भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु- उपत्यका - कान्तिपुर समाचार

भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुर नगरपालिकामा मेलम्चीको पानी वितरण सुरु गरेको छ । बिहीबारबाट कटुञ्जेस्थित खानेपानी ट्यांकीबाट भक्तपुर नगरपालिका १, २, ३, ४ र ५ वडामा मेलम्चीको खानेपानी वितरण थालिएको हो । 

भक्तपुर नगर प्रमुख सुनिल प्रजापति र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्तरुपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुर नगरवासीको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो । भक्तपुर नगरले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आएको नगरप्रमुख प्रजापतिले बताए ।

विगत २० वर्षदेखि खानेपानी समस्या भोगिरहेका खौमा, इटाछें, बोलाछें, टौमढीलगायत स्थानीयबासिन्दाले मेलम्चीको पानी वितरण भएपछि खुसी भएका छन् । खानेपानी वितरणमा ठाउँ ठाउँमा पाइप फुटेर पानी चुहिएको पाइएको र छिट्टै व्यवस्थापन गरी स्थानीयबासिन्दाको मागबमोजिम वितरण गरिने नगरप्रमुख प्रजापतिले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७९ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्

विजयोत्सव मनाउँदै बालेनका समर्थकहरू [फोटोफिचर]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वालेन्द्र शाह (बालेन) जित नजिक छन् । उनको विजयको औपचारिक घोषणा हुन मात्र बाँकी छ । महानगरमा प्रभावशाली मानिएका सत्ता गठबन्धन र एमालेका उम्मेदवार क्रमश: सिर्जना सिंह र केशव स्थापितलाई फराकिलो मतान्तरले पछि पार्दै बालेन मेयर बन्ने पक्कापक्की छ ।

बालेनलाई कुनै राजनीतिक दलको समर्थन नभए पनि ठूलो संख्यामा युवाहरूले भने उनलाई साथ दिएको देखिएको छ । मतगणना भएको स्थान राष्ट्रिय सभागृह अगाडि केही दिनदेखि नै उनीहरूले बालेनको विजय उत्सव मनाउन थालेका छन् । बालेनका समर्थकहरूले यतिबेला उनको समर्थनमा नाराबाजी गर्दै नाचगानसमेत गरेका छन् । उनको पक्षमा नारा लेखिएका टिसर्ट पहिरिएर समर्थकहरू नाचगान र उत्सवमा सहभागी भएका छन् ।

यद्यपि बालेनले आफ्नो विजय र्‍याली आयोजना नगर्न प्रसंसकहरूलाई आग्रह गरेका छन् । उनले आफ्नो जितको खुसियाली मनाउन खादा, माला र अबिर लगाएर प्रदर्शन नगर्ने घोषणा गरेका छन् ।


प्रकाशित : जेष्ठ १२, २०७९ १९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×