अनियन्त्रित प्लटिङलाई मौन स्वीकृति- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनियन्त्रित प्लटिङलाई मौन स्वीकृति

विकास प्राधिकरण सूचना मात्रै निकाल्ने र स्थानीय तह आँखा चिम्लने प्रवृत्तिले नियमविपरीत प्लटिङ गर्नेहरुको मनोबल बढ्दै
लिला श्रेष्ठ

काठमाडौँ — ढिस्को, खोला र इनारको ख्यालै नगरी जग्गा कारोबारीले आफूखुसी रूपमा डोजर चलाएको दृश्यका साक्षी स्थानीयहरू छन् । प्लटिङ जोडिने गरी सडक ट्र्याक खोल्ने र घडेरी सम्याउने नाममा बिनास्वीकृति प्लटिङ भइरहेको उनीहरूको भनाइ छ । ‘डोजर चलाउन स्वीकृति दिने अनुमति वडा कार्यालयलाई छैन,’ सूर्यविनायक–९ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता उपेन्द्रराज केसीले भने, ‘घडेरी सम्याउने भन्दै सिफारिस/स्वीकृति लिन आउनेलाई नगरपालिका पठाउने गरेको छ ।’ 



उपत्यकामा प्लटिङका नाममा भइरहेको जथाभावी जमिनको खण्डीकरण र सार्वजनिक जमिनको दोहन कसरी चलिरहेको छ, त्यसलाई नियमन गर्ने सरकारी नियकाले कस्तो भूमिका खेलिरहेका छन् भन्ने बुझाउन माथिका तीन दृश्य काफी छन् । यस्तो दृश्य उपत्यकाका दर्जनौं स्थानमा देखिन्छ । ललितपुरको गोदावरी नगरपालिकाको गोदामचौर, चापागाउँ, ठेचो र विशंखुनारायण क्षेत्रमा सार्वजनिक बाटो, वन, राजकुलो मिचेर जग्गा व्यवसायीले जथाभावी डोजर चलाइरहेको देख्न सकिन्छ । स्थानीय तहको मौन स्वीकृतिमा जग्गा कारोबारीले अनियन्त्रित रूपमा अवैधानिक भूमि दोहन गरिरहेको स्थानीय प्रसंग राजथलाले बताए । ‘स्थानीय तहले जग्गा कारोबारीलाई जग्गा सम्याउने नाममा प्लटिङको बाटो खोलिदिएको छ,’ उनले भने, ‘सार्वजनिक/पर्ती जग्गामा डोजर आतंक फैलाउँदा न अनुगमन न त कारबाही नै गरेको पाइन्छ ।’

यस्तै दृश्य काठमाडौंको बूढानीलकण्ठ, टोखा, नागार्जुन, तारकेश्वर, चन्द्रागिरि, गोकर्णेश्वर, शंखरापुरलगायत क्षेत्रमा पनि देख्न पाइन्छ । धेरैजसो ठाउँमा स्थानीय तहकै प्रतिनिधिको मिलेमतोमा भइरहेको जथाभावी प्लटिङका विषयमा प्रतिनिधिहरू भने मुख खोल्न चाहँदैनन् । जसका कारण मापदण्डबाहिर रहेर प्लटिङको कारोबार मात्रै भइरहेको छैन, खोला, राजकुलो र सार्वजनिक जमिन मिच्ने कामलाई पनि प्रोत्साहन मिलिरहेको छ ।

उपत्यकाका चारैतिर यस्ता अव्यस्थित र जथाभावी प्लटिङ भइरहे पनि सम्बन्धित सरकारी निकाय मूकदर्शक देखिन्छन् । काठमाडौं उपत्यका विकास प्राधिकरण भक्तपुर, काठमाडौं र ललितपुर आयुक्तको कार्यालय भने जिल्लाभित्र सञ्चालित अधिकांश प्लानिङ अवैधानिक भन्दै कारबाही गर्नुको सट्टा सर्वसाधारणलाई जग्गा खरिद–बिक्री नगर्न अनुरोधको सूचना जारी गर्दै जिम्मेवारीबाट पन्छिने गरेका छन् । ‘अव्यवस्थित र अवैधानिक रूपमा जग्गा खण्डीकरण भइरहेको सूचना प्राप्त भयो, सोही आधारमा अनुगमन गर्‍यौं । योजना स्वीकृति नलिई जग्गा प्लानिङ गरेको पाइएकाले सूचना सार्वजनिक गर्‍यौं,’ प्राधिकरण भक्तपुरका जिल्ला आयुक्त कृष्ण महर्जनले भने, ‘स्वीकृति नलिई प्लटिङ गरिएका जग्गा रोक्का गर्न कित्ता नम्बरसहितको विवरण तयार गर्दै छौं, सम्बन्धित डेभलपर्सको नाम, योजनाको कुल क्षेत्रफल र कित्ता नम्बरसहितको विवरणको प्रतिवेदनका लागि तीन जनाको समिति गठन गरेर प्रक्रिया थालेका छौं ।’

काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले सूर्यविनायक, मध्यपुर थिमि र चाँगुनारायण नगर क्षेत्रभित्र सञ्चालित ९२ वटा जग्गा प्लानिङ अवैधानिक भएको भन्दै खरिदकर्तालाई जग्गा खरिद नगर्न दुई महिनाअघि नै सूचना जारी गरेको थियो । तर सरकारी सूचनाको बेवास्ता गर्दै ती स्थानमा डोजर चल्न छोडेका छैनन् । प्राधिकरण ललितपुरले पनि गोदावरी, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिका क्षेत्रभित्र सञ्चालित ७३ वटा जग्गा प्लानिङ मापदण्डविपरीत पाइएकाले खरिदकर्तालाई सचेत गराउन सूचना सार्वजनिक गरेको जनाएको छ । ‘हालसम्म १०४ वटा योजनाले जग्गा प्लटिङको स्वीकृति लिइएको छ, बाँकी मापदण्डविपरीतका छन्,’ जिल्ला आयुक्त जगदीशकृष्ण लामिछानेले भने, ‘योजना स्वीकृतिमा नआए जग्गा रोक्का र जरिवाना गर्न सक्ने व्यवस्था छ ।’ विकास प्राधिकरणले कारबाही गरेको रेकर्ड भने कार्यालयसँग छैन ।

भक्तपुर र ललितपुरको देखासिकी गरेझैं विकास प्राधिकरण काठमाडौंले पनि सूचना सार्वजनिक गरेर झारा टार्ने काम गरेको छ । काठमाडौं आयुक्त कार्यालयले क्षेत्राधिकारभित्र पर्ने स्थानहरूमा जग्गा विकास (संयुक्त आवास, सामूहिक आवास र घडेरी विकास) गर्ने डेभलपर्सहरूले निर्माणसम्बन्धी मापदण्ड २०६४ अनुरूप अनिवार्य योजना स्वीकृति लिनुपर्ने प्रावधान रहेको र स्वीकृति नलिई प्लानिङ गरिरहेको पाइएकाले ध्यानाकर्षण भएको भन्दै सूचना सार्वजनिक गरेको छ । सम्बन्धित स्थानीय तहहरूले प्लानिङ क्षेत्रको घर, बाटो सिफारिस दिँदासमेत प्राधिकरणको स्वीकृति लिएको भए मात्र दिन अनुरोध गरेको छ । मालपोत तथा नापी कार्यालयले समेत किनबेच र कित्ताकाट गर्दा स्वीकृति भएकालाई मात्र कित्ताकाट गरिदिन सुझाव दिएको छ । ‘कति प्लानिङ अवैधानिक छ भन्ने तथ्यांक कार्यालयसँग छैन तर अधिकांश नयाँ जग्गा खण्डीकरण अव्यवस्थित र अवैधानिक छ,’ प्राधिकरणका आयुक्त दिनेशकृष्ण पोतेले भने, ‘काठमाडौंमा २०६३ यता २ सय २९ वटा प्लानिङले स्वीकृति लिएको छ ।’ सीमित स्रोतसाधनका कारण कार्यालयले प्रभावकारी रूपमा अनुगमन गर्न नसकेको उनले बताए । मालपोत र नापी कार्यालयले प्लानिङ परमिट लिएकाहरूलाई मात्रै कित्ताकाट गरिदिनुपर्ने उनी बताउँछन् ।

