कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

क्युवाली राजदूत मारिनद्वारा भक्तपुरको ऐतिहासिक सम्पदा अवलोकन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले बुधबार भक्तपुर नगरपालिका क्षेत्रका ऐतिहासिक एवं विश्व सम्पदा सूचीमा रहेको सम्पदाको अवलोकन गरेका छन् । भक्तपुर नगरपालिका पुगेका उनलाई नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए ।

क्युवाली राजदूत मारिनद्वारा भक्तपुरको ऐतिहासिक सम्पदा अवलोकन

यस क्रममा क्युवाली राजदूत मारिनले क्युवा र नेपालबीचको सम्बन्ध सधैँ सुमधुर रहने विश्वास व्यक्त गर्दै नेपालले क्युवाप्रति देखाएको ऐक्यबद्धता र सदासयताका लागि अभार प्रकट गरेका थिए । नेपालमा आफ्नो पहिलो भ्रमण भएको र नगरपालिकाले स्वागत गरेकामा खुसी व्यक्त गर्दै उनले समुन्नत समाज निर्माणका लागि क्युवा र नेपालको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे ।

नगर प्रमुख प्रजापतिले नेपाल र क्युवाबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै क्युवाको साम्राज्यवाद विरोधी आन्दोलनमा नेमकिपाको ऐक्यबद्धता रहेको बताए । नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले पनि समाजवादी देशबाट सिक्दै शिक्षामा शिशुस्याहारदेखि उच्च शिक्षा अध्ययनका लागि कलेज सञ्चालन गर्दै आएको जानकारी दिए ।

भक्तपुर नगर प्रवेशका लागि गैरसार्क देशका लागि एक हजार ५०० रुपैयाँ र सार्क तथा चीनका नागरिकका लागि ५०० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था रहेको र सङ्कलित रकमबाट भक्तपुरका सम्पदा पुनःनिर्माण, संरक्षण तथा शिक्षा र स्वास्थ्यमा खर्च भइरहेको उनले जानकारी दिए ।

राजदूत मारिनले भक्तपुरको दरबार क्षेत्र, सुनढोका, वत्सला मन्दिर र टौमढी क्षेत्रको स्थलगत अवलोकन गरेका थिए भने नगर प्रमुख प्रजापतिले राजदूत मारिनलाई भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल, छात्ती पुनःस्थापना केन्द्र र ख्वप इन्जिनियरिङको समेत अवलोकन गराएका थिए ।

नेमकिपा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडाध्यक्षद्वय रवीन्द्र ज्याख्व र उकेश कवां, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, पर्यटन सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवा र प्रशासकीय अधिकृत दामोदर सुवाललगायतले राजदूत मारिनलाई भक्तपुरको विकासको बारेमा जानकारी गराएका थिए ।

प्रकाशित : फाल्गुन १८, २०७८ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×