कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेकामा नयाँ कार्यसमिति निर्विरोध

काठमाडौँ — फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) मा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । चितवनको सौराहमा पुस २५ र २६ गते भएको नवौं महाअधिवेशनले श्रीराम दाहालको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

फेकामा नयाँ कार्यसमिति निर्विरोध

अधिवेशनले उपाध्यक्षमा विनोद चुडाल, सचिवमा किरण न्यौपाने, कोषाध्यक्षमा सुशील प्रसाईं, सहसचिवमा दिपेन्द्र श्रेष्ठ चयन गरेको छ । यसैगरी सदस्यद्वयमा धिरजजंग थापा र दीपेन अधिकारी चयन भएका छन् ।

कागेश्वरी-मनोहरा नगरपालिकाका नगर प्रुमख कृष्णहरि थापाले महाधिवेशन उद्घाटन गर्दै अभिभावकहरु जुन स्थानीय तहमा बस्ने हो त्यही स्थानीय तहभित्रको विद्यालयमा आफ्ना बालबालिकालाई पढाउनुपर्ने गरी नीति ल्याउन लागिएको बताए ।

उनले काठमाडौं उपत्यकाका अभिभावकले राम्रो विद्यालयको खोजीमा आफ्ना बालबालिकालाई बसमा राखेर धेरै टाढा पठाएकाले पढाइको गुणस्तर बढ्न नसक्को बताए । उनले भने, 'राम्रो स्कुल खोज्दै बालबालिकालाई एक कुनाबाट अर्को कुनामा पठाइरहेका छौं । यसले बालबालिकालाई थकाई लाग्ने, पढ्न मन नलाग्ने त हुन्छ नै उपत्यकाको ट्राफिक पनि बढाइरहेको छ । यसको लागि हामी होमवर्क गर्दै छौं ।'


उनले कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो नगरभित्र बसोबास गर्ने अभिभावकलाई यही नगरभित्र गुणस्तरीय शिक्षा दिने गरी तयारी थालेको बताए । उनले भने, 'हामीले पूर्वाधारको विकाससँगै शिक्षाको विकास कसरी गर्न सकिन्छ भन्नेबारे लागिपरेका छौं ।'

संविधानले प्राथमिकदेखि माध्यामिक तहसम्मको शिक्षा सञ्चालन, नियमन र अनुगमन गर्ने अधिकार स्थानीय तहलाई दिएको भएपनि पूर्णरुपमा लागू हुन नसकेको उनले बताए । नगर प्रमुख थापाले आफ्नो नगरपालिकाका विद्यालयलाई नमुना विद्यालय बनाऔं भनेर लागेको बताए ।

यस्तै फेकाका निवर्तमान अध्यक्ष नवराज भट्टले आफ्नो संस्था शिक्षा प्रदान गर्न मात्रै उद्दत नभएर विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउनु रहेको बताए । उनले भने, 'हामी विद्यार्थीलाई पढाउने मात्रै नभएर फुटसल, ब्याटमिन्टन, हाजिरीजवाफ, वक्तृत्वकलालगायतका अतिरिक्त क्रियाकलापमा सहभागी गराएर अझै राम्रो जनशक्ति बनाउँछौं भन्ने हो छ । जसले विद्यार्थीलाई पढाइसँगै वृत्ति विकासमा टेवा पुगेको छ ।'

नवनिर्वाचित अध्यक्ष दाहालले आफू पढाइको गुणस्तरलाई मध्यनजर गरेर अघि बढ्ने बताए । उनले फेका भित्र रहेका विद्यालयलाई उपत्यकाका उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन लागिपर्ने बताए । उनले भने, 'गुणस्तरीय अध्ययन र अध्यापन नै हाम्रो मुख्य लक्ष्य हो । हामी त्यही अनुसार नयाँ कार्यसमिति अघि बढ्ने छ ।' फेकामा सञ्चालनमा रहेका २५ वटा नीजि विद्यालय आवद्ध छन् ।


प्रकाशित : पुस २७, २०७८ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?