खेतीयोग्य जमिन प्लटिङ गरेर जथाभावी घडेरी बनाउन थालेपछि सरकारले त्यसलाई नियन्त्रण गर्न २०७४ साउन २६ मा कृषियोग्य जग्गा कित्ताकाट गरी घडेरीका रूपमा बिक्रीवितरण गर्न/गराउन नपाउने निर्णय गर्‍यो । त्यसपछि मन्त्रालयको उक्त निर्देशनलाई पुनरावलोकन गरी जग्गा खण्डीकरण रोक्दा सर्वसाधारणलाई समस्या भएको र भूमाफियासमेत मौलाएको भन्दै मन्त्रालयले २०७५ पुस २७ मा भूमिको वर्गीकरण र उपयोगसम्बन्धी कानुन तर्जुमा नहुन्जेल फर्म, संस्था वा कम्पनीले स्थानीय तहको स्वीकृति लिएर कित्ताकाट गर्न पाउने व्यवस्था गर्‍यो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नयाँ निर्देशनमा फिल्डबुकमा जग्गाको किसिम जुनसुकै लेखिए पनि स्थानीय तहबाट खेतीयोग्य जग्गा होइन भन्ने व्यहोरा लेखी आएका जग्गा खण्डीकरण वा कित्ताकाट गर्न सकिने व्यवस्था गरिएको छ ।

गत वर्ष भदौमा सरकारले कित्ताकाट खुलाए पनि मंसिरमा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश मनोजकुमार शर्माको संयुक्त इजलासले जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय बदर गरेको थियो । तर, सर्वोच्चको आदेशपछि पनि जथाभावी प्लटिङ रोकिएको छैन । विकास प्राधिकरण सूचना मात्रै निकाल्ने र स्थानीय तह आँखा चिम्लने प्रवृत्तिले नियमविपरीत प्लटिङ गर्नेहरूको मनोबल बढाइरहेको चाँगुनारायण सुडालकी लक्ष्मी खत्रीले बताइन् ।

प्रकाशित : चैत्र ३, २०७८ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्

अछाममा होरीको रौनक

रामलीला, कृष्णलीला र चारित्रिक मायाप्रेम समेटिएका देउडा
मन्दिरमा बाँसको लिंगो गाडेर चीर
मेनुका ढुंगाना

अछाम — शिव शंकरकी दरबार होरी खेलै...चारै चार कुमार प्यारी दशरथकी चारै कुमार प्यारी...वन बैरीनी बाँसुरी बाँजी रे...वन बैरीनी बाँसुरी बाँजी रे...

अहिले यस्तै श्लोकहरू लय मिलाएर गाउन सुरु भएको छ । यी अछामी होरीका श्लोक हुन् । सेतो पहिरनमा छुट्टै पहिचान बनाएर अछाममा खेलिने होरी सुरु भएको छ । जिल्लाका विभिन्न ठाउँमा खेलिने होरी शिवरात्रिका दिन उद्घाटन भए तापनि मंगलबारबाट औपचारिक रूपमा सुरु भएको हो ।

सेतै लुगा लगाएर पुरुषका दुई छुट्टाछुट्टै समूह बनाई गोलाकार आकारमा लाइन लागि फूलको माला पहिरिएर एउटै स्वर र लयमा देउडा गाई होरी खेल्छन् । होरीमा गाइने देउडा शिवको लीलाबाट सुरु गरिन्छ । अछामी होरीको सुरुवात अछामकै तत्कालीन कालीमाटी गढीका राजा भान शाहको पालाबाट सुरु भएको होलीका जानकार बताउँछन् ।

भान शाहको विवाह भारतको कुमाउँ गढवालबाट भएकाले त्यहिबाट दाइजोका रूपमा होरी भित्रिएको भनाई छ । मेलको हाँगा काटेर त्यसलाई चीरका रूपमा गाड्ने र यसमा रंगीचंगी ध्वजापताका लगाएर होरीको सुरुवात गरिन्छ । जसलाई चिरडालो भनिन्छ । यही चीरलाई पूर्णिमाको दिन होरी खेलेर अन्त्यमा आगोले जलाउने प्रचलन छ ।

होरीको इतिहासबारेका जानकार मंगलसेन नगरपालिका – ५ का उदयराम ढुंगानाका अनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकशिपु नामक एकजना राक्षसको जन्म भएको थियो । हिरण्यकशिपुलाई भगवान् विष्णुले नरसिंह अवतार लिएर मारेका थिए । हिरण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । उनी भगवान् विष्णुका निक्कै भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान् विष्णुलाई मान्ने गरेको पिता हिरण्यकशिपुलाई मन परेको थिएन । त्यसैले उनले छोरा प्रह्लादलाई मार्न धेरै योजना बनाएका थिए ।

