कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिवरात्रिलाई पशुपतिनाथ झकिझकाउ

दर्शनार्थीलाई मास्क र सेनिटाइजर अनिवार्य
बिहान ३ बजेदेखि खोलिने चारै ढोकाबाट दर्शनको व्यवस्था
प्लास्टिक निषेध
दामोदर न्यौपाने

काठमाडौँ — धुमधामका साथ शिवरात्रि मनाउन पशुपतिनाथ क्षेत्र झकिझकाउ पारिएको छ । यस पटक दर्शनार्थीलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शन गर्न बर्सेनि हजारौंको संख्यामा दर्शनार्थी भेला हुने गरेका छन् । यस पटक शिवरात्रि आगामी मंगलबार परेको छ ।

शिवरात्रिलाई पशुपतिनाथ झकिझकाउ

कोरोना संक्रमणविरुद्धको स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार पशुपति क्षेत्र विकास कोषले शिवरात्रिमा भेला हुनेलाई मास्क र सेनिटाइजर अनिवार्य गरेको हो । ‘सम्भव भएसम्म भौतिक दूरी पनि कायम गर्ने व्यवस्था मिलाएका छौं,’ कोषका कोषाध्यक्ष तथा महाशिवरात्रि पर्व प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले भने ।

भक्तजनको सुरक्षाको विशेष योजना बनाइएको छ । उक्त दिन पशुपति क्षेत्रमा नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति परिचालित हुनेछन् । भकुन्डोलमा प्रहरीको शिविर राखिनेछ । मूल शिविरसँगै खोजखबर कक्ष रहने छ । मेला क्षेत्र र दर्शन मार्गमा सीसीटीभी क्यामरा जडान गरिएका छन् । आवश्यकताअनुसार प्रहरीका कमान्ड पोस्ट र सबकमान्ड पोस्टको समेत व्यवस्था गरेर सुरक्षा दिइने सुवेदीले जानकारी दिए । दर्शन मार्गमा ब्यारिकेड जडानलगायतका काममा नेपाली सेनाले सघाउने भएको छ ।

सुरक्षाकर्मीसँगै नेपाल स्काउटले समेत सुरक्षा प्रदान गर्नेछ । करिब ५ हजारको संख्यामा स्वयंसेवक परिचालन गरिने प्रचार उपसमिति सचिव रेवतीरमण अधिकारीले बताए । स्काउटका स्वयंसेवकले श्रद्धालुको लाइनको सहजीकरण गर्नेछन् ।

मन्दिर दर्शनका लागि तीनवटा दर्शन मार्ग व्यवस्था गरिएको छ । गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन हुनेछ । अर्को लाइन मित्रपार्क जयबागेश्वरी, इटापाखा भएर भुवनेश्वरीस्थित फलामको ढोका हुँदै पश्चिम ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । बत्तीसपुतली, गौशाला, एयरपोर्ट, तिलगंगा भएर आउने भक्तजनका लागि चार शिवालय हुँदै प्रवेश गर्ने व्यवस्था छ । आवश्यकताअनुसार तिलगंगा राममन्दिरतर्फबाट समेत लाइनको व्यवस्था गरिने अधिकारीले जानकारी दिए ।

यातायात व्यवस्थापनका लागि ५ ठाउँमा पार्किङ हुनेछ । तिलगंगा, पशुपति क्षेत्र विकास कोष कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलको चौर र गुह्येश्वरी क्षेत्रमा गाडी पार्किङ छुट्याइएको छ । सवारी चापलाई ध्यानमा राखेर एयरपोर्ट–चाबहिल सडकको आधा भागमा सवारी चलाउन दिने र आवश्यकताअनुसार डाइभर्सनको समेत व्यवस्था गरिनेछ ।

तस्बिरहरू : सन्जोग मानन्धर

सजावटलाई विशेष ध्यान दिइएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए । पशुपतिनाथ प्रवेशद्धारसहित मन्दिर क्षेत्रलाई बत्ती र फूलले विशेष किसिमले सिँगारिएको छ । ‘सजावटको व्यवस्था दाताले गरेका हुन्,’ उनले भने ।

कोषाध्यक्ष सुवेदीका अनुसार यस पटकको शिवरात्रिको खर्च ७५ लाख रुपैयाँ लाग्ने अनुमान छ । भक्तजनले चढाएको भेटीलगायत अन्य शुल्कबाट आम्दानी भने १ करोड २५ लाख रुपैयाँ हुने अनुमान छ । कोषले शिवरात्रिको भोलिपल्टदेखि वनकाली क्षेत्रमा एक सातासम्म मेला आयोजना गर्नसमेत व्यापारिक संघसंस्थालाई अनुमति दिइसकेको छ ।

विभिन्न ६० वटा संस्थाले स्वास्थ्य शिविर सञ्चालन गर्न अनुमति लिएका छन् । मन्दिर नजिकैको कोर क्षेत्रमा स्वास्थ्यकर्मी, औषधि र बेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर पनि रहनेछ । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र दमकलको समेत व्यवस्था हुनेछ । प्रत्येक दर्शन मार्गमा एम्बुलेन्स राखिने अधिकारीले जानकारी दिए । शिवरात्रिलाई ध्यान दिएर सरसफाइ कार्यक्रमसमेत सञ्चालन भइरहेका छन् । वाग्मती नदी आसपासको क्षेत्र सफा गरिएको छ । सुरक्षाकर्मी, स्थानीय तह, स्वयंसेवी संस्थाको सहयोगमा सफाइ गरिएको छ ।

दर्शनार्थीका जुत्ता–चप्पल राख्नका लागि ५ ठाउँ हुनेछ । भुवनेश्वरी चोक, बज्रघरको दक्षिण, दक्षिणामूर्ति, राम मन्दिरनजिक र वाग्मतीपारि जुत्ता–चप्पल राख्ने व्यवस्था छ । बिहान ३ बजेदेखि चारै ढोकाबाट पशुपतिनाथ दर्शनको व्यवस्था हुनेछ । विशेष पूजा बिहान र साँझ ६ बजेपछि मात्र हुनेछ । दर्शनार्थी बाहिर निस्किएपछि कोर क्षेत्रभित्र र बाहिरचाहिँ चन्दन पाइने व्यवस्था मिलाइएको छ ।

विभिन्न संघसंस्थाबाट आवास, भोजनको व्यवस्था मिलाइएको छ । निःशुल्क भोजनका लागि ९५ वटा संघसंस्थाले अनुमति लिएका छन् । उनीहरूले भोजन, पानी, चिया वितरण गर्नेछन् । आवास, भोजन वितरण गर्ने संस्थाले आफ्नो स्टलमा डस्टबिन राख्न अनिवार्य गरिएको छ । प्लास्टिकको कप प्रयोग गर्न निषेध गरिएको छ । साधुसन्तका लागि भोजन, आवाससँगै धुनीको पनि व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७८ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?