कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

फोहोर व्यवस्थापन सम्झौता : कार्यान्वयनमा छैन तदारुकता

गोविन्द पोखरेल

काठमाडौँ — गत जेठमा बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले अवरोध गर्दा काठमाडौंको फोहोर सडकमै थुप्रियो । बल प्रयोग गरेर दुई पटक बन्चरेडाँडामा फोहोर विसर्जन गरिएपछि प्रभावित क्षेत्रका स्थानीयवासी आक्रोशित भए ।

फोहोर व्यवस्थापन सम्झौता : कार्यान्वयनमा छैन तदारुकता

उनीहरूले नारा जुलुस गर्दै फोहोर बोक्ने सवारी साधान तोडफोड गरेपछि हप्तादिनभन्दा बढी फोहोर व्यवस्थापन कार्य अवरुद्ध भयो । बन्चरेडाँडा पनि सिसडोलको जस्तै हुनसक्ने भन्दै उनीहरू विभिन्न माग राख्दै आन्दोलनमा होमिएका थिए ।

प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई थाहै नदिइकन एकपक्षीय रुपमा जेठ २३ गते महानगरपालिकाका मेयर बालेन्द्र शाहसहित सहरी विकास मन्त्रालयका अधिकारीहरूले सहमति गरेको भन्दै आन्दोलनले झन उग्र रुप लिएको थियो । ल्यान्डफिल साइटको डाँडामा बसेर स्थानीयले ढुंगामुढा गरे । त्यसको ३ दिनपछि जेठ २६ गते सरोकारवाला समितिसँग ललितपुर र काठमाडौं महानगरका जनप्रतिनिधिसहित, सहरी विकास मन्त्रालय र प्रभावित क्षेत्रका स्थानीयबीच सहमति भयो ।

प्रभावित क्षेत्रका बासिन्दासँग महानगरपालिका र मन्त्रालयले गरेको सहमति कार्यान्वयन अवस्था भने फितलो देखिएका छन् । जेठ २६ गते मन्त्रालयमा उपत्यकाको फोहोर मैला व्यवस्थापन हुँदै आएको बञ्चरेडाडा–कुँडुले ल्यान्डफिल साइटमा फोहोरमैला व्यवस्थापनमा सहजताका लागि गरिएको सहमति पत्रको पहिलो बुँदामा राति मात्रै फोहोर व्यवस्थापन गर्ने भनिएको थियो तर उक्त बुँदा कार्यान्वयन नै भएन ।

यसअघि पनि सिसडोलमा फोहोर विसर्जन गर्दा प्रभावित क्षेत्रका बासिन्दासँग महानगरले सम्झौता गर्ने तर लागू नगरेको भन्दै स्थानीयवासी रुष्ट हुँदै आन्दोलन गर्थे । २ वर्षका लागि भनेर महानगरले फोहोर विसर्जन गर्ने भनेको थियो तर १७ वर्षसम्म फोहोर विसर्जन हुँदा खोलामा लिचेटको ढल मात्रै गएन, आसापासका धेरै मानिसहरू रोगी भएका छन् । फोहोरका कारण उनीहरू प्रताडित बनेका छन् । काठमाडौंको त्यो अत्याचार सिसडोलबासीले वर्षौंदेखि भोग्दै आएका छन् ।

राति फोहोर विसर्जनका लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माणको व्यवस्था महानगरपालिकाले तीन महिनाभित्रमा गर्ने सहमति गरेको थियो । तर, कार्यान्वयन भइरहेको छैन । काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणलाई पोल बत्ती जडानका लागि पत्राचार गरेर औपचारिकता मात्रै पूरा गरेको छ । तर, यससम्बन्धीका अन्य कार्यहरू भएका छैनन् । सहरी विकास मन्त्रालयले भने ७ दिने सूचना निकालेर तीनपिप्लेदेखि सिसडोल सडक स्तरोन्नतिका लागि १३ करोडको ठेक्का लगायो । रातिको समयमा फोहोर व्यवस्थापन गर्ने भनिएको महानगरको पहिलो बुँदा कार्यान्वयन नै भएन ।


काठमाडौंको फोहोर वर्षायाममा सधैं अवरोध हुने गरेको छ । सिसडोलमा फोहोर पहाडमाथि नै सडक बनाइएको छ । यो करिब २ सय मिटर छ । फोहोर बोकेका गाडीलाई सहज गराउनका लागि यो खण्डमा 'स्टेन्ड बाई' डोजर आवश्यक पर्छ । हिलाम्मे हुँदा गाडी फस्ने गरेका छन् ।

सिसडोल तथा बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने भनेको थियो । यसका लागि पनि महानगरले ‘जिवातु’ सहित विषादीहरू प्रयोग ग‍र्‍यो । अन्य विकल्पको बारेमा महानगरले कुनै नयाँ योजना यसका लागि ल्याएको देखिदैंन ।

नास्टको प्रतिवेदनलाई आधार मानेर १० दिनभित्र रसायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउने कार्यको प्रराम्भ गर्ने जेठ २३ गते गरिएको पहिलो सहमति पत्रमा उल्लेख थियो । तर हालसम्म नतिजा आएको छैन ।

