कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्लेटोको पालाको प्रेम

यो थुप्रै प्रेमकथाको ‘रिसाइकल’ होइन– अनौठो, मौलिक प्रेमकथा हो । किताबले साहित्यको कखरा जानेकै पाठक खोजेको छ ।
राजकुमार बानियाँ

केही महिनाअघि नामी राजनीतिक विश्लेषक विष्णु सापकोटाको उपन्यास आउँदै छ भन्ने खबर नै एकखाले ‘सरप्राइज’ थियो मेरा निम्ति । विमोचन समारोहमा मञ्जुश्री थापाले मञ्चबाटै ‘अडिएका पाइला’ लाई ‘कलेज नोभल’ भन्नु थप ‘सरप्राइज’ ! यसमा सापकोटाको लेखकीय दोष थिएन, दोष थियो त आफ्नै पाठकीय पावरदार चस्माको । 

प्लेटोको पालाको प्रेम

वास्तवमा म कुनै पनि लेखकलाई एउटै विधा वा विषय वा वाद वा ब्राकेटमा देखिरहन चाहने पाठक रहेछु । विष्णु सापकोटा नेताहरूलाई बगरेले जसरी खुइल्याउने काममा मात्र अलमलिइरहून् भन्नु पाठकीय निरंकुशता त होला ! सधैंभरि मैले चाहेजस्तो लेखिरहोस् भन्ने आग्रहलाई पाठकीय सर्वोच्चता पनि भन्न सकिादो हो ।

मञ्जुश्रीले ‘कलेज नोभल’ भनिदिएकी के थिइन्, हामीले ‘आज पढ्यो, भोलि बिर्स्यौं’ युधीर थापामार्का सस्तोमस्तो ‘लभस्टोरी’ ठानेर पुस्तक पसलकै छेउकुनामा धकेलिदियौं । यो बौद्धिक खुराक भएको दार्शनिक उपन्यास हो भन्ने जान्न पनि महिनौं लाग्यो । नेपाली आख्यानमा एउटा सशक्त किताबको रूपमा प्रवेश गरेको थाहा दिन झन् के कुरा !

मजस्ता पूर्वाग्रही पाठक कतिपय लेखकलाई अनुहार, स्टाटस वा समीक्षाका आधारमा स्वागत गर्दा रहेनछौं । कस्तो नसुहाउादो नाम ? ‘अडिएका पाइला’ सुरुमा मलाई लागेको त्यही हो । ३३४ पृष्ठमा पुगेर अडिँदा मलाई नाम नमिलेजस्तो पटक्कै लागेन । बरु श्रुतिमधुर र बिम्बात्मक लाग्यो । उपन्यासले आफ्नो व्यक्तित्व वा कथाअनुसारकै नाम पाउँदो रहेछ । पाइला अडिनुको पनि विशेष अर्थ रहेछ । आखिर पाइला किन अडिन्छ ? केही सोचेर वा सोचमग्न भएर ? पाइला भनेको समय हो, समय भनेको यात्रा !

हरेक लेखकसँग उही र उस्तै सामग्री अपेक्षा असल पाठकले गर्दैन । उसले नयाँ, नौलो, नवीन खुराक नै खोज्छ । पाठकले जे चाह्यो, त्यही लेख्ने कि लेखकले जे चाह्यो त्यही पढ्ने भन्ने सिर्फ बजारू प्रश्न हो । लेखनको मानक बनाउने पाठकले होइन, लेखकले हो । पाठकले कम पढ्दैमा वा बेवास्ता गर्दैमा कुनै पुस्तकको महत्त्व वा सान्दर्भिकता सकिँदैन ।

आवरणमा नागी गुम्बादेखि सिकागोसम्मको काजल भोजवालाकृत दृश्यचित्रले सिंगो उपन्यासको भावपुञ्ज बोकेको छ । ‘अडिएका पाइला’ प्रेमकथा हो, तर थुप्रै प्रेमकथाको ‘रिसाइकल’ होइन । यो अनौठो प्रेमकथा हो, मौलिक प्रेमकथा हो र नसोचेको प्रेमकथा हो । आम प्रेमकथाको स्वभाव के हुन्छ भने कि त्यो सफल हुन्छ, कि असफल ! यो उपन्यासले न सफल हुने संकेत देखाएको छ, न त असफल भन्न मिल्ने परिवेश दिएको छ । प्रेमको सफलता वा असफलतामा कसैलाई गलत ठहर्‍याएको पनि छैन ।

