कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाली कागजमा कोरिएका धर्सा

चन्द्र गुरुङ

अमेरिकी रिपोर्टर तथा स्तम्भकार फ्रेंकलिन पी जोन्स भन्छन्, ‘मायाले संसार चल्ने होइन, तर मायाले जीवनयात्रालाई परिपूर्ण पारिदिन्छ ।’ हुन पनि हो मायाबिना संसार चले पनि त्यो जीवन त्यति अर्थपूर्ण हुन सक्दैन, उज्यालो र रंगीन बन्न सक्दैन । प्रेमबिना मान्छेको जीवनकालमा अनुभूत गर्नुपर्ने धेरै कुरा छुटेर जान सक्छन् । कवि राखी गौचनको कविता–किताब ‘प्रमिथसको फिलिंगो’ का कवितामा यस्तै प्रेम, विछोड, मानवीय सम्बन्ध र समाजमा व्याप्त विसंगति चित्रित छन् ।

खाली कागजमा कोरिएका धर्सा

कविता केवल कविता मात्रै होइन । यसले समाज र जीवनलाई नजिकैबाट बुझ्न सहयोग गर्छ । कवितामा सामाजिक रीतिरिवाजमा बाँधिएर दायित्वबोधको पर्खालभित्र जकडिएर बाँच्न बाध्य कथाकहानी हुन्छन् । कवि गौचन कवितामा देश नालायक सरकारको गलत नीतिले खण्डहर बनिरहेको, आमाहरूको चेहरामा भरोसाको दियो बल्न छाडेको र चारैतिर कालो मृत्युको साम्राज्य मौलाइरहेको सन्दर्भ समेट्छिन् । उनी समाजमा चारैतिर खोक्रो आदर्शको बिगबिगी बढिरहेको, मुकुन्डोधारीहरूले आम मानिसलाई जालोमा फसाइरहेकोप्रति चिन्तित छन् । उनका शब्दहरूले अनेकथरी जीवन अनुभूतिको आयातन नापेका छन् । उनका कवितामा प्रेम, पीडा र आक्रोश छताछुल्ल पोखिएका छन् । कवि स्विकार्छिन्–जीवन यात्राको अनुभव नै कविता लेखन प्रक्रियाको सृजनात्मक सामग्री हो ।

जीवनका विभिन्न परिस्थिति, भोगाइ, अन्तर्मनका भावना नै मान्छेको बाँच्ने आधार हो र यसले नै साहित्यिक मनको कविता खोतल्छ । कवितामा कविको उन्मुक्त र निडर स्वभावको चित्रण छ । कवि पीडा र रोदनले भरिएको अनुभूतिलाई नै जीवनको रेखाचित्र भन्छिन् ।

‘युगको कहानी’, ‘अस्तित्वको मूर्ति’ र ‘फेरिँदो समयको लय’ लगायत कवितामा मानिसको नीरव अस्तित्व तथा जीवनको परिभाषा सुन्दर रूपमा लेखिएको छ । कवितामा निर्दयी बगरबाट निमोठिएको र चिथोरिएको जीवनको दुःख, कदम कदममा संघर्षको बिगुल बजाउँदै बाँचिरहेका पात्र र पानाहरूभरि रङ उडेका बुट्टाहरूको चित्रण छ । चोक र गल्लीहरूमा संवेदना नाउँको जिनिस लावारिस पल्टिएको र मानिसहरू काँचो सम्बन्धको नापजोखमा लागिरहेकोप्रति कवि असन्तुष्ट छन् । कविसमयको कठोर कठघराको कैदबाट बाहिर निस्कने रहर व्यक्त गर्दै बाध्यताको जाँतोमा पिसिँदै गएको वर्तमान र अन्योलग्रस्त भविष्यप्रति चिन्तित छन् ।

किताबमा अस्तित्वको खोजीमा भौंतारिरहेका जीवनबारे सुन्दर र गहन कविता छन् । ‘ऐना र ऊ’, ‘जीवन ः खाली कागजमा कोरिएका धर्सा’, ‘चित्र’ र ‘बन्दी’ आदि कविताले समाजका शकुनि महत्त्वाकांक्षालाई प्रहार गरेका छन् । अस्तित्वको खोजीमा सपना र रहरका गल्छेँडोमा कतै लट्पटिँदै हिँडिरहेका पाइला र समाजमा देखापर्ने थुप्रै कुरूप दृश्यले ठाउँ पाएका छन् । कवितामा कुण्ठाको पिँजडाबाट मुक्तिका लागि छटपटाइरहेको र अर्धमृत जीवन बाँच्न विवश नारीको व्यथा छताछुल्ल भएको छ ।

किताबमा समयको प्रतिविम्ब दर्साउने कविता छन्, जहाँ भाषाका माध्यमद्वारा कविको स्वानुभूतिको कोमल, कलात्मक, रसात्मक र विचारले भरिपूर्ण अभिव्यक्ति छन् । पीडा प्रताडनाका कर्कश धुनको थर्थराहट छ, बाँचिरहेका मानिसका पीरव्यथालाई शब्दले सजाइएको छ । अट्टहासले भरिएको कुरूप राज्यमा बुद्ध पनि वधशालामा भेटिने सम्भावना छ । त्यस समाज र राज्यलाई ‘वधशालामा बुद्ध’ कवितामा प्रहार गरेकी छन् कविले । आम मानिसको दुःखव्यथा छ कवितामा । ‘युगपुरुष’, ‘मृत्युको कारखाना’, ‘तिम्रो कविता’, ‘टाउकाको मेला’, र ‘विचलन’ जस्ता कवितामा बेथिति र गरिबीको चित्र कोरिएको छ । ‘आमाको अनुहार’, र ‘आमा आज म’ जस्ता कवितामा कविले आमासितको घनिष्ठता र आत्मीयता लेखकी छन् । जीवनका मोड र घुम्तीमा आफ्नो वरिपरि व्याप्त सामाजिक विभेद, विसंगति तथा असमानताले तन र मन दुख्दा आमालाई याद गरेकी छन् । शीर्षक कविता ‘प्रमिथसको फिलिंगो’ मा एक छोरीले आफू गर्भमा छँदै आमाले सहनुपरेको अत्याचारमाथि आक्रोश प्रकट गर्दै अन्यायविरुद्ध लड्ने अठोट व्यक्त गरेकी छन् ।

इन्डिगो इन्कले प्रकाशन गरेको यो संग्रहमा कविले साहित्यको अनन्त सागरमा पौडी खेल्दै आफ्नो समयको छाया कोरेकी छन् ।

प्रकाशित : माघ १४, २०७९ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?