२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

किताब : आक्रोशको आगो

चयन र विचलनका हिसाबले ‘आधा शिर उचालेर’ का प्रेम कविताहरू मौलिक छन् 
गीता त्रिपाठी

आगो पिउनु छ, हातमा औंलाको दाउरा बालेर तर पानी निलेको छु शान्त !
‘आधा शिर उचालेर’ कविता–किताबका ४३ थान कविताको समग्र निष्कर्ष बोलेको छ, उल्लिखित कवितांशले । ‘आह्वान’ शीर्षकको कविताबाट साभार गरिएका यी दुई पंक्तिमा अनुभूतिशील कवि ज्योति जङ्गलका प्रेम–प्रणय, मातृवात्सल्य, घर–समाज, सांस्कृतिक विभेद, लैंगिकता, देश–दर्शन, प्राकृतिक प्रकोप लगायत विषयप्रतिको मौलिक र नवीन चिन्तन छन् ।

किताब : आक्रोशको आगो

विषयगतभन्दा शिल्पगत नवीनताले यी कविता प्रकृतिजत्तिकै सुन्दर र विविधतामय लाग्छन्, जहाँ सारतः हरियाली, जीवनमयता, रहस्य र आशा छन्, सँगसँगै अभेद्य भएर बसेका आकस्मिकता पनि । संग्रहका ‘मिलन’, ‘जानेहरू’, ‘नसम्झने मान्छे’, ‘जून आरोहण’, ‘तिमी जानु’, ‘मुकाम’, ‘विराटनगर’, ‘ईश्वरको वास’, ‘बिदाइ’, ‘माफ गर्नु’ जस्ता कविताले जगाएको शान्ति, विश्वसनीयता र आवेग–परावेगको परित्यागबाट पाठक राग र वैरागको मध्यस्थलमा बोध हुने व्यावहारिक दर्शनसँग रिझिँदै जान्छ ।

अर्कोतर्फ सघन अन्धकारमा कठांग्रिरहेको लामो इतिहास बाँच्दै आएकाहरूको आक्रोशको आगो छ कवितामा । आधा शिर आफैंमा प्रतीकात्मक छ, कविताको सार खिच्न । मानवीय चेतनाको प्रतिनिधित्व गरेको छ शिरले मानिसको शरीरमा र यो शिर कोही कठोरतापूर्वक ठड्याइरहेको छ, कोही आधा झुकाएर बाँच्न विवश छ । कविको असहमति यही विभेदसँग छ । यस पक्षबाट संरचित कवितामा सारा मानवीयताका ऐँजेरुहरूको स्क्यान गरिएका छन् । ती संक्रमित भागहरूमा कवि चेतनाको झिल्का उठेका छन् । विभेदका धूवाँले छोपिएका दृश्यहरूभित्रको संक्रमणप्रति आगो बाल्ने अनन्त चेष्टा छन् यी कवितामा । केही दृष्टान्तहरू यस्ता छन् ः

साथी ! छिमेकी !

सन्देशवाहक ! या शुभेच्छुक !

असुरक्षा हुन्छ, साँझमा नआउनू मेरो घर !

महिलामुक्तिका सवालमा कवि ज्योति जङ्गलको यस कवितांशमा प्रतिध्वनित विपर्यास कलात्मक संयोजन मात्र होइन, भावगत आधारमा यसले दिने अर्थ एक विद्रोही चेतनाको भूमिगत स्थिति हो, जो दियो निभाउनेका निम्ति ज्वालामुखी बन्ने तयारीमा छ । एकातिर समाजले महिलामाथि गर्दै आएको अत्याचार छ, अर्कोतर्फ पुरुषभित्रका वासनात्मक मनोवेगका कारण असुरक्षित बन्ने साँझको मर्म संयमित प्रतिविम्बनबाट प्रकट भएको छ । मानवीय चेतना लगभग उथलपुथल भएर आउने यस्ता हरफहरूमा पुरुषले खोज्ने एकान्त र महिलाले खोज्ने एकान्तबारे गहिरो जिज्ञासा उठ्छ । पर्खाल वा पर्दाभित्रको घर कति संवेदनाहीन हुन सक्छ वा भएको छ भन्ने जटिल यथार्थहरूको केन्द्रीयतामा यो कविता सिर्जना भएको छ ।