उपन्यासमा प्रेमका विविध रूपरङ छन् । कहिले भौतिक, कहिले अभौतिक । कहिले स्वाभाविक, कहिले अस्वाभाविक अनि कहिले सामान्य कहिले असामान्य । पहिलो अध्याय जन्मदिन मनाउने क्रममा शिवपुरी हाइकिङमा छ, अन्तिम अध्याय नर्भिक अस्पतालको मनोपरामर्श क्याबिनमा । आखिर विश्वविद्यालयकालीन युवा हृदयमा ढुकढुकिने प्रेम अस्पतालको क्याबिनसम्म कसरी पुग्छ ? यही परिवेशमा उपन्यासले परिक्रमा गरेको छ ।

उपन्यासमा सुरुवातदेखि अन्त्यसम्म रहने जम्मा दुई पात्र छन्, अस्तित्व र अनसूया । दुई दशक हाराहारीकी अनसूया अनि तीन दशक टेकेको अस्तित्व । त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागकी प्राध्यापक मणिको मातहतमा पोखरा घर भएका एमएका विद्यार्थी अस्तित्व थेसिस लेख्दै छ । थेसिसका लागि जाँदा प्राध्यापकपुत्री अनसूयासँगको परिचय प्रेममा परिणत हुन्छ ।

कीर्तिपुरको फाँट, शिवपुरीको उकालो अनि दक्षिणकालीको सेरोफेरोमा तिनीहरूको प्रेम दैहिक नभएर वैचारिक छ । पात्रको स्वभाव विश्लेषण गर्ने हो भने अस्तित्व स्वपीडक छ, अनसूया स्वपीडक र परपीडक दुवै । मनोविज्ञानको भाषामा भन्दा आत्मयातना दुःखदायी रतिसुख पनि हुन जान्छ । अस्तित्व विद्यावारिधिका निम्ति अमेरिका जानुअघि घरमै धाउँदासमेत अनसूयाको बिदाइ भेट पाउँदैन, खुला खामभित्र चिठी छाडेर फर्कन्छ ।

प्रेमको एकाध वर्षमै अनसूयाले अस्तित्वको फोन नउठाउने, बोल्न छाड्ने आदि लक्षण देखाएकी छ । त्यो भनेको परपीडामा आनन्द लिने चरित्र हो । त्यसो गर्नुको कारण भने अस्तित्वले पटक्कै थाहा पाउँदैन । हुर्कौलो जोडीबीच रोमान्टिक प्रेमको अपेक्षा सन्तापको धुन छाउनु उपन्यासको हँदै नाटकीय मोड हो । यो प्रेममा रोमान्सभन्दा ज्यादा सुस्केरा छ । अनसूयाले अस्तित्वसँग मात्रै भएर आमाबाबासँग समेत भावनात्मक दूरी बढाएकी छ । एमबीबीएस पढ्दै गरेकी अनसूया बाबुआमासँग छुट्टिएर डेरा सरेकी छ ।

हुन त उपन्यासमा अस्तित्वको वन्दनासँग समानान्तर प्रेम छ भने वन्दनाको मोहनसँग । वन्दना अस्तित्वको आफ्नै विद्यार्थी हो । उसको सीडीओ बाबु सशस्त्र द्वन्द्वमा मारिएको छ । अस्तित्वको मातहतमा थेसिस लेख्ने उसको चाहना छ अनि उसले द्विअर्थी प्रेमपत्र लेखिएको नोटबुक पनि दिएको छ । त्यो प्रेम, हो कि होइन जस्तो छ । उनीहरूबीचको पत्राचार आफैंमा एक कालखण्डको प्रतिबिम्ब बोकेको छ । भर्चुअल दुनियाँको उखरमाउलोमा त्यो नौलोजस्तो पनि लाग्छ । ऊ अस्तित्वको बिदाइमा एयरपोर्ट पनि गएकी छ । अमेरिका गएपछि अस्तित्व भावनात्मक रूपमै एक्लिएको छ ।

पीएचडी गरेर फर्केपछि अस्तित्वलाई अनिद्रा रोगले पक्रेको छ । ऊ अझै पनि अनसूयाको प्रेम पाउन लालायित देखिन्छ । तर, ऊ वन्दनाको प्रेममा भने निःस्पृह छ । नर्भिक अस्पतालमा उपचारार्थ गएको छ । अनसूया मनोरोगी भएकी छे । वन्दनाको सहयोगमा अस्पताल गएकी छ । अस्पतालमा पालो कुर्दा अस्तित्व अनसूयाको उपचारार्थ आएकी वन्दनालाई देख्छ, अनसूयालाई देख्दैन । सायद अनसूयाले पनि अस्तित्वलाई देख्दिन । दुवै मुख्यपात्रलाई रोगी बनाएर उपन्यासकारले मानवीय यथार्थलाई देखाएका हुन् कि सत्यको अनदेखा गरेका हुन् ? त्यति भेउ पाइँदैन ।

