‘उद्योगका काम संघ, प्रदेश वा स्थानीय तह कहाँबाट गराउने ?’ - मधेश मन्थन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘उद्योगका काम संघ, प्रदेश वा स्थानीय तह कहाँबाट गराउने ?’ 

जगदीश प्रसाद अग्रवाल

काठमाडौँ — संघीयता र लोकतन्त्र एकअर्कासँग जोडिएका छन् । पहिलो फड्को लोकतन्त्र हो । लोकतन्त्र नहुँदा विकास र औद्योगिकीकरण हुँदैन । हाम्रो लोकतन्त्र ‘इभल्भिङ’ छ । मधेश आन्दोलनले पहिचान दियो । मधेशका ५५ प्रतिशत जनतालाई देशले चिनेको थिएन, हामीलाई काठमाडौंमा माडे भनिन्थ्यो । आज कुनै व्यक्ति वा समुदायले पहिचान पाउनु भनेको ठूलो फड्को र उपलब्धि हो । हाम्रो तेस्रो उपलब्धि संघीयता हो । कतिले संघीयता खर्चिलो भयो भन्छन् तर, यो खर्चिलोका लागि आएको होइन ।

संघीयताको ठूलो विशेषता भनेको पहलकदमी, खबरदारी र प्रणाली निर्माण हो । हामी यी सबै कुराको कार्यान्वयनमा छौं । हाम्रो कमजोर पक्ष नै कार्यान्वयन हो । कार्यान्वयनलाई सबल बनाउने फेरि संघीयताले नै हो । तर हाम्रो संघीयतामा हचुवापन आयो, गुणात्मक आएन । यसको दुई वटा पक्ष छन् । एक, हाम्रा ६/७ हजार जनप्रतिनिधिमा लोकतन्त्र, संघीयताको अभ्यास छैन । उनीहरू अचानक जनप्रतिनिधि भइदिए । उनीहरूलाई के गर्ने, कसरी गर्ने भन्ने जानकारी पनि छैन । उनीहरूलाई प्रशिक्षण दिनुपर्छ, दीक्षित र शिक्षित गर्नुपर्छ । यसको मारमा उद्योगी पनि परेका छन् ।

दोस्रो कुरा, हाम्रो कर्मचारीतन्त्र ब्रिटिसकालीन छ । दुनियाँमा ठूला–ठूला व्यवसाय, उद्योग सञ्चालनमा छन् । तिनले आफ्नो व्यवस्थापनको तरिका फेरेका छन् । हिजोको जस्तो छैन । हिजोको तरिका तहगत थियो, माथिल्लाले तल्लोलाई आदेश दिन्थे । अहिले आदेशबाट काम हुँदैन । नेपालमा ६० हजार उद्योग रहेको तथ्यांक छ, तिनको सम्पत्ति ६ खर्ब रुपैयाँ छ । यसरी हेर्दा एउटाको सम्पत्ति औसतमा १ करोड रुपैयाँ हुन्छ । ती उद्योगमा कुल ३ लाख ८० हजार कामदार छन् । यसरी हेर्दा एउटा उद्योगमा औसत सात जना कामदार हुँदा रहेछन् । यो तथ्यांकले के देखाउँछ भने हामीकहाँ उद्योगिकीकरण भएकै छैन । अहिले भएका घरेलु र लघु उद्योगले औद्योगिकीकरण हुँदैन ।

जसलाई सस्तो ब्याजमा ऋण चाहिएको थियो, उसैलाई ३६ प्रतिशतमा दिइएको छ । यो चित्त बुझ्ने कुरा होइन । सरकारी नीतिमा यस्तो छैन, राष्ट्र बैंकले यस्तो भनेको छैन । तर, समस्या त्यही हो– कार्यान्वयनमा कमजोरी । यहाँ भनिएको आधारमा कानुन कार्यान्वयन हुँदैन ।

