पुरातात्त्विक पोखरीमा पुल


भक्तपुर — भक्तपुरको प्राचीन बस्ती चित्रपुरको पोखरीको बीचमा पुल निर्माण गरिएको छ । प्राचीन स्मारक संरक्षण ऐनविपरीत ‘वाफे पुखु’ मा पुल राख्दा पोखरी कुरूप देखिएको छ । सूर्यविनायक नगरपालिका–४ मा पर्ने यो पोखरीको गत वर्षदेखि जीर्णोद्धार सुरु गरिएको थियो ।

जीर्णोद्धार गर्न नगरले गरेको लागत इस्टमेटमा यस्तो पुल राख्ने उल्लेख छैन । ‘प्राचीन स्मारक संरक्षण ऐनविपरीत मात्र होइन, नगरपालिकाले तयार पारेको लागत स्टमेटविपरीत काम भयो,’ स्थानीय राजेशकुमार राजथलाले भने, ‘यो ऐनविपरीत काम तुरुन्त सच्याउनुपर्छ ।’
प्राचीन स्मारक संरक्षण ऐनले सम्पदामा नयाँ संरचना बनाउन निषेध गरेको छ । ऐनले प्राचीन स्मारक नष्ट गर्न, भत्काउन, हटाउन, स्वरूप परिवर्तन गर्न, विरूप बनाउन निषेध गरेको छ । यसो गरेमा सजाय हुन्छ । ऐनको दफा १२ को खण्ड कमा सजायको व्यवस्था गरेको छ । ऐनको दफाले प्राचीन स्मारक ऐनअनुसार काम गरेमा बिगो रकम असुरउपर गरी पच्चीस हजार रुपैयाँदेखि लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षदेखि १५ वर्षसम्म सजायको व्यवस्थासमेत गरेको छ । ‘सम्पदा जोगाउन हामी कानुनी कारबाहीको माग लिएर अदालतमा जानसमेत तयार छौं,’ राजथलाले भने, ‘यो सम्पदा हाम्रो बस्तीको गहना हो । यसलाई खेलबाड गर्न दिँदैनौं ।’ सूर्य विनायक नगरपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समितिमार्फत सुरु गरिएको जीर्णोद्धार कार्य अन्तिम चरणमा पुगेको छ । पोखरीको उत्तरतर्फबाट भित्र पस्ने गेट बनाइएको छ । त्यो गेटबाट छिर्नासाथ पुल सुरु हुन्छ । करिब दुई मिटर लम्बाइको पुल बनाइएको छ । ‘खै के बनाउन लागेको हो ? पोखरीको बीचबाट पिल्लर पनि उठाइएको छ,’ स्थानीयवासी मदन राजथलाले भने, ‘हामीले सुरुमा थाहै पाएनौं । पछि हेर्दा पो पुल बनाइएको रहेछ ।’
कृष्णहरि खड्काले यहाँ पुल बनाएका हुन् । पोखरीको बीचमा नागको प्रतिमा बनाउने उनको योजना रहेको स्थानीयले जनाए । यो नागपोखरी नभई कृषकको संस्कृतिसँग जोडिएको पोखरी भएकाले नागको मूर्ति राख्नु उचित नभएको राजथलाले बताए । उनका अनुसार पोखरीको चिउरा बनाउने सस्कृतिसँग जोडिएको छ । चिउरा बनाउन धान भिजाउन यही पोखरीबाट पानी लगिन्थ्यो । धान भिजाउने पोखरी भएकाले यसको नामै धान भिजाउने पोखरी भनेर चर्चित भयो । नेवारी भाषामा यो पोखरीलाई ‘वाफे पुखु’ भनिन्छ । राजथलका अनुसार वाफे भनेको धान र पुखु भनेको पोखरी हो । ‘राख्नै परे बरु धानको प्रतीक राख्नु, किसानको प्रतीक राख्नु,’ राजथलाले भने, ‘त्यही पनि ऐनअनुसार पोखरी चलाउन पाइँदैन । न यहाँ धानकै राख्न मिल्छ, नत नागकै राख्न मिल्छ । यहाँ बनाइएका अनावश्यक संरचना तुरुन्त भत्काउनु पर्छ ।’
वडाध्यक्ष लक्षु न्यौपानेले पोखरीबारे के भएको बुझेर आवश्यक कारबाही गर्ने बतााए । ‘यो पहिला नै निर्माण सुरु भएको हो । कसरी निमाण भयो, कसले बजेट दियो सबै अध्ययन गर्छौं,’ न्यौपानेले भने, ‘हिजो स्थानीयको पनि भेला भएको थियो । भेलाले जे भन्छ, त्यही गर्छौं ।’ भेलाले सम्पदा संरक्षण समितिसमेत बनाउने निर्णय गरेको उनले जनाए ।
प्रकाशित : श्रावण २३, २०७९ ०८:३९