कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुला ढल र फोहोरले बढायो हैजाको जोखिम

जार, धारा, बोरिङ, ट्युबवेलको पानीमा ‘कोलिफर्म’ भेटिएकाले सरसफाइमा ध्यान दिन ईडीसीडीको आग्रह 
बल्ल अनुगमनको तयारीमा महानगर 
प्रशान्त माली

काठमाडौँ — बल्खु खसीबजार क्षेत्रमा ढल जाम हुने समस्या अझै उस्तै छ । कोटेश्वर, बालाजु क्षेत्रमा ठाउँठाउँमा जमेको दूषित पानीको दुर्गन्धले वरिपरि बस्नै नसक्ने अवस्था छ । उपत्यकाको फोहोरमैला उठ्न थाले पनि बागबजार क्षेत्रमा अझै डंगुर देखिन्छ । भृकुटीमण्डप–अनामनगर खण्डको ढलको निकास नहुँदा सिंहदरबार क्षेत्रमा समेत दुर्गन्ध फैलिने गरेको छ ।

खुला ढल र फोहोरले बढायो हैजाको जोखिम

यो २ साताअघि उपत्यकामा हैजा पुष्टि भएका केही क्षेत्रको पछिल्लो अवस्था हो । यीबाहेक डिल्लीबजार, सानेपा, कपन, थानकोट, नैकापमा गरेर १० ठाउँमा हैजा पुष्टि भइसकेको छ । पहिलो पटक बागबजारमा डेरा गरी बस्ने दिदीबहिनीमा हैजा देखिएको थियो । त्यसयता संक्रमण क्रमशः विस्तार भइरहेको छ । स्वास्थ्य विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार उपत्यकामा हालसम्म १७ जनामा हैजा पुष्टि भइसकेको छ । जसमध्ये ४ जना सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र एक जना पाटन अस्पतालमा उपचाररत छन् । बाँकी १२ जना भने डिस्चार्ज भइसकेको ईडीसीडीले जनाएको छ ।

सार्वजनिक स्थानमा थुप्रिएको फोहोर र त्यसका कारण पानीका स्रोत प्रदूषित हुँदा हैजा फैलिने जोखिम बढ्ने भन्दै विज्ञहरूले सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिरहेका छन् । तर, काठमाडौं महानगरको ध्यान सरसफाइतर्फ खासै गएको देखिँदैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ढल सफा गर्न चासो दिएको छैन । ललितपुरको मुख्य व्यापारिक केन्द्र लगनखेलमा ढल सडकमा बगेर र दूषित पानी जमेर प्रदूषण फैलिएको छ । ढलको समस्या विश्व सम्पदा सूचीकृत क्षेत्र पाटन दरबार क्षेत्रलगायतमा पनि छ । पाटनका कतिपय ढुंगेधारामा ढल मिसिएको पानी आइरहेको स्थानीय बताउँछन् । तर, सरसफाइमा ललितपुर महानगरले पनि चासो दिएको छैन ।

ईडीसीडीका निर्देशक डा. चुमनलाल दासले स्थानीय तहले खानेपानी संस्थान, खानेपानी बोर्ड, वाणिज्य विभागलगायत सरोकारवालासँग समन्वयमा अनुगमन गर्नुपर्ने बताए । ‘हैजा फैलिने प्रमुख कारण संक्रमित व्यक्तिको दिसाबाट प्रदूषित खाद्य पदार्थ र पानी नै हो । जार, धारा, क्यान्डिल फिल्टरको पानी मात्र नभई सकेसम्म सबै खालको पानी राम्ररी उमालेर मात्र सेवन गरौं,’ उनले भने, ‘विद्यार्थीलाई नङ काट्ने, नुहाउने र सरसफाइमा ध्यान दिनेबारे जानकारी दिइराख्न पनि जरुरी छ ।’ उनले उपत्यकामा उपयोग हुने जार, धारा, बोरिङ, ट्युबवेलको पानीमा ई–कोलाई, कोलिफर्मलगायत जीवाणु देखिएको बताए । ‘पानी शुद्घ नरहेसम्म हैजाको विस्तार रोक्न सहज हुँदैन,’ उनले भने ।

काठमाडौं–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले हैजा देखिएको स्थानसहित वडाभर सफाइ कर्मचारीले दिनहुँ सरसफाइ गरिरहेको दाबी गरे । ‘बागबजार क्षेत्रमा हामीले बिहान ५–६ बजेभित्र फोहोर संकलन गरिसकेका हुन्छौं । स्थानीयले बिहान ६ बजे पछाडि र अपराह्न ४ बजेतिर फोहोर फाल्न ल्याउने गरेकाले सधैं फोहोर थुप्रिने गरेको हो,’ उनले भने, ‘पानी पिउन योग्न बनाउने जिम्मेवारी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको हो ।’ अनुगमन गर्न महानगर उपप्रमुखको संयोजकत्वमा समिति गठन भइसकेको उनले जानकारी दिए । ‘क्रमशः अनुगमन गर्ने योजनामा छौं,’ उनले भने ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड ढल महाशाखा प्रमुख उज्ज्वल श्रेष्ठले खानेपानी मुहान र ट्यांकीमा ब्लिचिङ पाउडरको झोल ‘पीयूष’ हालेर पिउन योग्न बनाएको दाबी गरे । ‘सिंहदरबार क्षेत्रलगायतमा ढलको काम गर्न अध्ययन भइरहेको छ,’ उनले भने, ‘राजधानीमा उपयोग हुने जार, धारा, बोरिङ, ट्युबवेलको पानीको जाँच पनि भइरहेको छ ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हैजा ‘भिब्रियो कोलेरा’ नाम जीवाणु (ब्याक्टेरिया) द्वारा आन्द्रामा हुने संक्रमणका कारण लाग्ने झाडापखालासम्बन्धी एक गम्भीर रोग हो । दूषित आहार वा पानीबाट जीवाणु शरीरमा प्रवेश गरेपछि हैजाको संक्रमण हुन्छ । यस्तो जीवाणुको संक्रमणले आन्द्राको कोषिकाबाट बढी मात्रामा पानी निस्किन थाल्छ र चौलानी जस्तै दिसा हुन्छ । संक्रमण भएको २४ घण्टादेखि ५ दिनसम्ममा बिरामीमा लक्षण देखिन थाल्छ । लक्षण देखिए यसले ३–६ घण्टामा घातक रूप लिन सक्छ । बिरामीमा रक्तचाप कम हुने भएकाले समयमै उपचार नभए मृत्युसमेत हुन सक्छ ।

प्रकाशित : असार २१, २०७९ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?