कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपहरणको नाटक गरेर परिवारसँग २० लाख फिरौती माग्ने पक्राउ

काठमाडौँ — अपहरणको नाटक गरेर परिवारलाई २० लाख रुपैयाँ फिरौती माग्ने व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजगढ गाउँपालिका–३ घरभई ललितपुर ईमाडोल बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा छन् ।

अपहरणको नाटक गरेर परिवारसँग २० लाख फिरौती माग्ने पक्राउ

इमाडोलमा फर्निचरको काम गर्ने शर्मा असार १ गते (बुधबार) घर परिवारलाई आईएमई मार्फत रकम पठाउन जान्छु भनी डेराबाट हिँडेका थिए । डेरा कोठाबाट बाहिर पुगेपछि उनले मोबाइल स्वीच अफ गरेर सम्पर्कविहीन भए ।

मोबाइल स्विच अफ गरी शर्मा बेपत्ता भएपछि डेरा कोठामा सँगै बस्ने उनका साला मोहन शर्मालगायतले खोजतलास गर्दासमेत फेला पारेनन् र प्रहरी वृत्त सातदोबाटोमा खोजी गरिदिन अनुरोध गर्दै निवेदन दिए । बिहीबार उनले प्रयोग गर्ने सामाजिक सञ्जाल (इमोजी)बाट शर्मा अपहरणमा परेको र मार्नका लागि ८ लाख रुपैयाँ प्राप्त भइसकेकोमा २० लाख रुपैयाँ फिरौती रकम दिएमा अपहरण मुक्त गरिदिने भन्दै परिवारलाई म्यासेज आयो ।

उक्त म्यासेजमा घटनाबारे प्रहरीलाई खबर गरेमा तथा दुई दिनभित्र २० लाख रुपैयाँ रकम नदिएमा शर्मालाई मारी दिने धम्की, अपहरणमा परेको भिडियो क्लिप्स पठाई डर त्रास देखाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

कार्यालयबाट डीएसपी कृष्ण चन्दको नेतृत्वमा खटिएको विशेष अनुसन्धान टोलीले अनुसन्धानका क्रममा फिरौती असुलीका लागि शर्मा आफैंले अपहरणको नाटक गरेको पत्ता लगाएर पक्राउ गरेको हो । ‘रकम प्राप्त गर्न नै लागि घर परिवारलाई डर–त्रास देखाई दबाब दिन नियोजित रूपमा आफूलाई नाटकिय अपहरण गरेको म्यासेज तथा भिडियो क्लिप्स बनाई पठाएको खुल्न आएको छ,’ एसपी कोइरालाले भने । विवाहित शर्माको एक युवतीसँग नजिकिएको र ती युवतीसँग विवाहका लागि रकम चाहिएकाले अपहरणको नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

शर्मालाई आइतबार जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरी सार्वजनिक उपद्रयाई गर्न नहुने कसुर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाएको एसपी कोइरालाले बताए ।

प्रकाशित : असार ७, २०७९ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?