उपन्यासकारले अनसूयाको मौनव्रत भंग गराउनु उचित सम्झेका छैनन् । यो उपन्यासको ‘सिक्वेल’ लेख्ने तानाबाना पनि हुन सक्छ । साँच्ची अस्तित्वप्रति अनसूयाको प्रेम जिउँदै छ वा भूतपूर्व भइसक्यो ? जति प्रयास गर्दा पनि जवाफ पाएको छैन । उपन्यासकारले अनसूयालाई कति कठोर बनाएका छन् भने अधैर्य पाठकलाई बेचैनी भने हुन्न । प्रेमको सफलता वा विफलतामा रूनै पर्ने वा हाँस्नै पर्ने कुनै बाध्यकारी अवस्था उपन्यासमा छैन ।

उपन्यासको सानो बान्की हेरौं : अघिल्लो साँझ नै अनसूयाले अस्तित्वलाई भनेकी थिइन्, ‘सकेसम्म वाग्द्वार कटेर डाँडासम्म पुग्नुपर्छ ।’ अस्तित्वले जिस्किएको स्वरमा भनेको थियो, ‘त्यत्रो लामो बाटो सँगै हिँड्न सक्छ्यौ ?’

अनसूयाले भनेकी थिइन् ‘जाने पो सँगै हो, हिँड्ने त अलगअलग नै हो ।’ अनसूयालाई थाहा थियो, सँगै हुँदा पनि मान्छे एकअर्कासँग धेरै अलग हुन सक्छन् । कहिलेकाहीं अलग हुँदा झन् बढी सँगै हुन्छन् ।

अस्तित्व र अनसूयाको उमेर अमिल्दो भए पनि बौद्धिक स्तर उस्तै छ । उनीहरूबीच तर्कहरू टकराएका छन् । मणि सर, मोहन र वन्दनाको संवादमा पनि उपन्यासकारको वैचारिक आग्रह हावी भएको हो कि भन्ने लाग्छ । पहिलो पटक साहित्य पढ्न लागेका वा घटनाको सर्सती बहावलाई नै उपन्यास हो भन्ठान्ने पाठकलाई यसले नरत्याउन सक्छ ।

उपन्यासको प्रमुख पात्र साहित्यको पठनपाठनमा लागेकाले नेपाली लगायत पाश्चात्य साहित्यको विमर्श पनि उत्तिकै छ । कहिले मदनमणिको कुरा, कहिले ‘माधवी’ को कुरा । कहिले सेक्सपियर त कहिले ह्याम्लेट, कहिले मार्खेजको ‘वन हन्ड्रेड इअर्स अफ सोलिच्युड’, कहिले भर्जिनिया उल्फको फेमिनिजम, कहिले सलमान रूस्दीको प्रसंग आइरहन्छ । यसले असल आख्यान जीवनज्ञान वा जीवनबोधसहित उभिन्छन् भन्ने देखाउँछ ।

अहिलेको प्रेम यस्तो हुन्छ र भनियो भने त्यो गलत हुन्छ । हुन सक्छ यो हिजो गरिएको प्रेम हो वा भोलि हुनेवाला प्रेम हो वा आजै पनि हामीले थाहा नपाईकन भइरहेको प्रेम हो । आखिर उपन्यास न पूर्ण कल्पित दुनियाँ हो वा न त सम्पूर्ण सत्य । उपन्यासमा त्रिकोणात्मक प्रेम कुनै तार्किक निष्कर्षमा पुगेको छैन । त्यसैले यो न सुखद प्रेमकथा हो, न दुःखद नै । यो कथा नुनिलो पनि होइन, गुलियो पनि होइन । लभस्टोरी मान्ने हो भने अलिनो पनि कसरी भन्ने ?

मुख्य कुरो ‘अडिएका पाइला’ मा प्रेमको बिल्कुलै फरक अवधारणा प्रस्तुत भएको छ । उपन्यासका प्रमुख पात्र अनसूया अस्तित्वलाई प्रेम त गर्छे, तर दुवै जना सँगै हुनुपर्छ भन्ने मान्यता बोक्दिन । त्यही दार्शनिक धरातलमा आफ्नो प्रेमलाई जस्तो छ, त्यही बिन्दुमा छाडिदिएकी छ । उपन्यासकारले यसमा औपन्यासिक भिटो लगाएका छैनन् । सायद अनसूया विष्णु सापकोटाको छायापात्र हो । उसको तर्कशक्ति र चिन्तनशक्तिलाई उपन्यासकारले काँध हालेका छन् ।

