रयोग भएपछि खाली गर्ने अभियान चलाएका छन् ।

प्रकाशित : भाद्र १०, २०७९ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्

सशस्त्रका ब्यारेकमा ग्यास हटाएर विद्युतीय चुलो प्रयोग गरिने 

कान्तिपुर संवाददाता

काठमाडौँ — सशस्त्र प्रहरीका ब्यारेकहरूमा सञ्चालित सबै मेसहरुमा अब विद्युतीय चुलो प्रयोग गरिने भएको छ । एलपी ग्यासको प्रयोगलाई विस्थापित गर्दै क्रमिक रुपमा इन्डक्सन चुलो प्रयोग गरिने सम्बन्धमा प्राधिकरण र सशस्त्रबीच सम्झौता भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्रको तर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्राधिकरणले इन्डक्सन चुलो प्रयोगका लागि विद्युत् पोलहरु थप गर्ने, ठूला क्षमताका ट्रान्सफर्मर राख्ने लगायतका आवश्यक भौतिक पूर्वाधार तयार गर्ने छ । सशस्त्र प्रहरीका महानिरीक्षक अर्यालले देशभरका मेस व्यवस्थापन गर्दा ठूलो परिमाणमा ग्यास प्रयोग भइरहेकोले यसको सट्टा विद्युतीय चुलो प्रयोग गर्न पाउनु अवसर भएको बताए । ‘विद्युतीय चुलाे प्रयोगबाट इन्धन आयातमा भइरहेको विदेशी मुद्रा खर्चले सिर्जित शोधनान्तर घाटालाई कम गर्न मद्दत पुगी राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्छ’ उनले भने ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सशस्त्र प्रहरीको मेसमा विद्युतीय चुलोको प्रयोग गरिनु पनि आन्तरिक रुपमा विद्युत् खपत बढाउने महत्त्वपूर्ण कदम भएको बताए । ‘देशमा उत्पादित हरित विद्युत् यहीं खर्च गर्न सक्यौं भने पेट्रोलियम पदार्थको आयातमा वार्षिक रुपमा खर्च भइरहेको करिब ४ खर्ब रुपैयाँ जोगाउन सकिन्छ’ उनले भने । विद्युतीय गाडी प्रयोग गर्दा पेट्रोलियम पदार्थबाट चल्नेभन्दा धेरै कम खर्च लाग्ने उनले स्पष्ट पारे ।

हाल सशस्त्र प्रहरी बलका देशभर ८ बाहिनी, ४४ गण, ४४ गुल्म, २२२ बीओपी, १४ तालिम केन्द्र सञ्चालनमा छन् । प्रत्येक कार्यालयहरुमा तीन वटासम्म मेस सञ्चालित छन् । खाना पकाउन प्रयोग हुने ग्यासमा वार्षिक झण्डै ४० करोड रुपैयाँ खर्च हुने गरेको छ ।

प्रकाशित : भाद्र १०, २०७९ १७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×