३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

चुरे हामी सबैको गौरव हो, संरक्षणका लागि सबैले पहल गरौं

संस्कृतिमा ‘प्रकृति रक्षति रक्षित:’ भन्ने उक्ति छ । यसको अर्थ यदि हामीले प्रकृतिलाई संरक्षण गर्‍यौं भने प्रकृतिले पनि हामीलाई संरक्षण गर्छ भन्ने हो ।
कमला शिवाकोटी

काठमाडौँ — राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति स्थापना भएको हिसाबले १० वर्ष भयो । तर समिति गठन भएर काम गरेको ८ वर्ष भयो । हामीले ०७९ असार २ गते आठौं चुरे दिवस मनायौं । अहिले हामी तेस्रो सञ्चालक समिति हो । ०६६/६७ मा कार्यक्रम सुरु भएदेखि यसअघि २ वटा समितिका पदाधिकारीको समय सकिसकेको छ । 

चुरे हामी सबैको गौरव हो, संरक्षणका लागि सबैले पहल गरौं

चुरे भनेको मधेशको मेरुदण्ड हो । लाइफ लाइन हो । हामीले चुरे जोगाएनौं भने मधेश र तराईको अस्तित्व रहँदैन । त्यो कारणले पनि चुरे जोगाउनु एउटा महत्त्वपूर्ण कुरा हो । संस्कृतिमा ‘प्रकृति रक्षति रक्षित:’ भन्ने उक्ति छ । यसको अर्थ यदि हामीले प्रकृतिलाई संरक्षण गर्‍यौं भने प्रकृतिले पनि हामीलाई संरक्षण गर्छ भन्ने हो ।

चुरे सबैभन्दा कान्छो पहाड हो । यो एकदमै कमलो र बलौटे माटोले बनेको छ । सानो पानी पर्ने बित्तिकै पहिरो लाग्छ । हावा चल्ने बित्तिकै तल झर्छ । अहिले भर्खरै बन्दै गरेको पो पहाडलाई जोगाउने तपाईं–हामी सबैको दायित्व हो । चुरे संरक्षणका लागि अहिले समितिले गरिरहेको काम मात्र पर्याप्त छैन । त्यसमाथि हामीले तीन तहको सरकारको समन्वयमा काम गर्न सकेका छैनौं ।

राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति संघीयता कार्यान्वयनअघि नै सञ्चालनमा आएकाले त्यहाँ संघ, प्रदेश र स्थानीय तहको समन्वयका कुराहरू समेटिएको छैन । हामीसँग २० वर्षे गुरुयोजना छ । त्यो भनेको चुरे र तराई मधेशको व्यवस्थापनका सन्दर्भमा बनाइएको गुरुयोजना हो । २० वर्षका लागि बनाइएको त्यो गुरुयोजना अहिले ५औं वर्षमा समीक्षा गर्ने, परिमार्जन गर्नेलगायतका कार्य भइरहेका छन् । संघीयतामा सबैको समन्वय र सहकार्यमा कसरी चुरे संरक्षण गर्न सकिन्छ भनेर सबै तहका सरकारसँग छलफल गरिरहेका छौं । सँगसँगै हामीले कार्ययोजना पनि संशोधन गर्ने तयारी गरिरहेका छौं । नेपालले लिएको समृद्ध नेपाल, सुखी नपालीको नारा राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिमार्फत चुरे क्षेत्रको संरक्षण गरेर हुन्छ । हामी त्यसअनुसार योजना बनाउने, काम गर्ने र समन्यय गर्ने प्रयास पनि गरिहेका छौं ।

चुरे क्षेत्र दोहन भएको छ । वातावरण ऐनअन्तर्गत रोखर घोषणा गरिएको समितिको बोर्डले सबै काम गर्न सकेको छैन । किनकि हामीसँग ऐननियम र कानुन छैन । यसकारण हामीले एकीकृत चुरे व्यवस्थापन ऐनका लागि प्रयत्न गरिरेका छौं । त्यसका लागि वन तथा वातावरण मन्त्रालयलाई अनुरोध पनि गरेका छौं । चुरे क्षेत्रको गिट्टी, बालुवा कसरी व्यवस्थित गर्ने भनेर पनि विभिन्न खालका कार्यविधि बनाएर हामीले काम सुरु गरेका छौं । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिले केही राम्रा काम पनि गरेको छ । उदाहरणका लागि हामीले प्रदेश १ मोरङमा बाबा ताल बनाएका छौं । त्यो तालले पर्यटनको पनि राम्रो सम्भावना बोकेको छ ।

राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिमाथि विगतमा विभिन्न खालका आरोप पनि लागे होलान् । तर अहिले समिति एकढिक्का भएर काम गरिरहेको छ । चुरे संरक्षण विभिन्न निकाय र क्षेत्रको समन्वय तथा सहकार्यबिना सम्भव छैन । हामीले यसमा निजी क्षेत्रलाई पनि संलग्न गराउन खोजेका छौं । प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अघि बढिरहेको छ । त्यसका लागि प्रदेश समन्वय समिति निर्माण गर्ने क्रममा पनि हामी छौं । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको दीर्घकालीन रणनीति पनि अहिले परिमार्जन हुने क्रममा रहेको छ । त्यसको कार्यविधि बनेर बोर्डबाट पारित पनि भइसकेको छ । त्यो कार्यविधिअनुसार अब प्रदेश समन्वय समिति बनाएर प्रत्येक क्षेत्रमा जाने तयारी हामीले गरिरहेको छौं । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिका सदस्यको संयोजकत्वमा रहने समन्वय समितिले सबै सरोकारबाला क्षेत्रलाई समेट्नेछ ।

०७१ सालमा चुरे क्षेत्र भनेर घोषणा हुँदा १२.७८ प्रतिशत भूभाग ओगटेको भनिएको छ । १४.०६ प्रतिशत तराई र मधेश भनिएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु भएयता १२ अर्ब रुपैयाँ त्यहाँ खर्च भएको छ । त्यो पैसा खर्च हुँदा हामीले चुरेमा केही खर्च गरेका छैनौं । सबै रकम तराई मधेशमै खर्च भएको छ । हालसम्म तल्लो तटीय भूभागमा मात्रै धेरै रकम खर्च भएको छ । अब हामी माथिल्लो तटीय भूभागमा केन्द्रित भएर काम गर्ने तयारी गरिरहेका छौं । हाम्रो नारा नै ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने छ । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिका कार्यक्रमहरू माथिल्लो र वास्तविक चुरे क्षेत्रमा केन्द्रित हुने गरी काम गरिरहेका छौं । चुरेलाई संरक्षण गर्न सकिएन भने तराईमा पानी पुनर्भरण हुँदैन । त्यहाँ पानीको तह घट्दै जान्छ । चुरेको संरक्षण राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिले गरेर मात्र सम्भव छैन । सबै सरोकारवाला निकायहरूको सहकार्यमा काम गर्नुपर्ने छ । हुन त जनसंख्या वा मानिसको बसोबास जहाँ छ, त्यहाँ समस्या देखिन्छ । तराईमा ठूलो जनआवादी भएकाले त्यहाँको समस्या बढी देखिन्छ । कुनै समस्या देखिएपछि तत्काल सम्बोधन गर्नुपर्ने हुन्छ ।

चुरे प्रकृति र संस्कृतिको संगमस्थल हो । लुम्बिनी क्षेत्र र जानकी मन्दीर दुवै चुरे क्षेत्रमा पर्छन् । हामीले चुरे संरक्षणलाई हाम्रो धर्म संस्कृतिसँग पनि जोड्न सक्यौं भने त्यो अझ बढी प्रभावकारी हुन्छ भन्ने मलाई लाग्छ । चुरे क्षेत्र त नेपालमा मात्र नभई भारत र बंगलादेशमा पनि छ । ती देशहरूले चुरे संरक्षणका लागि गरेका प्रयास र हामीले गरेको प्रयासहरूको अनुभव आदान–प्रदान गर्न सकिन्छ । चुरे क्षेत्रमा हामी धार्मिक पर्यटनलाई पनि प्रवद्र्धन गर्न सक्छौं । त्यो सम्भावना पनि हामीसँग छ ।

राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिमा नयाँ पदाधिकारी नियुक्त भएको अहिले १३ महिना जति भयो । गत आर्थिक वर्षको बजेटमा चुरे क्षेत्रको गिटी बालुवा उत्खनन गरेर त्यसबाट व्यापार घाटा कम गर्ने भन्ने विषय राखिएको थियो । त्यो विषयलाई सञ्चारमाध्यमले धेरै उचाले । तर त्यही विषय यस वर्षको बजेटमा पनि आएको छ । तर यसपल्ट त्यो विषयलाई सञ्चारमाध्यमहरूले पनि उठाएनन् । चुरे जोगाउने जिम्मा त कुनै दलको मात्र पक्कै होइन होला । यो त हामी सबैको गौरवको पहाड हो । संसारका अरु ठाउँमा यस्तो भौगोलिक अवस्थिति देखिँदैन । संसारभरका मान्छे चुरे क्षेत्र हेर्न नेपालमा आउन सक्छन् । हामीले महाभारत जोगाउन सक्यौं भने मात्र चुरेलाई जोगाउन सक्छौं । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिका काम कारबाहीमा राष्ट्रपतिले निकै चासो देखाउनु हुन्छ । हामीले चुरे दिवस मनाउँदा पनि राष्ट्रपतिलाई आमन्त्रण गर्‍यौं र १ लाख बिरुवा रोप्ने कार्यक्रमको सुरुवात गर्‍यौं । चुरे संरक्षणमा राष्ट्रपतिको निकै चासो छ ।

- राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति सदस्य शिवाकाेटीले मधेश मन्थनमा राखेको विचारको सम्पादित अंश

प्रकाशित : असार २७, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?