‘आधा शिर उचालेर’ संग्रहका कवितामा विचारका आँधीहरू संयमका साथ अवतरण भएका छन् । कविताले भन्न सक्ने अधिकतम ध्वन्यात्मकताले यी कविताहरू मानवीय संवेदनाका अदृश्य छुवाइहरूलाई समेत भावात्मक स्पर्श दिन सक्षम छन् । कवि जङ्गलमा भावगत गहनता र दृश्य अदृश्य परिवेशबोधको अद्भुत क्षमता छ र त्यसलाई प्रस्तुत गर्ने कवित्वशिल्प पनि विशिष्ट छ । उनका कविताले उठाएका कतिपय सांस्कृतिक विषयहरू विभेदका विरुद्ध छेडिएका काव्यिक आन्दोलन नै लाग्छन् ।

अनेकथरीले अनेक तरहले मनपरी गर्ने छुट पाएर प्रदूषित बनाएको काठमाडाौं होस् वा छाउगोठको कानुन बनाउने मठाधीशका पौराणिक कथा हुन्, आजका नारीलाई अधिकारविहीन बनाउने मूल सत्ता सिंहदरबार नै भएको ठम्याएकी छन् कविले । यस समय सिंहदरबार अनेक ध्वन्यार्थमा बुझिँदै आएको छ । यहाँभित्रको जमघट र त्यसको रसबसमा हुने सीमित उपार्जनले यसको अर्थ संकोच र अर्थपकर्ष पनि भएको छ । सिंहदरबारले बोकेको अधिकांश ऐतिहासिकता यसै पनि जनपक्षीय हुन सकेका छैनन् वा थिएनन् । सिंहदरबारले दिनुपर्ने जत्ति उज्यालो दिन नसकेकै कारण यसप्रतिको आस्था धराशायी हुँदै गएको आभास उनका कवितामा संकेत भएको छ । तर, हरसमय सिंहदरबारको भग्नावशेषमा जनताको सांस्कृतिक संयमको बलि दिएको चुपचाप सहिरहने काठमाडौंलाई होस् वा पश्चिममा डुब्न लागेको घामजस्तै मधुरो जीवन बाँचिरहेका छाउगोठका मृत्यु कुर्न विवश स्त्रीलाई, पूर्वबाट चेतनाको सग्लो बीउ लिएर उदाएकी कवि जङ्गलले विद्रोह मच्चाउन आदेश दिएकी छन् ।

पौराणिक कथाबाट निर्देशित हाम्रो सांस्कृतिक परिवेशमा त्यसउताका हाम्रा विश्वास र आस्थाका खादिला जीवनदर्शनलाई केलाउनुपर्ने संकेत यस संग्रहका ‘मेरा प्रिय’, ‘मुकाम’, ‘मुस्कानको शरण’, ‘लिंग’, ‘दसैँ’, ‘आमाहरू’, ‘नयाँ आदेश’ जस्ता केही महत्त्वपूर्ण कवितामा अभिव्यञ्जित छन् । सम्प्रेषणीयताको खडेरीले शुष्क मस्तिष्क छ, सिंहदरबारसँग र कविभित्रको धैर्य नै अधैर्य भइसकेको छ । आह्वानको भावमा समेत उपस्थित कथ्यगत आवेग पर्यावरणीय उष्णताको एउटा चूडान्त स्थिति त हुँदै हो, आजका नागरिक (कवि) ले काठमाडौं भोगेर आत्मसात् गर्न नपाएका कठिन अनुभूतिको दृष्टान्त पनि प्रशस्त छन् ‘आधा शिर उचालेर’ संग्रहका कवितामा ।

स्वयम्भू र पशुपतिबीचको सांस्कृतिक अन्तराललाई ठम्याउने प्रयत्न गर्दै कविले काठमाडौंलाई समयसापेक्ष सन्तुलित हेराइका निम्ति स्वयम्भू–परिवेशबाट उभिन आह्वान गरेकी छन् । सांस्कृतिक रुढिलाई हुबहु पछ्याउँदै अन्याय सहेर चुप रहने स्वभावका विपरीत, विभेदविरुद्ध बोल्न अभिप्रेरित गर्नु कवि जङ्गलको यथास्थिति, असन्तुलन र विसंगतिप्रतिको विद्रोह हो, प्रकृतिको मानवीकरण गरी विविध प्रसंगमा कवितालाई मौलिक शिल्पले खास बनाउनु उनको सहजात निजत्व हो । पाठकलाई आत्मलीन बनाउने कतिपय शैलीगत चमत्कार पनि छन् उनका कवितामा । उनले सिर्जना गरेका केही प्रेम कविताहरू चयन र विचलनका हिसाबले मौलिक लाग्छन् । ‘आधा शिर उचालेर’ का कविताहरू भावगत सौन्दर्य समाजशास्त्रीय चिन्तनबाट समृद्ध छ, शिल्पगत आधारमा उनका संरचनाले प्रकृतिको मुलायम र रहस्यमय सौन्दर्य अँगालेको छ ।

प्रकाशित : माघ १३, २०८० १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?