१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नेपालमा पहिलो हिमालयन भिगन फेस्टिभल हुने

काठमाडौँ — वनस्पतिमा आधारित खानपान तथा जीवनशैली अपनाउने 'भिगन'हरूले पहिलो पटक काठमाडौंमा महोत्सव गर्ने भएका छन् । आगामी भदौ ३० गतेका लागि 'हिमालयन भिगन महोत्सव'को घोषणा गरिएको हो ।

नेपालमा पहिलो हिमालयन भिगन फेस्टिभल हुने

तीनदिने महोत्सवमा प्रथम भिगन सगरमाथा आरोही कुन्तल जोइसर काठमाडौं आउने भएका छन् । तर त्यसभन्दा अघि लुम्बिनीमा फेस्टिभलको पूर्व तयारी गरिने आयोजक समितिले जनाएको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको औपचारिक घोषणा गरिएको हो ।

आयोजक विशुद्ध शाकाहारी संघका अध्यक्ष सुरेश शर्माका अनुसार फेस्टिभलमा विश्वभरबाट भिगन विज्ञहरू सहभागी हुने छन् । साथै शाकाहारी खानाका परिकार र यसका फाइदाबारे जानकारी दिइने छ ।

भिगन अभियन्ता एवं आयोजक समितिका सदस्य प्रकाश अजातले फेस्टिभलमा भिगन परिकार पकाउने तरिका, योग प्रशिक्षण लगायत स्वस्थ खानपान र जीवनशैली सम्बन्धी सीप पनि सिकाइने बताए । यस क्रममा म्याराथन साथै वृत्तचित्र पनि देखाइने छ । अजातका अनुसार फेस्टिभलमा सगरमाथा आरोही कुन्तलले आफ्नो अनुभव शेयर गर्ने छन् ।

नेपालमा तीन दिनको महोत्सवपछि लगत्तै भुटानमा पनि कार्यक्रम हुने बताइएको छ । जसलाई नेपालकै महोत्सवको श्रृंखलाको रुपमा लिइएको छ । भारत लगायत देशमा यसअघि यस सम्बन्धी कार्यक्रम गरिए पनि नेपाल र भुटानमा यस्ता महोत्सव पहिले कहिल्यै भएको थिएन ।

विश्वका कतिपय देशमा भिगनबारे विभिन्न कार्यक्रम हुने गरे पनि नेपालमा भने उक्त महोत्सव पहिलो हुनेछ । भिगनबारे कतिपय भ्रम फैलाउने गरिएको र धर्मसँग जोड्ने गरेकाले नेपालमा हुने महोत्सवले त्यस्ता भ्रम हटाएर आम मानिसको स्वस्थ जीवनशैलीको तरिका सिकाउने आयोजकले जनाएको छ ।

संसारका भिगनहरू दुध एवं मासुजन्य परिकार सेवन नगर्ने र प्रकृतिका सबै सिर्जनाको सम्मान गर्ने स्वस्थ जीवनशैली अपनाउने कुरामा जोड दिने गर्छन् । उनीहरू स्वस्थ बन्न माछामासु सेवन गर्नुपर्ने तर्कको विपक्षमा छन् । साथै आम शाकाहारी जीवनशैली अपनाउनेहरूभन्दा पनि फरक उनीहरू प्रकृतिबाट उपलब्ध वस्तुको मात्रै उपभोग गर्नुपर्ने मान्यता राख्छन् ।

भिगनका कतिपय अगुवाहरू यसलाई 'मिनिमलिज्म'को आदर्शबाट हेर्ने गर्छन् । मानव शरीर र जीवनका लागि प्रकृतिबाट उपलब्ध वस्तुभन्दा बढी वस्तुको उपभोग गर्न नहुने उनीहरूको आदर्श रहने गरेको छ ।

प्रकाशित : चैत्र १५, २०७८ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?