कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अस्वाभाविक सम्पत्ति भेटिएपछि पक्राउ परेका श्रेष्ठ थुनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — स्रोत नखुलेको करोडौं रुपैयाँ बराबरको चलअचल सम्पत्ति भेटिएपछि पक्राउ परेका नुवाकोट स्थायी घर भई हाल पानीपोखरी बस्दैआएका ४१ वर्षीय अमित श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले श्रेष्ठलाई मंगलबार पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको हो । सम्पत्ति शुद्धिकरणबाट आर्जित धनको कारोबारमा संलग्न भएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रेष्ठलाई केही साताअघि काठमाडौंबाट पक्राउ गरेको थियो । त्यसपछि थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर पठाइएकोमा श्रेष्ठविरुद्धको मुद्दा सरकारी वकिल कार्यालयमार्फत अदालतमा दायर गरिएको थियो ।

प्रहरीको अनुसन्धानमा श्रेष्ठले कमन वेल्थ बैंक अफ अष्ट्रेलियाको खाताबाट १ लाख ९४ हजार २८५ दशमलब ५६ अमेरिकी डलर, रोयल बैंक अफ क्यानडाबाट १८ लाख ७४ हजार ४२१ दशमलब ३८ डलर तथा सोही बैंकबाट सेयर कारोबार गरेको, एभरेष्ट बैंकबाट २ करोड ६ लाख ६ हजार ६९२ र एनआईसी एसियाबाट ६५ लाख २४ हजार ९१० गरी विभिन्न कम्पनीमा सेयर लगानी गरेको, नबिल बैंकमा क्यानेडियन डलर ६७ हजार ५९६ र नेपाली रुपैयाँ ६५ लाख रहेको देखिएको छ ।

यस्तै, कलंकी र लाजिम्पाटमा जग्गा, पानीपोखरीमा अपार्टमेन्ट गरी ४ लाख ४९ हजार १९ अमेरिकी डलर बराबरको अचल सम्पत्ति भेटिएको प्रहरीको अनुसन्धानमा उल्लेख छ । अनुसन्धानमा श्रेष्ठले यी सबै चलअचल सम्पत्ति अपराधबाट आर्जन गरेको हुनसक्ने उल्लेख छ ।

श्रेष्ठको २ थान मोबाइल र २ थान ल्यापटप बरामद गरी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग डिजिटल फरेन्सिक ल्यावबाट परिक्षण गर्दा उक्त रकम तथा कारोबार शंकास्पद भएको खुल्न आएको प्रहरीले जनाएको छ । श्रेष्ठ विशाल सिमेन्टको पूर्वसंचालक हुन् । उनीविरुद्ध कृप्टोकरेन्सी कारोबारको आरोप तथा ४८ करोड ४ लाख ७२ हजार ५४८ बिगो र ७ वर्ष कैद सजाय माग दाबी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७९ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?