कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुर महानगर सोमबारदेखि ५ दिन अत्यावश्यक सेवामात्रै

काठमाडौँ — ललितपुर महानगरपालिकाले माघ १० गते सोमबारदेखि ५ दिन अत्यावश्यक सेवामात्रै प्रदान गर्ने भएको छ । कोभिड १९को नयाँ भेरिएन्ट (ओमिक्रोन) बाट संक्रमित भई महानगरका कर्मचारीहरु उपचार एवं होम आइसोलेसनमा रहेकाले महानगरले अत्यावश्यक सेवामात्रै दिन लागेको हो । 

नगर प्रमुख चिरीबाबु महर्जनले ओमिक्रोनका कारण प्राय:जसो जनप्रतिनिधि र कर्मचारीहरु संक्रमित भएकाले कार्यालयमा नियमित सेवा संचालन गर्न नसकेको बताए । उनले भने, ‘कार्यालयमा भएका कर्मचारीबाट मात्रै सबै सेवा संचालन गर्न सकेनौं, त्यसैले केही दिनका लागि निश्चित सेवा मात्रै संचालन गर्‍यौं, यसबाट पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले अधिकांश कर्मचारी संक्रमित हुँदा नियमित सेवा संचालन गर्न धेरै गाह्रो परेको बताए । उनले भने , ‘आलोपालो गरेर पनि नियमित सेवा प्रवाह गर्न सक्ने स्थिति भएन, त्यसैले, अत्यावश्यक सेवामा मात्रै केन्द्रित भयौं । ’

अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई, नगर प्रहरी रहेका छन् ।


प्रकाशित : माघ ९, २०७८ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?