पार्किङका लागि बनाइएका संरचना अन्य रूपमा प्रयोग नगरिदिनुहोला : मेयर शाह- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्किङका लागि बनाइएका संरचना अन्य रूपमा प्रयोग नगरिदिनुहोला : मेयर शाह

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पार्किङका लागि बनाइएका संरचना पार्किङमा नै प्रयोग गरिदिन आग्रह गरेका छन् ।

सोमबार शाहको नेतृत्वमा पार्किङ भनेर नक्सा पास भएका तर अन्यरुपमा प्रयोग भएका संरचनाहरुलाई कारबाही गरिएको थियो । बानेश्वरबाट सुरु भएको कारबाही अभियान महानगरका सबै क्षेत्रमा पुग्‍ने मेयर शाहले जनाएका द्बछन् ।

उनले त्यस्ता संरचनाहरुको अनुगमन, खोजी र कारबाही निरन्तर चल्ने जनाएका छन् । अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर महानगरपालिकाले ३५ दिने सूचना निकालेको थियो ।

शाहले पार्किङका लागि बनाइएका संरचनाहरु पार्किङमा नै प्रयोग गर्न आग्रह गर्दै भनेका छन्,'सहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ, सडकमा पार्किङ गर्नु पर्ने बाध्यता कम हुनेछ भने महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुनेछ । '

उनले कारबाहीमा पर्नुभन्दा महानगरप्रतिको जिम्मेवारीले सबैलाई सचेत बनिदिन पनि आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र ६, २०७९ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङमा लागूऔषधसहित २ युवक पक्राउ

आश गुरुङ

लमजुङ — लमजुङ प्रहरीले ३ सय ११ एम्पुल लागूऔषधसहित २ जना युवकलाई पक्राउ गरेको छ । उनीहरूले कारोबारका लागि नै लागूऔषध ओसारपोसार गरेको प्रहरीले दाबी गरेको छ ।

मर्स्याङदी गाउँपालिका ३, बुद्धबजार बस्ने पेटी ठेकेदारको काम गर्दै आएका २९ वर्षीय ‘दोर्जे’ नामले चिनिने भीमबहादुर तामाङ र बेंसीसहर नगरपालिका ८ का ४२ वर्षीय ‘कवाडी बमे’ भनेर चिनिने बमबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार भेटघाट गरी उनीहरूलाई सोमबार सार्वजनिक गरेको हो ।

डीएसपी प्रकाश श्रीमलका अनुसार तामाङ पहिलोपटक पक्राउ परेका हुन् । बस्नेत यसपटक समेत गरी ५ पटक पक्राउ परेर मुद्दा खेप्दै आएका व्यक्ति हुन् । २०६७ सालयता उनीविरुद्ध लमजुङ प्रहरीले ३ पटक र तनहुँ प्रहरीले १ पटक मुद्दा चलाइसकेको छ ।

आइतबार साँझ साढे ७ बजे आफ्नै घरबाट पक्राउ परेका तामाङको साथबाट प्रहरीले २ मिलिग्रामको डाइजेपाम एम्पुल ९० थान, फेनरगन ८९ थान बरामद गरेको छ । उनको साथमा रहेको २ वटा मोबाइल र नागरिकतासमेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार तामाङले घरमा लागूऔषध लुकाई छिपाइ राखेर बिक्री वितरण गर्दै आएको सूचना प्राप्त भएपछि कोठाको खानतलासी गर्दा लागूऔषध भेटिएको हो । ‘उनी सुत्ने कोठाभित्र खाटमाथि कपडा राख्ने केही ठूलो झोलाभित्र कपडाको बीचमा पहेंलो प्लाष्टिक रहेछ । त्यही प्लाष्टिकभित्र पोको पारेर राखेको अवस्थामा लागूऔषध भेटिएको हो’ उनले भने ।

कवाडी संकलन तथा बिक्रीवितरण गर्ने बस्नेतको कोठाबाट शुक्रबार २ मिलिग्रामको डाइजेपाम एम्पुल १५ थान, फेनरगन एम्पुल १५ थान र नुफिन एम्पुल १५ थान बरामद गरिएको प्रहरी निरीक्षक विष्णु विकले बताए । उनका अनुसार घरकोठा खानतलासी गर्ने क्रममा बस्नेत सुत्ने कोठाको रेनकोटभित्र लुकाइ छिपाइ राखेको अवस्थामा लागूऔषध भेटिएको हो । दुवै जनालाई लमजुङ जिल्ला अदालतबाट १ साताको म्याद थपेर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

डीएसपी श्रीमलका अनुसार जिल्ला प्रहरी कार्यालय लमजुङको कार्य प्राथामिकता अनुसार लागूऔषध दुर्व्यसनी, ओसारपसार र नियन्त्रण कार्यलाई प्राथामिकता दिँदै प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका तामाङ र बस्नेतविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ६, २०७९ १९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×