२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८
स्मृतिमा रूपचन्द्र

‘बडीबिल्डर’ को शुभविवाह प्रकरण

सुकन्या वाइबा

‘थाहा’ का रूपचन्द्र विष्टको २४ औं स्मृति दिवसको पूर्वसन्ध्यामा म उनकै स्मृतिहरूमा पसिरहेको छु । कस्ता थिए रुपचन्द्र ? के सोच्थे उनी ? ती दिनतिर पसिहेरे म देख्छु उनको एक सग्लो ‘बडीबिल्डर’ अनुहार ।

‘बडीबिल्डर’ को शुभविवाह प्रकरण

विष्टको चर्चा गर्नुअघि म थोरै नीजि कुरा गर्छु है त !

वास्तवमा म सार्वजनिक रूपमा बोल्ने, लेख्ने गर्दिनथेँ । उबेला बोल्ने, लेख्ने विषयमा हाम्रा बाबुले सहयोग गर्थे । उनैले लेखिदिएका लेखन हुबहु कण्ठ गरेर म काम फत्ते गर्थेँ ।

बाबुको निधनपश्चात् त्यो जिम्मेवारी दिदी पारिजातको काँधमा पर्‍यो । लेख्न, बोल्न दिदीकै कारण मलाई सजिलो हुन्थ्यो । कतिसम्म भने पारिजात जीवित छँदा विद्यालयमा प्रधानाध्यापिकाको हैसियतमा

मैले बेलाबखत बोल्नुपर्ने मन्तव्यसमेत लेखेर राखिदिन्थिन् ।

दिदीको निधनपश्चात् उनको स्मृतिग्रन्थ प्रकाशन गर्ने निधो भयो । सधैँ साथै रहेकी बहिनीको नाताले मेरो पनि एउटा लेख आह्वान गरियो । अबका सारथि भए– निर्मल लामा । उनको उत्प्रेरणा र सहयोगमा दिदीको निधनपश्चात् लेखनको काम चलाएँ । उनकै हौसलामा सकी नसकी लेखेँ ।

दिदीमाथिको मेरो लेख पढेर महेश मास्केले एक दिन भने, ‘कलम त चल्दो रहेछ नि दिदी, लेखे हुन्थ्यो नि ।’

‘खै, के लेख्ने ? कुन विषयमा लेख्ने ?’

‘पारिजातलाई भेट्न आउने साहित्यकारहरूबाटै सुरु गर्नुस् ।’

मेरो घैंटोमा घाम लाग्यो । दिदीसँग नजिक रहेका विशिष्ट व्यक्ति र साहित्यकारका किताबमाथि लेख्ने मेरो हैसियत होइन । तर, उनीहरूलाई मैले कसरी चिनेँ, दिदीसँग कस्ता कस्ता कुरा हुन्थे, त्योबारे केही थाहा छ, सम्झना पनि छ । ‘यसबारे त केही लेख्न सक्छु’ जस्तो लाग्यो र दुई–चार जनाबारे कलम चलाएँ ।

यसरी केही व्यक्ति सम्झना आउनुको पनि विशेष कारण हुने रहेछ । यहाँ त्यस्तै एक व्यक्तिको सम्झना कोट्याउँछु । उनलाई सम्झनुको कारण हो– हुरीबतासको मौसम । अहिले हुरीबतासकै मौसम छ । यही मौसमले मेरो मन भरङ्ग बनाउँछ । किनभने हाम्रो घर वननजिकै छ । ठूलो हुरी चल्दा बडेमानका रूखका हाँगाहरू हाम्रो घरको आँगनमा खस्थे । कहिलेकाहीँ त सग्लो रूखै ढलेर सिंगो आँगनमा ढसमस्स पल्टिन आइपुग्थ्यो ।

यसरी एक पटक रूखको निकै ठूलो हाँगा आँगनमा खसेको थियो । जोड लगाउँदा पनि कसैले तान्न त के, हल्लाउनसम्म सकेन । संंयोगवश हाम्रो घरमा रूपचन्द्र विष्ट टुप्लुक्क आइपुगे । थाहा दर्शनका प्रवर्तक विष्ट पारिजात दिदीलाई भेट्न आएका थिए ।

हामीले हल्लाउन समेत नसकेको ठूलो हाँगा पन्छाउन उनी अघि सरे । उनी एक्लैले हाँगा तानेर ल्याए । उनको शारीरिक शक्ति देखेर हामी कायल भयौंँ । अहिले हुरी चल्दा विगतको त्यही घटना ताजा भएर आयो । र, दिदीसँग जोडिएका विष्टको प्रसंगबारे केही लेख्न पनि मन लाग्यो ।

