अनलाइन जुवाको बिगबिगी

कान्तिपुर संवाददाता

काठमाडौँ — कल सेन्टरबाट प्रहरीले एक चिनियाँ, दुई भारतीयसहित २८ नेपालीलाई पक्राउ गरेको छ । काठमाडौं महानगर–९ तीनकुनेस्थित स्काई वर्ल्ड सर्भिस सेन्टर (कल सेन्टर) मा अवैध तवरले कामदारहरू राखी कल सेन्टर सञ्चालन गरेको आरोपमा प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

अनलाइन जुवाको बिगबिगी

पक्राउ पर्नेहरुमा कल सेन्टरका व्यवस्थापन चिनियाँ नागरिक ४३ वर्षीय हु यूईहुआ, भारत उत्तर प्रदेशका २६ वर्षीय मनोज शैनी, उत्तर प्रदेशकै १९ वर्षीया नेहा गुप्ता र नेपाली नागरिक २८ जना पुरुष तथा ५ महिला छन् । उक्त कल सेन्टरमा अवैध तवरले कामदारहरु राखी सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धम्की दिई, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकम मोलमोलाई गरी जुवा खेलाउने गरेको पाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले बताए । ‘डिजिटल वालेटमार्फत लोन दिई व्यक्तिलाई थर्काउने काम गरेको पाइएको छ,’ उनले भने, ‘कल सेन्टरको नाममा अनलाईन जुवा सञ्चालन भएको पाइन्छ ।’

कल सेन्टरमा सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाक, धम्की दिई समाजमा उच्छृङ्खल गतिविधि गरिरहेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडाैं र नगर प्रहरी कार्यालय, प्रहरी वृत्तहरुसमेतबाट खटिएको प्रहरी टोलीद्वारा विद्युतीय उपकरणसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ल्यापटप, डेस्कटप कम्प्युटरलगायत विद्युतीय उपकरणहरु बरामद गरेको र थप विवरण आउन बाँकी रहेको प्रवक्ता एसपी मैनालीले जानकारी दिए । प्रहरीले कल सेन्टरबाट ८ लाख २९ हजार रुपैयाँ नगद, ३६२ थान ल्यापटप, ७८४ थान डेस्कटप कम्प्युटर, १ थान डीभीआर बरामद गरेको छ ।

त्यस्तै, गत फागुन २० गते भक्तपुर प्रहरीले अवैध कल सेन्टर सञ्चालन गरिरहेको आरोपमा एक चिनियाँ नागरिकसहित ८० जनालाई पक्राउ गरेको थियो । सनसिटी अपार्टमेन्टमा कोठा भाडामा लिएर बसोबास गर्दै आएका २९ वर्षीय वाङ्गजिनाओले मध्यपुर थिमि नगरपालिका सानोथिमिस्थित तीन तले घरबाट अवैध कल सेन्टर सञ्चालन गरेको थियो । ऋण ५ हजारदेखि १० हजारसम्म दिने र ऋण दिँदा ब्याज कटाउने गरेको पाइएको थियो । ऋण उठाउनको लागि ती चिनियाँ नागरिकले नेपालका युवायुवतीलाई तलबमा राखेर काम लगाएको थियो । ती चिनियाँ नागरिक वाङ्गजिनाओलाई तारिखमा राखेर अनुसन्धान भइरहेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।

सोमबार तीनकुनेबाट पक्राउ परेका चिनियाँ नागरिक हु यूइहुआले पनि सोही प्रकृतिको काम गर्दै आएको पाइएको छ । ‘अनलाइनमार्फत फाराम पठाउने, प्रभावित तुल्याउने, ऋण दिइने र सुरुमै ब्याज कटाउने गरेको पाइएको छ,’ एसएसपी बोहोराले भने,‘समयमा ऋण नतिरे उनीहरुले विभिन्न माध्यमबाट धम्क्याउने, गाली गर्ने र सामाजिक सञ्जालमार्फत बेइज्जत समेत गर्ने गरेको खुलेको छ ।’

त्यसैगरी, गत माघ १६ गते काठमाडौं महानगरपालिका–७ बौद्धस्थित एक रेस्टुरेन्टमा अनलाइनमार्फत जुवा खेलाउने विरेन्द्र मानन्धरसहित एउटै कोठाबाट ६६ पुरुष र ८ महिलासहित ७४ जनालाई महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको थियो । दोलखा शैलुङका सुभाष घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा मानन्धरले अनलाइनमार्फत जुवा (बिङ्गो) खेलाउँदै आएका थियो । महानगरीय प्रहरी वृत्त लैनचौरले माघ ११ गते काठमाडौं महानगर–१६ ठमेल घनश्याम अम्गाईद्वारा सञ्चालित होस्टलको पाँचौ तलाको २०४ नम्बर कोठा भाडामा लिएर अनलाइन जुवा खेलाउने दुई जनालाई नगदसहित पक्राउ गर्‍यो ।

यसअघि पनि अनलाइन जुवामा कारबाही भोगिसकेका बाग्लुङ थाईवाङ घरभई काठमाडौं–२६ ठमेल बस्ने होस्टल सञ्चालक राकेशकुमार क्षेत्री र भारतीय नागरिक भारत दिल्ली तिलकनगर घरभई सोही स्थान जसपाल सिंहलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले स्वदेशी तथा विदेशी ग्राहकलाई फेसबुकमार्फत साथी बनाउने, बोलाउने र युजर आईडी बनाइदिने काम गर्दै आएका थिए । ‘युजर आईडी बनाएपछि त्यहीँ पैसा लिने, चेक लिने वा इसेवाबाट भुक्तानी लिने गरेर जुवा खेलाउने गरेको पाइन्छ,’ एसपी मैनालीले भने, ‘प्रिमियर लिग, आईपीएललगायतमा उनीहरुले बेटिङ गर्ने गरेको छ ।’

प्रकाशित : श्रावण १०, २०७९ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?