कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

महिला उत्पीडनविरुद्ध माइतीघरमा प्रदर्शन [भिडियो]

बुनु थारु

काठमाडौँ — आजाद मोर्चाले शनिबार माइतीघर मण्डलामा महिला उत्पीडनविरुद्ध खबरदारी आन्दोलन आयोजना गरेको छ । आन्दोलनमा ‘नलडी हक पाइँदैन’, ‘हिंस्रकहरु होसियार’, पुँजीवादी पितृसत्ता मुर्दावाद, ‘भागेर जाउँ कुन ठाउँ जाउँ?’ ‘महिला हिंसा नहुने सहर हुँदैन’ , ‘महिला शरीरको वस्तुकरण बन्द गर’ ,‘बलात्कारीलाई सजाय दे’ लगायतका नारा लगाइएको थियो ।

महिला उत्पीडनविरुद्ध माइतीघरमा प्रदर्शन [भिडियो]

सामाजिक बेथिति र महिला उत्पीडनविरुद्ध सडकबाटै बहस गर्नुपर्छ भन्ने उद्देश्य बोकेको समूह हो आजाद मोर्चा । संसारभरी महिला उत्पीडनविरुद्ध चलेका सबै न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता रहेको मोर्चाको भनाइ छ ।

आन्दोलनलाई सम्बोधन गर्दै अधिकारकर्मी हिरादेवी वाइबाले यो खबरदारी आन्दोलन निरन्तर भइरहने र संसारभरीका महिला उत्पीडनविरुद्ध चलेका सबै न्यायपूर्ण आन्दोलनप्रति आजाज मोर्चाको ऐक्यवद्धता रहेको बताइन् ।

भिडियो

‘अबको महिला आन्दोलन कस्तो?’ विषयमा पत्रकार अंकित खड्गीले सहजीकरण गरेको सडक बहसमा लैंगिक अल्पसंख्यक अधिकारकर्मी सुनिता लामाले लैंगिक अल्पसंख्यकहरुको आवाज पनि सँगैसँगै लिएर जानुपर्ने बताइन् । यौनकर्मीसमेत रहेकी सुनिताले हरेक पेसाको मूल्यांकन हुनुपर्ने बताउँछिन् ।‘विशेषगरी ट्रान्स वुमनहरुले बढी हिंसा भोग्नुपरेको छ । यौनकर्मीहरुलाई हिंसा, कुटपिट, हत्या हुने गरेका छन् । हामीले पनि आफ्नो परिवारको पेट पाल्नुपर्छ । हाम्रो पेसालाई पनि मूल्यांकन गरिनुपर्छ,’उनले भनिन् ।

महिला अधिकारकर्मी सबिता नेपाली महिला आन्दोलन कसले नेतृत्व गरिरहेको र यसले उठाउने मुद्दा के हो भन्ने बारेमा बहस हुनुपर्ने बताउँछिन् । उनले हिंसाबारे अभियानहरु देखिए पनि बलात्कारी जन्माउने समाजका बारेमा कहिल्यै पनि प्रश्न नगरेको बताइन् । उनका अनुसार राज्य व्यवस्था नै सम्पूर्ण पिछडिएको वर्गको लागि हिंसा हो र न्यायप्रणाली नै भेदभावपूर्ण छ । उनले अबको आन्दोलनमा सबै पिछडिएको वर्गहरुको मुद्दा बनोस् भन्ने धारणा राखिन् ।

बडी एन्ड डाटाकी कविता बाहिंगले महिलावादी आन्दोलनको मुटु नै हो समावेशी रहेको र सोही विचारधारालाई बोकेर अघि बढे आन्दोलनले सार्थकता पाउनेमा जोड दिइन् । ‘सबै खालका हिंसालाई एउटै तरिकाले हेर्नुपर्ने हुन्छ । कुनै ठूलो वा सानो होइन । महिलालाई नै दोषी देख्ने समाज छ । पिछडिएका तथा आदिवासी महिलालाई झन् हिंसाका घटनाहरु भोगिरहेका हुन्छन्,’उनले भनिन् । नेपाली मूलधारको महिलावादी आन्दोलन समावेशी भइनसकेको वक्ताहरुको भनाइ थियो ।

प्रदर्शनमा पितृसत्ताविरुद्ध कलाकार अन्शु खनालले पर्फमेन्स आर्ट पनि प्रदर्शन गरेकी थिइन् भने सुस्मिता बानियाँ र सन्जुला रणपालले कविता वाचन गरेका थिए ।

प्रकाशित : असार ४, २०७९ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×