अदालतबाट १० लाख जरिवाना ठहर भएका खड्का पक्राउ- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अदालतबाट १० लाख जरिवाना ठहर भएका खड्का पक्राउ

रासस

काठमाडौँ — नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १० लाख १२ हजार रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले २०७८ चैत ७ गतेको फैसलाअनुसार चार दिन कैद सजाया र बिगोबमोजिम १० लाख १२ हजार रुपैयाँ जरिवाना ठहर भएका रामेछाप लिखु गाउँपालिका घर भई काठमाडौंको कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले खड्काले आफ्नो प्रभु बैंक लिमिटेड कोटेश्वर शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकाले अदालतको आदेशअनुसार कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ खड्कालाई उच्च अदालतले बैंकिङ कसुर तथा सजाया ऐन २०६४ बमोजिम कैद तथा जरिवना हुने फैसला सुनाएको थियो । प्रहरीले पक्राउ खड्कालाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए ।

प्रकाशित : असार ९, २०७९ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्

सुविना प्रकरणमा पोस्टमार्टम रिपोर्ट भन्छ- 'घाँटी दबाउँदा मृत्यु'

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमाकी धनकुमारी गिरी (सुविना)को घाँटीमा थिचिएका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले 'प्रेसर ओभर नेक'का कारण सुविनाको ज्यान गएको देखिएको रिपोर्टमा बताए ।

पोस्टमार्टम रिपोर्ट आएपछि सुविनाको हत्या भएको दाबी गर्दै आफन्तले कर्तव्य ज्यान मुद्दा दर्ता गराएको केसीले जनाए । सुविनाका बुवा नवलपरासीको कावासोती नगरपालिका–१६ का नरु गिरीले छोरीको हत्या भएको जाहेरी दर्ता गराएका हुन् । सुविनाका श्रीमान् अन्दाजी ३८ वर्षीय संजय र कञ्चन गाउँपालिका–१ घर भई मामा (संजय)को घरमा बस्दै आएका २१ वर्षीय कुसल गिरीलाई मुख्य अभियुक्त बनाई मुद्दा दर्ता भएको हो । बुवा नरु गिरिले गत जेठ ३१ गते नै इलाका प्रहरी कार्यालय बुटवलमा ज्यानसम्बन्धी कसुरमा छानबिन गरी कारबाही गरियोस् भनी जाहेरी दिएका थिए । सोही जाहेरीमा थप गरी उनले पूरक जाहेरी बुधबार दर्ता गराएका थिए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा भएको पोस्टमार्टमपछि आएको रिपोर्टमा चिकित्सकले सुविनाको घाँटी थिचेर, दबाएर मृत्यु भएको र हातको डामसमेत देखिएको बताएपछि सोही रिपोर्टअनुरुप अनुसन्धानलाई अगाडि बढाउन सुविनाका बाबु नरुले प्रहरीसमक्ष आग्रह गरेका छन् । घाँटीमा दबाब परेर सुविनाको मृत्यु भएको देखिएपछि पतिको दाबी झुठो ठहर भएको सुविनाका बुवाले बताए ।

तिलोत्तमा–६ घर भएकी सुविनाको गएको जेठ ३० गते मृत्यु भएको थियो । आफ्नै मिलन रेस्टुरेन्टमा आत्महत्या प्रयास गर्दै झुण्डिएकी सुविनालाई उद्धार गरी तिलोत्तमाकै मणिग्रामस्थित क्रिमसन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको श्रीमान् सञ्जय गिरीले प्रहरीसमक्ष बयान दिएका छन् । सुविनाको भेसेरा रिपोर्ट भने आउन बाँकी छ ।

प्रकाशित : असार ९, २०७९ २०:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×