कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तलेजु भवानीको कौसीमा चर्पी !

प्राचीन स्थलको गरिमा बुझिएन : संरक्षण अभियानकर्मी
मान्छे बसेपछि चर्पी चाहियो : वडा कार्यालय
दामोदर न्यौपाने

काठमाडौँ — पशुपति क्षेत्रमा प्रसिद्ध तलेजु भवानी भएको प्राचीन दरबारको कौसीमा काठमाडौं महानगरपालिका–८ ले चर्पी बनाउन सुरु गरेको छ । लिच्छविकालीन मानिएको अमालकोट कचहरी बसेको दरबार २०४० सालमा पुनर्निर्माण हुँदासमेत तलेजु भवानी र त्यसको छेउमा खञ्जेश्वर महादेव भएकाले शौचालय बनाइएको थिएन । 

तलेजु भवानीको कौसीमा चर्पी !

तलेजु भवानी भएको दरबारको तेस्रो तलाको कौसीमा चर्पी निर्माण गर्न लागिएको हो । दरबारको पहिलो दोस्रो तलामा राजगद्दी र तेस्रो तलाको एउटा कोठामा तलेजु भवानी प्रतिस्थापन गरिएको छ । ‘देवता बस्ने स्थानमा चर्पी बनाउनु भनेको धार्मिक आस्थामाथि प्रहार गर्नु हो,’ जयवागेश्वरी टोल सुधार समितिका अध्यक्ष छत्रानन्द वैद्यले भने, ‘देवपाटन क्षेत्रमा हुने सबैजसो धार्मिक पूजा, सांस्कृतिक पर्वको शुभारम्भ यहींबाट हुन्छ । यति पवित्र मन्दिरको छाना, कौसीमा चर्पी निर्माण हुँदै छ । यस्तो अपवित्र सोच कहाँबाट आयो होला ?’

अमलकोट कचहरी रहेको दरबार लिच्छविकालभन्दा अगाडिको मानिन्छ । बौद्धधर्मावलम्बीले यो दरबार सम्राट् अशोकको छोरी चारुमतीको भएको विश्वास गर्छन् । प्राध्यापक गोपाल शिवाकोटी चिन्तनको संस्कृति र सम्पदा कोषमा उल्लेख भएअनुसार अशोककी छोरी चारुमती धर्मदूतका रूपमा नेपाल आएकी थिइन् । चारुमतीले नेपालका क्षत्रीयराजा देवपालसँग विवाह गरिन् । देवपाल राजाको राजधानी भएकाले यो ठाउँको नामै देवपाटन रहन गयो । चारुमतीले बनाएको विहार अहिले पनि चाबहिलमा छ । ‘देवपाल राजाको पालाकै मान्छन् बौद्धमार्गीहरू यो दरबारलाई,’ पशुपति क्षेत्रका संस्कृतिविद् तथा वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले भने, ‘यति प्राचीन ठाउँ हो यो ।’ प्राचीन भारतको मौर्य राजवंशको चक्रवर्ती राजा मानिने अशोकको राज्यकाला इशापूर्व २७३ देखि २३२ सम्म रहेको थियो ।

तुलजा भवानी राजाहरूको कुलदेवताका रूपमा पूजा हुँदै आएको छ । उपत्यकाभित्र भक्तपुर, ललितपुर काठमाडौंमा पनि तलेजु भवानी छन् । ती ठाउँमा चाहिँ मन्दिर बनाएर राखिएका छन् । पशुपतिमा भने मन्दिर नबनाई दरबारमै राखिएको कर्माचार्यले बताए । तलेजुको पूजा गर्न पहिला कोत भण्डारीलाई दिइएकोमा हाल जयवागेश्वरीका ४ पुजारीले पूजा गर्छन् । कर्माचार्यका अनुसार कोतभण्डारीलाई अलग्गै खान्गीसमेत तोकिएको थियो । ‘पछि हामीले नै पूजा गर्न थाल्यौं,’ जयवागेश्वरी मन्दिरका पूर्वमुख्य पुजारीसमेत रहेका कर्माचार्यले भने, ‘भक्तपुर, ललितपुर, वसन्तपुरमा व्यवस्थित होला । तर पूजा विधि सबै ठाउँको एकै हो ।’

प्राचीन दरबार भए पनि यसको पटकपटक जीर्णोद्धार हुँदै आएको छ । पशुपति क्षेत्रकै अर्का संस्कृतिविद् मृत्युञ्जय कर्माचार्यका अनुसार रणबहादुर शाहको पालमा पनि यो दरबारको जीर्णोद्धार भएको थियो । रणबहादुर शाहकै पालमा देवपाटन पशुपतिनाथलाई चढाएको उनले बताए । यही दरबारमा अमालकोट कचहरी पनि रह्यो । अमालकोट कचहरी पशुपति क्षेत्रको गुठीलगायत प्रशासन हेर्ने काम गर्थ्यो । २०५५ सालमा पशुपति क्षेत्र विकास कोषको मातहात नआएसम्म अमालकोट कचहरीले नै पशुपतिको प्रशासन हेर्थ्यो । अमालकोट कचहरी निकै पुरानो प्रशासनिक निकाय हो । यसको छापमा ‘अमलकोट कचहरी ६१’ साल लेखिएको छ । अमालकोट कचहरी पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहे पनि कार्यालय भने यही क्षेत्रमा रहेको छ ।