खाइलाग्दो ज्यान मात्रै भनेर पुग्दैन, उनको शरीर हेर्दा बडीबिल्डरजस्तो लाग्थ्यो । शारीरिक गठन र सुन्दर रूपको धनी थिए विष्ट । सेतो सुट र रातो टाईमा अति आकर्षक देखिन्थे । पछि पो अधिकांश गरिब जनताले जस्तै झुत्रेझाम्रे लुगा लगाउन थाले ।

पारिजात दिदीको ‘शिरीषको फूल’ छापिए पश्चात् उनी पुतलीसडकको हाम्रो डेरामा आएका थिए । उनले त्यो उपन्यासको एक–एक हरफलाई लिएर दिदीसँग बहस गरेको मेरो सम्झना गहिरिएर बसेकै छ । त्यसबखत पनि उनी त्यही सेतो सुट र रातो टाईमा आएका थिए ।

पञ्चायतकालमा उनी मात्रै यस्ता सांसद थिए, जसको विरोधी आवाज संसद्मा घन्किन्थ्यो । त्यसताका सोझो विरोधको गुन्जाइस कम थियो । तत्कालीन संसद्मा प्रधानमन्त्रीद्वारा आविष्कार गरिएको ‘भक्तिपूर्वक’ भन्ने शब्दको माहोल थियो । त्यसैले विष्ट विरोधको स्वर परिस्थितिलाई मध्यनजरमा राख्दै मेटाफोरिक शैलीमा व्यङ्गात्मक ढंगले व्यक्त गर्थे । के–के भयो संसद्मा, को को बोले र उनीहरूका प्रस्तुति कस्ता हुन्थे, प्रायःजसो सुनाइरहन्थे ।

विष्टको ‘शुभविवाह प्रकरण’ पनि रोचक छ । सो विवाहबारे एक परिचित कमरेड यसरी बयान गर्थे, ‘विवाहमा एक कप चियाको पनि प्रबन्ध थिएन, प्रबन्ध थियो त केवल एक जोडदार भाषणको ।’

साँच्चैको प्रगतिशील विवाह रहेछ भनेर दिदी र मैले अनुमान लगायौँ ।

यसरी विवाह गरेका विष्ट थाहा दर्शनको प्रतिपादनपश्चात् पनि समय निकालेर पारिजात दिदीलाई भेट्न आउँथे । दिदीको सिरानमाथि खुला पर्खालमा सबैले देख्नेगरी उनले सेतो चकले सुन्दर अक्षरमा लेखेका थिए, ‘थाहा’ । यस्तै उनले सिद्धार्थ वनस्थली विद्यालयमा पनि लेखिदिएका थिए रे, विद्यालयका तत्कालीन प्रधानाध्यापक लक्ष्मण राजवंशीले नै भनेका । राजवंशीलाई उनले मण्डले भएको आरोपसमेत लगाएका थिए रे !

थाहा दर्शन अँगालेपश्चात् उनको बोली र व्यवहारमा अलि परिवर्तन भएझैं हामीलाई भान भयो । एक भेटमा उनले दिदी र मलाई ‘तँ’ सम्बोधन गरे । हामीलाई उनको यस्तो व्यवहार पटक्कै मन परेन । तर, उनको आफ्नै भाषाशैली थियो, जसले मन पगाल्थ्यो । ‘अमानव, कमानव, नमानव’ भन्ने विषयमा विश्लेषणले भरिएको उनको धारावाहिक भाषणअघि हाम्रो विरोध बिलाएर जान्थ्यो ।

विष्टको अन्तिम घडीको स्मरणले मन खिन्न हुन्छ । साथीहरूबाट प्राप्त समाचारअनुसार, उनको निधन दुःखद रूपमा भएको थियो । यसो भनौँ, उनले चाहेरै मृत्युवरण गरेका थिए । उनी औषधि सेवन गर्नसमेत मान्दैनथे रे । यदि यो तथ्य साँचो हो भने सायद यो पृथ्वी अथवा यो समाज उनलाई साँघुरो भयो । सायद उनको दर्शन मनन गरिदिने मानिसहरूको खडेरी भयो । सायद उनी समयभन्दा चाँडै जन्मिए यस धरतीमा ।

उनी हेटौंडावासीका एक चहेतु जननेता थिए । नेपालको वाम आन्दोलनका एक जुझारु धरोहर थिए । सुनेकी छु, रूपचन्द्रको सालिक उनकै कर्मथलोमा अनावरण भइसकेको छ । जीवन रहे एक पटक दर्शन गर्ने उत्कट इच्छा छ ।

प्रकाशित : असार ९, २०८० ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?