नास्टका अनुसन्धानकर्ता सिसडोलमा गएर ‘स्याम्पल कलेक्सन’ गरेको तस्बिरहरू मेयर शाहको सचिवालयले सामाजिक सञ्जालमा हाल्दै प्रचार गरेको थियो । तीन वटा क्षेत्र(स्याप्ल कलेक्सन साइट) बाट संकलन गरिएको पानीको नमुनाले अनुसन्धानको पूर्ण नतिजा दिन सम्भव नहुने वैज्ञानिकहरू नै जिकिर गर्दै छन् । नास्टका वैज्ञानिकहरूले स्याम्पल कलेक्सन गरेको तस्बिर सार्वजनिक भएपछि त्यसको केही दिनमा नास्टको ल्याबमा ‘प्रोलिप्रोइलिन ट्युब’ मा राखिएका स्याम्पल शाहको सचिवालयले सार्वजनिक गरेको थियो ।

नास्टमा उपकरण बिग्रिरहने समस्या, अनुसन्धानकर्ताको अभावकाबीच सिमित जनशक्तिमा काम गर्नुपर्ने बाध्यता भएकाले लिचेट अध्ययनको नतिजा सार्वजनिक नभएको हो । अन्य कामहरू भएपनि महत्वपूर्ण पाटो मानिने ‘हेभी मेटल्स’अध्ययनको काम भएको छैन । उपकरण बिग्रिने समस्याका कारण ढिलाइ भइरहेको छ ।

सिसडोलको फोहोरको डंगुरबाट निस्कने लिचेट खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने सहमति भएपनि त्यसको कार्यान्वयन अवस्था शून्य छ । अहिले पनि सिसडोलको लिचेट खोलामा पुग्छ । लिचेट पम्प जडान गर्ने तयारी गरिएपनि ल्यान्डफिलमा विद्युत नहुँदा जडान हुन नसकेको महानगरको दाबी छ । त्यहाँ विद्युत जडानका लागि विद्युत प्राधिकरणले १३ लाख खर्च हुने निष्कर्ष निकालेको छ ।

फोहोर व्यवस्थापनको अर्को महत्वपूर्ण पाटो फोहोर बोक्ने गाडीबाट बाटोमा लिचेट नचुहिने व्यवस्थाको सम्झौता थियो । एक महिनाभित्र फोहोर बोक्ने सबै गाडीबाट लिचेट ननिस्कने र लिचेट ट्यांक जडान गर्ने सरोकारवालासँगको सम्झौतामा उल्लेख छ । तर, यो सम्झौता पनि पूर्ण रुपमा कार्यान्वयन भएन । महानगरपालिकाले आफ्ना १८ वटा सवारी साधानमा मात्रै जडान गर्‍यो तर फोहोर बोक्ने अन्य सवारीमा जडान भएन ।

बन्चरेमा सामान्य अवस्थामा दैनिक डेढ सय टिपरले फोहोर विसर्जन गर्छन् । बन्चरे डाँडामा फोहोर विसर्जन गर्न जाने टिपर फोहोर उठाउन थालेपनि लिचेट चुहाउँदै जाने देखिएको छ । असार अन्तिम साता निजी क्षेत्रका फोहोर व्यवस्थापन गर्ने कम्पनीहरूले समय माग गरेपछि महानगरले सहमति दिएको थियो । बन्चरेडाँडा फोहोर विसर्जन गर्न जाने सवारीको संख्या करिब २ सय छ । सामान्य अवस्थामा दैनिक डेढसयभन्दा बढी फोहोर विसर्जन हुने गरेको छ ।


फोहोर मैला प्रभावित क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने र अध्ययनले दिने सुझावको आधारमा कार्यहरू गर्न पहल गर्ने सहमति भएको थियो तर यो कार्य पनि अगाडि बढ्न सकेको छैन । यो कार्यका लागि ‘टीओआर’ बनाइएको थियो । टीओआर फाइनल गर्नका लागि मेयर शाहका एक जना सहयोगीले लगेका थिए । स्रोतका अनुसार ती सहयोगीले टीओआर फाइनल गर्ने भन्दै अन्य विज्ञलाई दिएको तर त्यहाँबाट हालसम्म कुनै सुनवाई भएको छैन ।

जेठ २६ गतेको सहमति पत्रमा त्यसअघि जेठ २३ गते सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धतालाई पनि कार्यान्वयन गर्न पहल गर्ने निर्णय गरेको थियो । उक्त सहमितमा हस्ताक्षर गर्नेमा मेयर शाह, उपमेयर सुनिता डंगोलसहित प्रभावित ककनी गाउँपालिकाको वडा नम्बर १ र २ का वडाध्यक्ष, धुनिवेंशी नगरपालिकाको वडा नम्बर १ र ३ का वडाध्यक्षलगायत थिए ।

जेठ २३ को सहमतिमा धुनिबेंसी नगरपालिका १,३ र ४ अनि ककनीको १,२,३का प्रभावित क्षेत्रका स्थायी बासोबास गरेका दोहोरो नपर्ने गरी स्वास्थ्य बिमा गर्ने कामको प्रारम्भ १ महिनाभित्र गर्ने सहमति भएको थियो । बिमाका लागि हालसम्म धुनिबेंसी ३ बाट मात्रै विवरण आएको छ ।

महानगरले गरेको अर्को सहमतिमा थुप्रिएका फोहोरलाई असार मासन्तसम्म उठाएर लैजाने र फोहोरलाई माटोले छोप्ने व्यवस्था मिलाउने थियो । त्यो पनि कार्यान्वयन भएन । असारमसान्तसम्म पनि थुप्रिएका सबै फोहोर बन्चरे डाँडामा विसर्जन भएन ।

प्रकाशित : श्रावण ११, २०७९ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×