कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा राष्ट्रिय परिचय पत्र वितरण सुरु

क्रान्ति पाण्डे

काठमाडौँ — असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण भइरहेको छ । निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्रको वितरण पनि सुरु गरेको हो ।

काठमाडौंमा राष्ट्रिय परिचय पत्र वितरण सुरु

सरकारले परिचय पत्र वितरण सुरु गरे पनि सेवा लिन आउने जनताले भने सहजै नपाएको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिका भित्रका नागरिकको लागि राष्ट्रिय सभागृहमा राष्ट्रिय परिचय पत्र बनाउने व्यवस्था गरिएको छ ।

परिचयपत्र बनाउनका लागि सर्वसाधरणहरु बिहान ४ बजेदेखि लाइनमा बसे पनि बेलुका चार बजेसम्म पालो नआएको काठमाडौं महानगर वडा नम्बर २ का जगतमोहन श्रेष्ठले न्युज एजेन्सी नेपालसँग बताएका छन् । उनले अनलाइन फारम भरेर आएपछि फोटो खिच्ने काम भए पनि धेरै समय लागेको बताए ।

श्रेष्ठले सरकारले नागरिकता र राष्ट्रिय परिचय पत्र एउटै काम गर्ने भए नागरिकता र परिचय पत्र दुवै काम नभएको भन्दै राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने बताए ।

त्यस्तै, अर्का सर्वसाधारण हिमबहादुर बोहोराले जिल्ला प्रशासन कार्यलयले सभागृहमा पठाए पनि सभागृहमा आज काम नहुने भोलि मात्रै काम हुने भनेको बताए । उनले आफ्नो छोरीको समेत राष्ट्रिय परिचय पत्र बनाउन लागेको बताए । बोहोराले बिहानदेखि लाइन बसियो तर पालो आएपछि आज काम नहुने भनेर फर्किन लागेको बताए । उनले छोरी विदेश पढ्न जानको लागि नागरिकताले मात्रै राहदानी नबन्ने भएकोले राष्ट्रिय परिचय पत्र बनाउन आएको बताए ।

बोहोराले स्थानीय निकायको निर्वाचनमा सबै काम वडाबाट नै गछौं भन्ने तर अहिले सभागृह जानु भनेर निर्देशन दिनु राम्रो नभएको बताए ।

प्रकाशित : असार ३, २०७९ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?