अमालकोट कचहरी रहेको यो दरबार अहिले वडा कार्यालयले हडपेको छ । २०५८ सालमा पशुपति क्षेत्रका १३९ वटा घरलगायत भौतिक संरचना अधिकरण गरेर भत्काइयो । ती घर भत्काएसँगै पशुपतिनाथको पश्चिम ढोका छेउमै रहेको वडा कार्यालय पनि भत्काइयो । भत्काएर अर्को वडा कार्यालय नबनाइदिएपछि त्यही अमालकोट कचहरी बसेको दरबारमै वडा कार्यालय बसेको छ । वडा कार्यालय बसे पनि राजगद्दी, तलेजु भवानीलगायत संरचना भने यथावत् छन् । २०४० सालतिर दरबार जीर्णोद्धार गर्दा आधुनिक निर्माण सामग्री प्रयोग गरियो । दरबारको स्वरूप बिगारिए पनि यसको परम्परा, प्राचीन सामग्रीलगायत भने जस्ताको तस्तै राखिएको थियो । यहाँ भएका कतिपय सामान भने हराएका छन् । ‘पहिला जेलनेलको समेत व्यवस्था थियो यहाँ,’ कोषका पूर्वकोषाध्यक्ष समेत रहेका वैद्यले भने, ‘पुरानो अमालकोट भएको ठाउँमा मान्छे थुन्ने ठाउँसमेत थियो । यति महत्त्वपूर्ण ठाउँको यस्तो दुर्दशा छ ।’

यस ठाउँको वडा कार्यालय अन्यत्र सार्नुपर्ने सम्पदा संरक्षण अभियानकर्मीको माग छ । ‘यस क्षेत्रको धार्मिक र पुरातात्त्विक महत्त्व बुझेरै २०४० सालमा मूलभट्ट पद्मनाथ भट्टले पनि शौचालय बनाउन दिनु भएनछ,’ पशुपति क्षेत्रका सम्पदा संरक्षण अभियानकर्मी अर्जुन लामिछानेले भने, ‘यति महत्त्वपूर्ण ठाउँमा वडा कार्यालय राख्नै नहुने । राखे पनि धार्मिक महत्त्वको जगेर्ना गर्नुपर्ने ।’

वडा कार्यालयले भने कार्यालय राखेपछि सफाइ पनि हुनुपर्ने बताएको छ । ‘यो कामका लागि सल्लाह गरेकै हो,’ वडा अध्यक्ष आशमान संगतले भने, ‘मान्छे बस्ने ठाउँमा ट्वाइलेट चाहिइहाल्छ नि ।’ यही दरबारमा नभए पनि अमालकोट कचहरीको दक्षिणतिर दुई वटा सार्वजनिक शौचालय छन् । ‘त्यही प्रयोग गर्न सकिन्छ,’ लामिछानेले भने, ‘अमालकोट कचहरीकै साइडमा अर्को सार्वजनिक शौचालय छ । बन्दै गरेको आकाशेपुल सम्पन्न भएपछि पारि जान पनि सकिन्छ ।’

शौचालयको ठ्याक्कै तल खञ्जेश्वर महादेवको शिवलिंग छ । यो पशुपतिनाथका भट्ट नियुक्त हुँदा शपथ लिने शिवलिंग पनि हो । मूलभट्टले पशुपति क्षेत्रको भण्डारेश्वर महादेवबाट शपथ लिन सुरु गरेर पशुपति क्षेत्रका विभिन्न महादेवसँग शपथ लिने परम्परा छ । अमालकोट रहेको प्राचीन दरबार प्रवेश गर्ने ढोकैमा जमिन सतहभन्दा गहिरो ठाउँमा रहेको खञ्जेश्वर केही बागिएको अवस्थामा छ । बंगालका सम्राट् समसुद्दीनले आक्रमण गर्दा यो शिवलिंग जसरी ढल्काइदिएका थिए, त्यही स्वरूपमा राखिएको छ ।

संस्कृतिविद् गोविन्द टण्डनले पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा उल्लेख गरेअनुसार वि.सं. १४०६ मंसिर २२ गते काठमाडौंमा आक्रमण गरेका थिए । त्यही क्रममा पशुपतिमा समेत जोडफोड गरेका थिए । ‘समसुद्दिनले जसरी पल्टाइदिएका थिए, त्यही स्वरूपमा छ अहिले पनि,’ संस्कृतिविद् वैद्यले भने, ‘यस्ता महत्त्वपूर्ण स्थानमा हामीले जे पायो त्यही गर्नु भएन ।’

प्रकाशित : असार १९, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?