कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

जनश्रमदानले ठडिँदै सम्पदा

स्थानीय भन्छन्– ‘भूकम्पपछि भक्तपुरमा ठडिएका मठमन्दिरमा आफ्नो पनि मिहिनेत परेको छ भन्दा गर्व लाग्छ’ 
लिला श्रेष्ठ

भक्तपुर — कोही माटो डल्लो पार्न, कोही झिंगटी मिलाउनमा व्यस्त छन् । भक्तपुर नगरपालिका–५ तौमढी (तमारी) का महिलाहरू नेपाल भाषामा भजन गाउँदै लामबद्ध भएर माटाको डल्लो पास गर्दै निर्माणाधीन ‘बेतः छेँ’ (बेताल भजन घर) को छानासम्म पुर्‍याउन सघाउँदै छन् । युवा तथा डकर्मीहरू बेतःछेँ को छाना छाउँदै छन् ।

जनश्रमदानले ठडिँदै सम्पदा

भक्तपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक बेतः छेँको पुनर्निर्माणको दृश्य देखेर दंग पर्छन् । कोही मोबाइलबाट तस्बिर खिच्छन भने कोहीले दृश्यलाई क्यामेरामा कैद गर्छन् । ‘भजन गाउँदै हसिलो मुहारमा सम्पदा पुनर्निर्माणमा महिलाहरू खटिएको देखेर विदेशी पर्यटकले समेत श्रमदान गरेर गएका छन्,’ भक्तपुर–५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेंले भने, ‘सम्पदा संरक्षणको शैली हेरेर पर्यटक पनि सघाउन उत्साहित हुन्छन् ।’

विश्वसम्पदामा सूचीकृत पाँचतले (ङातापोल) मन्दिर परिसरको भैरवनाथ मन्दिरसँगैको बेतः छेँ २०७२ वैशाखको भूकम्पले भग्नावशेषमा परिणत भयो । भग्नावशेषमा परिणत सम्पदा पुनर्निर्माणको अन्तिम चरणमा छ । निर्माणाधीन बेतः छेँ पुनर्निर्माणमा स्थानीयले स्वतःस्फूर्त उत्साहपूवर्क श्रमदान गरिरहेको बेतः छेँ पुनर्निर्माण उपभोक्ता समिति अध्यक्ष रामेश्वर मचामसीले बताए । ‘भूकम्पले भग्नावशेषमा परिणत बेतः छेँ ७ वर्षपछि उभिँदै छ ।’

बेतः छेँ पुनर्निर्माणका लागि श्रमदान गर्न आउने स्थानीयले खाज भने घरबाटै बोकेर आउँछन् । श्रमदान गर्न समय नहुने कतिपयले खाजा, पानी ल्याएर सहयोग गरेका मचामसी बताउँछन् । भक्तपुर नगरपालिकाले २०७६ कात्तिक २९ गते उपभोक्ता समिति गठन गरी मंसिर २ बाट बेतः छेँको पुनर्निर्माण सुरु गरेको हो । पर्याप्त काठ नहुँदा सम्पदा पुनर्निर्माणमा ढिलाइ भएको उपभोक्ता समिति अध्यक्ष मचामसीको भनाइ छ ।

९९ लाख ८० हजार ४ सय ७४ रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाले पुनर्निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । भक्तपुर नगरले उपभोक्ता समितिमार्फत सम्पदा पुनर्निर्माण गर्दै आएको छ । ‘२०७२ को भूकम्पले क्षतिग्रस्त १ सय २४ सम्पदा पुनर्निर्माण गरिसक्यौं । अधिकांश सम्पदा पुनर्निर्माणमा स्थानीयको सहभागिता रर्‍यो,’ भक्तपुर नगरउपप्रमुख रजनी जोशीले भनिन्, ‘ख्वपको पहिचान नै सम्पदा संरक्षण हो ।’

बेतः छेँ पुनर्निर्माणमा करिब ३ सय जनाले श्रमदान गरेका उपभोक्ता समितिले जनाएको छ । श्रमदानमा महिला सहभागित बढी छ । सम्पदा संरक्षणमा महिलाहरूको चासो देखेर भक्तपुर घुम्न आएका पर्यटकसमेत काममा जुट्ने गर्छन् । ‘पुर्खाले छाडेर गएको सम्पदा संरक्षण गर्ने दायित्व हाम्रो काँधमा छ, आउँदो पुस्तालाई यसै गरी दायित्व वहन गराउनुपर्छ,’ भक्तपुर–५ भेलुखेलकी पुष्पमाया तमखुले भनिन् । बेतः छेँ पुनर्निर्माण मात्र होइन, ङातापोल, भैरवनाथ, पाटीपौवा, ढुंगेधारा, पोखरी संरक्षणमा यसैगरी श्रमदान गरेको पुष्पमायाले बताइन् । ‘भूकम्पपछि भक्तपुरमा ठडिएका मठमन्दिरमा आफ्नो पनि मिहिनेत परेको छ भन्दा गर्व लाग्छ,’ उनले भनिन् ।

बेतः छेँ पुनर्निर्माण अन्तिम चरणमा पुगेपछि जनश्रमदान गर्नेको संख्या झन् थपिएको छ । वडा कार्यालय, नगर कमिटीले बेतः छेँ पुनर्निर्माण कार्यअन्तर्गत छाना छाउने क्रममा स्वयम् सेवा गर्न इच्छुक टोलवासी, युवा तथा विद्यार्थीलाई श्रमदानको आह्वान गरेको वडाध्यक्ष बिजुक्छेंले बताए ।

प्रकाशित : असार २३, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×