कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुहिने र नकुहिने फोहोर मिसाए पाँच सय रुपैयाँ जरिवाना

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आइतबारदेखि कुहिने र नकुहिने फोहोरलाई भान्छामै छुट्याउन आग्रह गरेको छ । मेयर बालेन्द्र शाहले कुहिने र नकुहिने फोहोरलाई भान्छामै छुट्याएर फोहोर व्यवस्थापनमा सहयोग गर्न सार्वजनिक आह्नान गरेका छन् । महानगरपालिकाले कुहिने र नकुहिने फोहोर मिसाए पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ ।

कुहिने र नकुहिने फोहोर मिसाए पाँच सय रुपैयाँ जरिवाना

शनिबार महानगरको वातावरण तथा कृषि विभागले गरेको सचेतना कार्यक्रममा मेयर शाहले भान्छामै फोहोरको वर्गीकरण गरी सहयोग पुर्‍याउन आग्रह गरे ।

महानगरकाअनुसार अब आइतबार र बुधबार कुहिने फोहोर संकलन हुनेछ भने सोमबार र शुक्रबार नकुहिने फोहोर संकलन हुनेछ । वातावरण विभागकी प्रमुख सरिता राईले यदि कसैले मिसिएको फोहोर निकालेमा एक पटकमा पाँच सय रुपैयाँसम्म जरिवाना हुन सक्ने बताइन् ।

मेयर शाहले फोहोरमैला व्यवस्थापन ऐन २०६८ र महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाई र स्वच्छताका लागि महानगरले यस्तो प्रयास गरेको बताए । ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।

महानगरपालिकाले शनिबार वडा नं. १८, १९, २०, २४ र २५ वडामा पुगेर नागरिकहरुलाई महानगरको फोहोर वर्गीकरणसम्बन्धी कार्यक्रमका बारेमा जानकारी गराएको छ । काठमाडौंका भित्री सहरहरू इन्द्रचोक, मखन, यट्खा, नरदेवी, बाङ्गेमुढा, क्षेत्रपाटीलगायत क्षेत्रमा मेयर शाहसहितको सचेतना र्‍याली पुगेको थियो ।

र्‍यालीको समापन गर्दै वडा २५ का अध्यक्ष राजेश डंगोलले सहरी सभ्यताका लागि स्वच्छता अभियानमा साथ दिन वडाबासीलाई आग्रह गरे । विभागले शुक्रबार वडा नं. १२, २१, २२ र २३ को क्षेत्रमा सचेतना कार्यक्रम गरेको थियो । महानगरले जैविक फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्नसमेत अनुरोध गरेको छ ।

प्रकाशित : असार ३२, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?