महानगरको बेवास्ताले कुरूप बन्दै कमलपोखरी

पानीका बोतल, चाउचाउ, बिस्कुटका खोललगायत यत्रतत्र फालिएको छ । मरेका माछाले पोखरी दुर्गन्धित मात्र बनाएको छैन, सौन्दर्य नै घटाएको छ ।
फोहोर र पानीको सतह घट्दा माछा मरेको हुन सक्ने स्थानीयको आशंका
सीमा तामाङ

काठमाडौँ — कमलपोखरी पुनर्निर्माण पूरा नहुँदै काठमाडौंवासीका लागि आकर्षणको केन्द्र बन्दै गएको थियो । पोखरी हेर्न परिसरमा भीड लाग्न थालिसकेको थियो । जाडो सुरू भएसँगै घाम ताप्नेको संख्या ह्वात्तै बढ्यो । तर नियमित सरसफाइ र व्यवस्थापनमा बेवास्ता गरिँदा आकर्षक पोखरी कुरूप बन्दै गएको छ ।

महानगरको बेवास्ताले कुरूप बन्दै कमलपोखरी

पोखरी र परिसरमा पनि पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल, कपडालगायत यत्रतत्र फालिएको छ । मरेका माछाले पोखरीलाई दुर्गन्धित मात्र बनाएको छैन, सौन्दर्य नै घटाएको छ । पोखरीको यो अवस्था भइसक्दा पनि काठमाडौं महानगरपालिकाको नजर पुगेको छैन । कमलपोखरी क्षेत्र महानगरको वडा–१ मा पर्छ । यसबारे वडाध्यक्ष भरतलाल श्रेष्ठलाई सोध्दा केन्द्रबाटै पोखरी निर्माण भइरहेको भन्दै पन्छिए । ‘कमलपोखरी वडालाई हस्तान्तरण गरेपछि मात्रै सरसफाइ, संरक्षण गर्छौं,’ उनले भने, ‘निर्माणाधीन भएसम्म वडाले केही गर्दैन ।

पोखरीमा के कारणले माछा मरे भन्ने विषयमा महानगर बेखबर छ । वडाध्यक्ष श्रेष्ठलाई त कसले पोखरीमा माछाको भुरा छाडेको हो, त्यो पनि थाहा छैन । महानगर प्रवक्ता ईश्वरमान डंगोलका अनुसार पोखरीमा केही समयअघि महानगरले नै भुरा छाडेको हो । स्थानीयहरू महानगरले पोखरीमा पानीको सतह नहेरी भुरा छाडेकाले अहिले धमाधम मरेको दाबी गर्छन् । ‘छठभन्दा पहिला पोखरी सफा थियो, पानी थियो तर माछा थिएनन्,’ दिनहुँ कमलपोखरी पुग्ने गरेका ज्ञानेश्वरका नरबहादुर शाहीले भने, ‘पछि माछा कसले छोड्यो कुन्नि, पानीको सतह हेर्दै नहेरी छाडिएको जस्तो छ । अहिले मर्‍या छन् ।’

कमलपोखरी परिसरमै भेटिएका व्यवसायी जफिर अलामले पानीको सतह घटेका कारण माछा मरेको हुन सक्ने आकलन गरे । महानगर प्रवक्ता डंगोल पोखरीको रूपमा ल्याउनको लागि महानगरले माछाको भुरा छोडेको बताउँछन् । ‘माछाको भुरा के कति छोडियो भन्ने यकिन छैन तर महानगरले नै छोडेको हो,’ उनले भने ।

यसअघि निर्माण सम्पन्न नहुँदै छठ पूजा गर्न पोखरी खुला गरिएको थियो । त्यसबेला पोखरीलाई आकर्षक ढंगले सजाइएको पनि थियो । तर पूजा गरेपछि पोखरी सफा नगरिएका कारण पनि माछा मरेको आशंका गरिएको छ । कमलपोखरी स्पोर्ट्स क्लबका पूर्वअध्यक्ष तथा छठ कमिटीका अध्यक्ष राजेन्द्र जोशीले पोखरीको फाउन्टेन नचलेका कारण अक्सिजनको कमी भएकाले माछाहरू मर्न थालेको बताए । अहिले पानीको सतह पनि घट्दै गएको र महानगरले बेवास्ता गरेको उनको आरोप छ । उनले नियमित सफाइ नभएका कारण पोखरी फोहोर भएको बताए । प्रवक्ता डंगोलले भने सरसफाइको जिम्मेवारी महानगरको रहेको र फोहोर भएको खण्डमा सफा गर्ने बताए ।

महानगरपालिकाले ६ करोड ३६ लाख रुपैयाँमा पोखरी निर्माण गरिरहेको छ । पुस अन्तिम साता औपचारिक उद्घाटन गर्ने तयारी गरिए पनि हुन सकेन । पोखरी पुनर्निर्माणको ठेक्का कँडेल निर्माण सेवाले पाएको छ । निर्माण सेवाका निर्देशक अर्जुन कँडेलले पोखरी पुनर्निर्माण अन्तिम चरण रहेको बताए । ‘अबको एक सातामा कमलपोखरी उद्घाटनको लागि तयार हुन्छ,’ उनले भने, ‘अहिले पोखरीको प्रवेशद्वारको गेट निर्माण भइरहेको छ ।’

प्रकाशित : पुस २०, २०७८ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?