कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकाको फोहोर सातासम्ममा उठ्ने

महानगर र ठेकेदारले सडक कालोपत्र गर्ने प्रतिबद्धता जनाएपछि स्थानीय फोहोर विसर्जन गर्न दिन सहमत

काठमाडौँ — झण्डै ३ महिनादेखि नियमित नउठेको फोहोर सोमबारदेखि उठ्न थालेको छ । तर, थुप्रिएको सबैफोहोर उठाइसक्न एक सातासम्म लाग्ने काठमाडौं महानगरले जनाएको छ । ‘फागुन–चैतमा झण्डै ५० दिन फोहोर उठेन । फोहोर उठ्दा पनि अलिअलि मात्र उठाइयो । सडकको फोहोर उठाइनसक्दै उता विरोध आइसक्थ्यो,’ महानगरको वातावरण विभागकी सरिता राईले भनिन्, ‘वैशाखमा त झन् ११–२५ गतेसम्म फोहोर विसर्जन ठप्प भयो ।’

उपत्यकाको फोहोर सातासम्ममा उठ्ने

नुवाकोटको सिसडोल र काठमाडौंको तारकेश्वरवासीले पासाङ ल्हामु राजमार्ग कालोपत्र गर्नुपर्ने माग राख्दै पटक–पटक फोहोर बिसर्जनमा विरोध गर्दै आएका छन् । फोहोरका कारण सडक जीर्ण र प्रदूषण बढेको भन्दै स्थानीयले बारम्बार अवरोध गर्दै आएका हुन् । महानगर र ठेकेदारले सडक कालोपत्र गर्ने प्रतिबद्धता दोहोर्‍याएपछि स्थानीय बिहीबार फोहोर विसर्जन गर्न दिन सहमत भएका हुन् ।

‘बिहीबार झण्डै १५ सय टन फोहोर विसर्जन भयो । यहि गतिमा भइरह्यो भने एक साता अझै लाग्छ,’ उनले भनिन्, ‘स्थानीयबाट अवरोध हुँदा पनि काभ्रेस्थली र चिसापानीको वैकल्पिक बाटो प्रयोग गरेर भए पनि फोहोर लैजान बन्द भने गरेका थिएनौं ।’ अब फोहोर विसर्जनमा वर्षाले पनि अवरोध गर्ने उनको भनाइ छ । सिसडोल ल्यान्डफिल्ड साइट प्रवेश गर्ने कोल्खु खोलादेखि झन्डै २ सय मिटर मुख्य सडक बिग्रिएको छ ।

उपत्यकाका तीनै जिल्लाबाट प्रत्येक दिन संकलन हुने १२ सय मेट्रिक टन फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी ५ सय मेट्रिक टन फोहोर काठमाडौं महानगरबाट निस्किने गर्छ । निजी र महानगरका गरी दैनिक कम्तीमा २ सय गाडी फोहोर सिसडोलमा व्यवस्थापन हुने गर्छ । सुरुमा सिसडोलमा २ वर्षका लागि फोहोर व्यवस्थापन गर्ने भनिए पनि १६ वर्षदेखि यो स्थानको विकल्प खोजिएको छैन ।

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिन्छ । फोहोर विसर्जन अवरुद्ध हुनुको मुख्य कारण बालाजु–त्रिशूली–छहरे–विदुर सडक विस्तार हो । ७ वर्षअघि काम सुरु गरिए पनि निर्माण अलपत्र छ । सडक कालोपत्र बनाउन माग गर्दै स्थानीयले फोहोर विसर्जनमा अवरोध गर्दै आएका हुन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?