एक योजनाअनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलीकालाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलीकाले प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलीका जलेर नष्ट भइन् तर विष्णु भगवानका भक्त प्रह्लादलाई केही पनि भएन । त्यसैको खुशीमा प्रतीक स्वरूप होलीका दहन गरी खुशीयाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।

एउटा अर्को एक प्रसंगअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशक पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएका थिए । उनको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ र अबिर छरी खुसीयाली मनाइएकाले पनि त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको जानकारहरू बताउछन ।

होली हिन्दुहरूको प्राचीन पर्व हो । धार्मिक जानकारहरू यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराणजस्तो प्राचीन हस्तलिपि र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । भारतमा पर्ने विंध्यक्षेत्रको रामगढ भन्ने स्थानमा स्थित ईसाभन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख भएको भनाइ छ । होलीका मारेकै उत्सवमा फागु पूर्णिमाको दिन देशभर होली पर्व मान्ने गरेको पाइन्छ । ‘उत्सव मनाउन एकआपसमा रङ दलेर खुसीयाली मनाउदै रमाएर होली खेलिन्छ तर सेतो जामासहितको लुगा लगाएर रङ नलगाई खेल्नु भने होरी हो’ ढुंगानाले भने, ‘पहिले अछाममा रङ पाइँदैनथ्यो । वनमा पाइने बडुबुटीबाट रङ निकालेर टिका लगाउने गर्थे । अहिले त बजारमै पाइन्छ । होरी खेल्दै गर्दा देउडाबाटै रङ मागिन्छ ।’

उनका अनुसार रङसँगै उत्सव जोडिएको उनको भनाइ छ । होरीको देउडा गाउँदै गर्दा रङ यसरी मागिन्छ ः ‘अक्षि रङ भरा, अक्षि रङ भरा, आज कनैया रङ भरा’ राधिकाले कृष्णसँग रङ मागेर उत्सव मनाएको किंवदन्तीलाई आधार मानेर होरी खेल्नेहरूले आयोजक समितिसंँग रङ माग्छन् । र, आयोजकले सेतो लुगामा रङ नलाग्ने गरी गाला र निधारमा रङ लगाइदिन्छन् ।

होरीमा विभिन्न धर्मसंस्कृति, रामलीला, कृष्णलीला, चारित्रिक मायाप्रेमका कुरा समेटिएर लेखिएका देउडा गाउने प्रचलन रहेको होरीका जानकार सहदेव ढुंगाना बताउछन् । पछिल्लो समयमा मौलिक लोकसंस्कृतिअनुसार भन्दा पनि एकआपसमा रङ दलेर होरी खेल्ने प्रचलन बढ्न थालेपछि परम्परागत होरी लोप हुने सम्भावना बढेकाले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘देवीदेउताको गाथाहरू देउडामार्फत गाइन्छ’ उनले भने, ‘सेतो पहिरनमा खेलिने होरी सभ्य संस्कृतिको पहिचान हो ।’ तर, अहिलेका युवा पुस्ताले सेतो पहिरनमा होरी खेल्न अप्ठ्यारो मान्ने गरेकाले लोपोन्मुख अवस्थामा रहेको उनको भनाइ छ । ‘होरी पुरुषले मात्रै खेल्नुपर्छ भन्ने कुनै इतिहासमा लेखिएको छैन । महिलाले पनि खेल्न मिल्छ’ उनले भने, ‘यसको संरक्षण गर्ने हो र अर्को पुस्तालाई हस्तान्तरण गर्नको लागि भए पनि महिलाहरूलाई पनि होरी खेलाउनुपर्छ ।’

होरी देउडाको साथ पञ्चेबाजासमेत बजाइने गरेको पाइन्छ । विवाह, व्रतबन्धमा समेत अहिले पञ्चेबाजाको प्रयोग घट्दै गएकाले यसको संरक्षण गर्नुपर्ने मंगलसेन नगरपालिका –५ का लक्षे दमाईं बताउँछन् । ‘विवाह, व्रतबन्ध, होरीमा प्रयोग हुने पञ्चेबाजाको महत्त्व अहिलेका पुस्ताले बुझ्न नसक्दा संकटमा परेको छ,’ उनले भने, ‘संरक्षणका लागि पहल गरिएन भने संकटमा पर्छ ।’

प्रकाशित : चैत्र ३, २०७८ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×