कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्चरेडाँडामा फोहोर विसर्जन अन्त्य गर्नुपर्ने भन्दै सत्तारुढ दलको आन्दोलन

पोखरी भरिएपछि ल्यान्डफिल साइटको लिचेट सिधै खोलामा
कान्तिपुर संवाददाता

काठमाडौँ — बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न गएका गाडी सत्तारुढ दलले धुनिबेंसी–१ मा अवरोध गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरुले सोमबार बिहानैदेखि धुनिबेंसी–१ ढाडेमा फोहोर बोकेका गाडीलाई रोकेका हुन् । 

बन्चरेडाँडामा फोहोर विसर्जन अन्त्य गर्नुपर्ने भन्दै सत्तारुढ दलको आन्दोलन

सम्झौता पटक-पटक भए पनि कार्यान्वयन नभएको भन्दै उनीहरुले सदाका लागि फोहोर विसर्जन अन्त्य गरिनुपर्ने भन्दै अवरुद्ध गरेका हुन् । फोहोरको लिचेट भरिएर खोलाभरि पुगेको, फोहोर बोकेर हिँड्ने गाडीबाट लिचेट चुहिने, असरल्ल फोहोर सडकभरि छरिँदा सधैं हैरानी र सास्ती खेप्नुपरेको बताउँदै सत्तारुढ दलको वडा समितिको अगुवाइमा सोमबार बिहानदेखि आन्दोलन सुरु भएको हो ।

उनीहरूले फोहोर विसर्जन गर्ने नाममा जनताको घरघरमा गएर लौरा हान्ने,त्रसित गराउने, अव्यवस्थित तरिकाले फोहोर ल्याउनेजस्ता अमानवीय तरिकाबाट विसर्जन गरिएको भन्दै सदाका लागि फोहोर विसर्जन बन्द गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

नेपाली कांग्रेस धुनिबेंसी-१ का वडा सभापति पूर्णसिंह तामाङले बन्चरेडाँडामा सदाका लागि फोहोर विसर्जन कार्य बन्द गरिनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको बताए । ‘स्थानीय जनतालाई दमन गराएर राज्यले सधैं त्रसित गराउने, अव्यस्थित तरिकाले फोहोर ल्याउने काम भइरहेको छ,’ तामाङले कान्तिपुरसित भने, ‘अब सदाका लागि फोहोर विसर्जन बन्द गराउने निर्णय नभएसम्म हामी आन्दोलन गरिरहने छौं ।’

उनले आफूहरूको मुख्य माग नै फोहोर विसर्जन बन्द हुनुपर्ने रहेको बताए । स्वतन्त्र समूहबाट आन्दोलन गर्दा राज्यले नसुनेको, घरमा पुगेर लौरो हानेपछि बाध्य भएर अब राजनीतिक दलको अगुवाइमा आन्दोलन गर्नुपरेको उनले बताए । अर्बौं लगानी गरेर बनाइएको बन्चरेडाँडाबाट पनि लिचेट बगेर खोलामा पुगेको भन्दै उनले आक्रोश व्यक्त गरे । बन्चरेडाँडाको चिलेट पोखरी भरिएर खोलामा बग्न थालेको छ ।

नेकपा माओवादी केन्द्रका विष्णु तामाङ रहरले नभएर बाध्यताका कारण आन्दोलन गर्न बाध्य भएको बताए । उनले फोहोर व्यवस्थापनको नाममा १७४ वटा सहमति भए पनि कार्यान्वयन नभएको बताए । ‘सधैं जनतालाई फोहोरको दुर्गन्ध सुघाउँन बाध्य बनाउने र प्रहरीको लौरो खानुपर्ने बाध्यता छ,’ उनले कान्तिपुरसित भने, ‘यहाँका स्थानीय जनताले पाउनुपर्ने अधिकारलाई राज्यले दमन गर्ने, पटक पटकको आन्दोलन हुने अनि सहमति गर्ने काम भयो तर कार्यान्वयन कहिल्यै भएन । १७ वर्षसम्म पूरा नभएको कुरा अब हुन्छ जस्तो लाग्दैन । अब हामी १७५ वटा सहमति गदैनौं ।’

नेकपा एकीकृत समाजवादीका वडा संयोजक भीषण धितालले राज्यबाट पटक पटक भएका कुनै पनि सम्झौता कार्यान्वयन नभएको बताए । जेठ २३ र जेठ २६ गते भएका सम्झौताहरू पनि कार्यान्वयन नभएको उनको दाबी छ । फोहोरका गाडीबाट झरेको लिचेट बाटोमा झर्ने र वरपर बस्नै नसक्ने अवस्था आफूहरूले झेल्दै आएकाले आन्दोलन गरिएको उनले बताए । ‘साउन १ गतेदेखि व्यवस्थित तरिकाले फोहोर विसर्जन गर्ने भनियो तर बेवास्ता भयो,’ धितालले भने, ‘क्यापिङ गर्ने कुरादेखि व्यवस्थापन गर्ने सबैमा लापारबाही भएको छ ।’

धितालले व्यवस्थित तरिकाले फोहोर ल्याउने भने आफूहरूले स्वागत गर्ने बताए । ‘अहिले पनि हामीले सहयोग गरेका छैनौं । कुनै पनि राजनीति हैन । हामीलाई बस्न नसक्ने अवस्था भएर आन्दोलन गरेका हौं । फोहोर विसर्जन गर्नुपूर्व गर्ने कामहरू गरेर व्यवस्थित तरिकाले फोहार ल्याउने हो भने हामी स्वागत गर्छौं,’ उनले भने ।

यस विषयमा धुनिबेंसी एमालेको वडा कमिटीले आफ्नो धारणा बनाएको छैन । सो पार्टीका वडाध्यक्ष नारायण जम्मरकट्टेलले आफूहरू आन्दोलनमा नभएको बताए । फोहोर विसर्जनबारे पार्टीको बैठकले आधिकारिक धारणा बनाउने उनले बताए । ‘विगतमा पनि फोहोरमा आन्दोलन गर्ने अनि जनताको समस्या समाधान भएन; हाल त्यही भइरहेको छ । यसबारेमा हाम्रो पार्टी कमिटीबाट छलफल चलाउने अनि धारणा बनाउँछौं,’ उनले कान्तिपुरसित भने ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको सचिवालयले महानगरले फोहोर व्यवस्थापनको सवालमा गर्नुपर्ने सम्पूर्ण काम गरेको जनाएको छ । शाहका स्वकीय सचिव भुपदेव शाहले फोहोर व्यवस्थापनका लागि महानगरपालिकाले अधिकतम स्रोत परिचालन गरेर काम गरिरहेको बताए । सबै निकायले आ-आफ्नो जिम्मेवारी महत्त्वपूर्ण ढंगबाट पूरा नगर्दा अहिले समस्या देखिएको उनले बताए । बन्चरेडाँडा ल्यान्डफिल साइटको अन्य निर्माण कार्य पूर्ण रुपमा अझै सम्पन्न हुन नसक्दा लिचेट पोखरीमा वर्षायामको पानी जम्मा भएको र त्यो ओभर फ्लो भएर खोलामा मिसिएको बताए । महानगरपालिकाले विगतमा गरेका प्रतिबद्धताहरू पूरा गरे पनि उनले दाबी गरे ।

प्रकाशित : श्रावण ३०, २०७९ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?