काठमाडौं महानगरपालिकाले असारभित्र सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने- उपत्यका - कान्तिपुर समाचार

काठमाडौं महानगरपालिकाले असारभित्र सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने

रासस

काठमाडौँ — काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगरसभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३ निजी संस्थासँग सम्झौता गरिसकेको छ । सर्वसाधारणलाई सहज होस् भनेर कामपाले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिए ।

प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राख्न लागिएको हो । चिह्न राखिसकेपछि मात्र सम्झौता भएका संस्थाको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् । सङ्केत चिह्नमा गोलो घेराभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न छ । सङ्केत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक टवाइलेट’ लेखिएको छ । चिह्नकै आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्नसक्ने कामपाले जनाएको छ ।

सम्झौताअनुसार करिब २०० शौचालय सञ्चालनमा आउने छन् । जसमा १०० मा चिह्न लगाइसकेको छ भने अन्यमा पनि जारी छ । सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यावसायिक संस्थासँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले २५० शौचालय सार्वजनिकरुपमा प्रयोगमा ल्याउन लागेको छ । यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार, सरसफाइलगायत गर्ने जिम्मा संस्थाकै हुनेछ । शौचालयको अवस्था अनुगमन गर्न दुवै पक्षबाट एक/एक प्रतिनिधि तोकिएको छ । उनीहरुले हरेक चार महिनामा प्रतिवेदन तयार गरी बुझाउने महानगरले जनाएको छ ।

प्रकाशित : असार १७, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

छिर्के रोग र दुम्सीले आलु उत्पादन घट्यो

समयमा प्राविधिक सहयोग नपाउँदा समस्या बेहोर्दै किसान 
रमेशचन्द्र अधिकारी, विप्लव भट्टराई, चन्द्र कार्की

धनकुटा, इलाम, तेह्रथु — धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित चित्रे गाउँका कृषक जगतबहादुर काफ्ले यति बेला चिन्तित छन् । तरकारी खेतीका अगुवा किसान काफ्लेको मुख्य आम्दानीको स्रोत आलु उत्पादन हो । तर, यस वर्ष देखा परेको छिर्के रोगका कारण काफ्ले मात्र नभएर त्यस क्षेत्रका कृषकको चिन्ता बढाएको छ ।

३० रोपनी क्षेत्रफलमा आलु खेती लगाउने काफ्लेले वार्षिक ७ लाख रुपैयाँ आम्दानी गर्छन् । तरकारी उत्पादनका लागि चर्चित सिधुवा, मूर्तिढुंगालगायतका लेकाली भेकमा आलु मनग्य उत्पादन हुन्छ । तर, बेलाबेलामा देखापर्ने रोगका कारण आलु बाली प्रभावित हुने गरेको किसान बताउँछन् । ‘समयमा प्राविधिक सहयोग नपाइँदा समस्या बेहोर्नुपरेको छ,’ काफ्लेले भने, ‘किसानको गुनासोको सुनुवाइ हुन सके नोक्सानी बेहोर्नुपर्ने थिएन ।’

सिधुवाका तारा पौडेल पनि वार्षिक एक लाखको आलु उत्पादन गर्दै आएकी थिइन् । अघिल्लो वर्ष समयमा वर्षा र हिउँ परेकाले आलु बाली फस्टाएको उनले बताइन् । तर, यस वर्ष उत्पादन हुने बेलामा बोट खुइलिने समस्याले खेती प्रभावित बनेको उनको

दुखेसो छ । गुराँसेका नवीन मगरले सबै प्रकारका तरकारीबाट वार्षिक ३ लाख आम्दानी गर्छन् । उनले पनि आलुमा बढी लगानी गर्दै आएको बताए । आलु बालीमा देखा परेको रोगका कारण आफूले क्षति भोग्नुपरेको मगरले बताए ।

स्थानीय परेवादिन, मूर्तिढुंगालगायत आसपासका स्थानबाट आलु उत्पादनबाट मात्रै वार्षिक झन्डै ४० करोड बढीको कारोवार हुने गरेको सिधुवा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मेघेन्द्र गुरुङले बताए । आलु खेतीमा कृषकले भोग्नुपरेको समस्याबारे कृषि ज्ञान केन्द्र भने अनभिज्ञ छ । कार्यालयका प्रमुख पूर्णमाया गुरुङले आफूलाई यसबारे कुनै जानकारी नभएको बताइन् ।

आलु उत्पादनमा अग्रणी जिल्लाको रूपमा रहेको इलाममा पनि उत्पादनमा कमी आएको छ । लामो समयसम्मको हिमपात र झरीका कारण जिल्लाका लेकाली क्षेत्रमा बर्खे आलुको उत्पादनमा यो वर्ष ह्रास आएको हो । आलु खेती प्रवर्द्धनका लागि जौवारीमा राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) र कृषि ज्ञान केन्द्रले काम गर्दै छ ।

कृषि ज्ञान केन्द्रका अनुसार फार्ममा यो पटक १० देखि १५ प्रतिशतले उत्पादनमा गिरावट आउने देखिएको छ । अघिल्लो वर्ष १ सय ३५ मन आलु फार्ममा रोपिएमा ८ सय मन उत्पादन भएको थियो । यस वर्ष केन्द्रले १ सय ७५ मन आलु रोपेको जनाएको छ । अहिले खनी नसकिए पनि उत्पादन घट्ने संकेत देखिएको फर्मका प्रमुख गणेश खत्रीले जानकारी दिए । नार्क अन्तर्गतको फार्ममा पनि उत्पादन घटेको छ । नार्क र ज्ञान केन्द्रले उत्पादित आलु बीउका लागि कृषकलाई बिक्री गर्दै आएको छ ।

सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका लगायतका माथिल्लो क्षेत्रमा बर्खे आलुको व्यावसायिक खेती हुन्छ । यहाँ उत्पादित आलुको गुणस्तर भएकै कारण तराईका बजार र सीमापारी भारत निकासी हुन्छ । तेह्रथुममा यस वर्ष वर्खे आलुको उत्पादन घटेको छ । आलु गोडमेल गरेलगत्तै बोट खुइलिए पछि उत्पादन कम भएको किसानको पीडा छ ।

कृषि ज्ञान केन्द्र र कृषि अनुसन्धान केन्द्र पाख्रीवास धनकुटाले रोग प्रतिरोधात्मक र बढी उत्पादन दिने आलुको जात छनौट गरि कृषकलाई सिफारिस गरेको थियो । तर, आलुमा रोगको प्रकोप देखा परेको लालीगुराँस नगरपालिका–३ का कृषक कुलबहादुर भट्टराईले बताए । टुटेदेउरालीका किसान भीम गुरुङको पनि उस्तै गुनासो छ । आलु उम्रिएपछि सिँचाइ गर्नुपर्ने समयमा लामो खडेरी परेकाले आलु उत्पादन कम हुने कृषकले बताए । जंगली जनावर दुम्सीका कारण पनि आलु बाली नष्ट हुने कृषकको भनाइ छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार गत वर्ष ३४ हजार २ सय ५५ मेट्रिकटन आलु उत्पादन भएको थियो । जसको मूल्य ६८ करोड ५१ लाख रुपैयाँ छ ।

प्रकाशित : असार १७, २०७९ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×