हामीकहाँ कति उद्योग दर्ता भए वा कति खर्ब लगानीका निवेदन परे भन्ने विषयले कुनै अर्थ राख्दैन । कतिवटा उद्योग वास्तवमा सञ्चालित छन् र उनीहरूको लगानी मात्रै नभई भ्यालु एडिसन कस्तो छ, भन्ने विषय यहाँ महत्वपूर्ण छ । नेपालबाट अरबौं रुपैयाँको तेल निर्यात भयो भन्ने सुनिन्छ । त्यसमा मूल्य अभिवृद्धि कति भयो भन्ने मुख्य विषय हो । ९८ अर्ब रुपैयाँको कच्चा तेल आयात गरेर एक खर्बको निर्यात गर्नु भनेको वास्तविक निर्यात होइन । तसर्थ हाम्रो उद्योगको क्षमता र शैलीमा प्रभावकारी परिवर्तन आवश्यक छ ।

स्थानीय सरकारको जनतासँग हातेमालो हुन्छ । औद्योगिकीकरण, व्यवसायीकरण, जलवायु परिवर्तनका सबै विषय प्रदेश सरकारलाई जिम्मा लगाइएको छ । त्यसको कार्यान्वयनमा स्थानीय सरकारलाई पनि जिम्मा लगाइएको छ । तर अहिले निजी क्षेत्रले यो रुचाएन । उद्योग वा व्यवसायको कामका लागि हामी काठमाडौं धाउँथ्यौं । अब सायद काठमाडौंबाट प्रदेशमा पनि धाउनुपर्‍यो र स्थानीय तहमा पनि धाउनुपर्‍यो । यस्तो परिस्थितिमा मधेश सरकारले के गर्ने ? मधेश सरकारले ऐन, कानुन र नियमावली त बनाएको छ । तर उद्योग हेर्ने काम काठमाडौंबाट भइरहेको छ । त्यो कानुनी हो कि गैरकानुनी हो ?

-व्यवसायी अग्रवालले मधेश मन्थनमा राखेको विचारको सम्पादित अंश


प्रकाशित : असार २८, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्

टिकट वितरण गर्नेले आत्मालोचना गरौं : विश्वकर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई टिकट वितरण गर्नेहरूले आत्मालोचना गर्नुपर्ने बताएका छन् । मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता विश्वकर्माले टिकट वितरण पारदर्शी नहुँदा धेरै ठाउँमा विद्रोह भएको बताए ।

‘स्थानीय चुनावमा गठबन्धन गर्नु आवश्यक थियो, त्यो भयो । तर त्यही गठबन्धन गर्ने निर्णय समयमा भएको भए राम्रो उपयोग हुन सक्थ्यो, समयमा गठबन्धन नहुँदा त्यसको राम्रो उपयोग हुन सकेन,’ उनले भने, ‘गठबन्धनकै कारण राम्रो परिणाम आएको पनि सत्य हो, तर चुनावी गठबन्धनकै कारण पार्टीभित्र खलबल मच्चिएको छ । आगामी चुनावका लागि त्यस्ता कुरालाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ ।’

नेता विश्वकर्माले टिकट वितरणको अधिकार तल्ला तहलाई दिँदा टिकट वितरणमा अनियमितता भएको बताए । ‘टिकट वितरणको अधिकार विधानले तल्ला तहलाई दियो, तर त्यो पारदर्शी हुन सकेन,’ उनले भने, ‘त्यहीकारण विद्रोही धेरै भए, अहिले विद्रोहीलाई कारबाही गर्ने कुरा सुनिएको छ, तर विद्रोहीलाई कारबाही गर्दा पार्टी खाली हुने अवस्था नहोस्, बरू टिकट वितरण गर्नेले आत्मालोचना गरौं ।’

उनले पार्टीमा भ्रातृ संस्था र विभागहरू गठन गर्न ढिलो हुँदा संगठन कमजोर बन्दै गएकाले यथाशीघ्र तिनलाई पूर्णता दिनुपर्ने बताए ।


प्रकाशित : असार २८, २०७९ १८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×