१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

शिवरात्रीमा यसरी गरिँदै ट्राफिक व्यवस्थापन, पशुपतिमा ९ सय प्रहरी परिचालन

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार पशुपतिनाथको मन्दिरमा महाशिवरात्री पर्वमा हुने भीडलाई लक्षित गर्दै ट्राफिक प्रहरीले विशेष ट्राफिक व्यवस्थापन योजना बनाएको छ । जसअनुसार सम्पूर्ण तयारी भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

शिवरात्रीमा यसरी गरिँदै ट्राफिक व्यवस्थापन, पशुपतिमा ९ सय प्रहरी परिचालन

मन्दिरमा आउने भक्तजन तथा दर्शनार्थीको सुविधालाई ध्यानमा राख्दै महाशाखाले सो क्षेत्रमा खटिने ट्राफिक प्रहरीका लागि ट्राफिक प्रहरीको भूमिका, ट्राफिक व्यवस्थापन गर्दा भक्तजन तथा दर्शनार्थीसँग गर्ने व्यवहार र पार्किङ क्षेत्रमा गर्नुपर्ने सहजीकरण लगायत विषयमा समेत जानकारी गराएको महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए ।

उनका अनुसार महाशिवरात्री पर्वलाई लक्षित गरी पशुपति मन्दिर क्षेत्रमा करिब ९ सय ट्राफिक प्रहरी परिचालन हुनेछन् । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं दर्शनार्थीहरुको भीडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाएको र टाढाबाट भक्तजनहरुको निर्वाध आवातजावतका लागि गौशाला क्षेत्र आसपासमा छुट्टा-छुट्टै स्थानमा पार्किङ गर्ने स्थानहरु समेत तोकिएको महाशाखाले जनाएको छ ।

एसएसपी जोशीले अन्य दिनझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको र भक्तजनहरुको भीड अत्यधिक भई सवारी संचालनमा समस्या हुने देखिएमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट संचालनको व्यवस्था मिलाइएको जानकारी दिए ।

ट्राफिक प्रहरीले दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात संचालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क-गौशाला-तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गबाट सवारी संचालनको व्यवस्था गर्ने तयारी गरेको छ ।

सिफल चौर, गौरीघाट करिडोर, गुह्वेश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ । त्यस्तै, पशुपति क्षेत्र विकास कोषको कार्यालय भित्र कोष तथा पासवाहक सवारी साधन, गौशाला प्रहरी कार्यालयभित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारी साधन र बनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रवक्ता सन्जीव शर्मा दासले मानिसहरुको भीड धेरै भई सवारी चल्नसक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्गबाट संचालनको व्यवस्था मिलाइएको जानकारी दिए ।

त्यस्तै, तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र वाग्मती करिडोरबाट गौरिघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारी साधनहरुलाई सो खण्डमा निषेध गरी डाइभर्सनको प्रबन्ध मिलाइने उनले बताए ।

प्रकाशित : फाल्गुन १६, २०७८ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?