उपन्यासमा अनसूयाको प्रेमलाई नियमितभन्दा विशिष्ट भन्नुपर्ने हुन्छ । यो प्रेम ग्रिक दार्शनिक प्लेटोको आदर्शवादी विचारअनुरूपको छ । त्यसैले प्रेमलाई आदिम रूपमै छोड्न चाहेको छ । विपरीत लिंगीहरूबीचको प्रेमलाई विवाह वा परिवारसम्म पुर्‍याउने लेठो गरेको छैन । उपन्यासले प्रेमलाई अतिरिक्त बन्धन मानेको छैन, यौन वा रोमान्सको उपस्थिति पनि अनिवार्य ठानेको छैन । ‘फ्रेन्ड जोन’ मा रहेर अस्तित्व र अनसूयाले अन्तरतम विचारको मन्थन गरेका छन् । प्रेमलाई दार्शनिक रूपमा सम्बोधन गरेका छन् ।

पाठकले सोचेजस्तो हुन्थ्यो भने अनसूया र अस्तित्वको बीचको प्रेम सफल हुनुपर्थ्यो । विवाह वा घरबार हुनुपर्थ्यो । तर, उसले परम्परगत तवरमा आफ्नो प्रेम सम्बन्धलाई अघि बढाउन चाहेकी छैन । एक प्रकारले भन्ने हो भने प्रेम सम्बन्धलाई हो कि होइन जस्तो द्विविधामा छाडिदिएकी छ । अनसूयाले अस्तित्वसँगको प्रेमयात्रालाई रोक्न चाहेकी हो भन्ने बुझ्न प्लेटोनिक प्रेमकै दर्शनमा पुग्नुपर्ने हुन्छ ।

त्यसो त ‘अडिएका पाइला’ लाई मञ्जुश्री थापाले जस्तो ‘कलेज नोभल’ मै सीमित गर्नु पनि अन्याय हुन जान्छ । किनभने यसमा क्याम्पसेहरूबीचको रूमानी प्रेम नै छैन । यसले विश्वविद्यालय, समाज र देशकै अवस्थाबारे विमर्श गरेको छ । त्यसकारण पनि यो उपन्यासलाई सामान्य पाठकले रुचिकर खुराक मान्ने प्रश्नै छैन । तर, उपन्यास पढाइ अधुरै छाडेनन् भने पाठकीय स्तर बढाउन भने यसले पक्कै योगदान गर्न सक्छ । प्रस्तुत उपन्यासले साहित्यको कखरा जानेकै पाठक खोजेको छ ।

उपन्यासकारले आफ्ना पात्रलाई दुःखी देखाएर सहानुभूति बटुल्ने भन्दा पनि बौद्धिक हिसाबले नै न्याय गर्न खोजेका छन् । सपाट घटना विवरण लेख्दैनन्, मनभित्रको हलचल लेख्छन् । पात्रको बाहिरी बनोट होइन, भित्री संसार चिहाउँछन् । घटनाको माला होइन, जीवन र जगत्को चिन्तन यसमा अटाएको छ । यस्ता उपन्यास लेखकले पाठक भएर पढ्नुपर्छ, पाठकले लेखक हुनका लागि पनि पढ्नुपर्छ । विष्णु सापकोटाको रुचिमा पाठक आइपुग्ने हो भने नेपाली आख्यान सक्षम हुने दिन पक्कै आउँछ ।

उपन्यासकारले एकल कथावाचकबाटै ‘अडिएका पाइला’ को काम चलाएका छन् । अर्को कथावाचक खडा गर्दा तलब नै दिनुपर्ने जसरी सरक्क पन्छिएका छन् । त्यसले कतिपय ठाउामा उपन्यासलाई रोचक बन्न दिएको छैन । उपन्यासको पात्र अस्तित्वलाई ‘उनी’ सम्बोधनमा त्यति मजा आएन । ‘ऊ’ भन्दिएको भए लेखकको के जान्थ्यो ? ‘उनले भने’ मार्का शैलीमा अखबारकारिता नै ह्वास्स आउँछ ।

लेखकीय निजत्वलाई सम्मान गर्ने हो भने यो उपन्यासमा नऔंल्याई नहुने खराबी देखिँदैनन् । उपन्यासको भाषाशैली ओजिलो छ । नेपाली उपन्यासमा प्रायः नदेखिने नूतन लेखन–प्रविधि छ । कथोपकथन, परिवेश चयन र पात्रहरूको प्रस्तुतीकरण बेग्लै छ । आज हामीलाई सतहीभन्दा पनि उचाइ र गहिराइ दुवै भएको विद्वतासहितको यस्तै आख्यान चाहिएको छ । यस्तो खाले नवीनताको स्वागत नगर्नुपर्ने कारण छैन ।

प्रकाशित : फाल्गुन ५, २०८० १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?