२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एउटा नवोदित सहरको कथा

के नेपाल सानो छ ? महाकवि देवकोटालाई सुनाउन मन छ– छैन कविवर छैन, नेपाल सानो छैन । तपाईंले कल्पना गर्नु भएजस्तै यो सुन्दर छ, विशाल छ । तर, तपाईंले भन्नुभएजस्तो शान्त छैन । यो त कोलाहलमय छ । 
अहिले वाग्मतीमा को पौडी खेल्छ र ? राज–राजेश्वरीको किरियापुत्री आवासमा पितृको आह्वान गरेर बसेका मानिस कलधारामा नुहाएर शुद्ध हुन्छन् । किरियापुत्री आवास सँधै ‘हाउसफुल’ हुन्छ ।
किशोर नेपाल

नयाँ वर्षको रमझम सकिएको एक साता भयो । चैत मसान्तको साँझदेखि वैशाख एक गतेको झिसमिसेसम्म मात्दै, नाच्दै, गाउँदै, रुँदै, कराउँदै, मोबाइलबाट भिडियो खिच्दै संसारलाई आफ्नो अँगालोमा कसेर रमाइरहेका तन्नेरीहरू बिहानपख मस्त निदाए । निद्राले शरीरलाई आराम दिँदैन, दिउँसोका लागि ऊर्जाको संकलन गर्छ । नयाँ वर्षको भोलिपल्ट सडकमा जो–जो देखिए ती सबैको अनुहारमा ऊर्जाको चमक थियो । रमाइलो भयो नि यार !

एउटा नवोदित सहरको कथा

नयाँ वर्षको दिनमा सडकमा त्यस्ता मानिसहरू पनि भेटिए, जो आउँदा दिनहरूका लागि आशाको दियो जगाइरहेका थिए । भलै, उनीहरूको हातको दियो निभ्ने अवस्थामा थियो । चिया पसलमा एक दर्जन मानिस हातमा ‘कटिङ’ चियाको गिलास बोकेर जमजमाउँदै थिए, ‘असी त गयो, गयो । अब एकासीमा केही त पक्कै हुन्छ ।’ के हुन्छ ? अघिल्लो साँझको धङधङीको सुरमा एक जना युवक भन्दै थिए, ‘कि रामीको विहे हुन्छ, कि मेरो भिसा लाग्छ ।’ रामी उनकी प्रेमिका हुन्– राम उनको नाम हो । रामकी रामी, रामीका राम ।

मनीषाको चिया पसलमा जम्मा भएका मानिसहरू राजनीतिको व्याख्या गर्दै थिए । एक जना युवा बम्किँदै थिए, ‘साला नेताहरू गावार हुन् । आफ्नो र अर्काको छुट्याउन सक्दैनन् ।’ लाग्दथ्यो उनी के बोली राखेका छन् ? उनैलाई थाहा छैन । तर, उनी आफ्नो व्याख्यामा आफैं रमाउँदै थिए । उनीहरूको आँखाको भाखा बोल्दै थियो, ‘हुन त केही हुँदैन । माखो पनि मर्दैन ।’ तै पनि, यो उनीहरूको साबिकको बयानबाजी थियो ।

वाग्मती ढलमतीमा रूपान्तरित भइसकेकी छन् । तर, दशक अगाडि वाग्मतीको पानी कञ्चन र निर्मल बनाउने अभियानमा एक्लै कस्सिएर लागेका थिए, हुतराम वैद्य । उनको नाम सम्झिने मानिस अहिले निकै थोरै छन् होला । हुतराम थापाथली छेउको वाग्मती किनाराका घाँस उखेल्थे र लेउ सफा गर्थे । त्यस यता मानिसका आशाहरू निरन्तर स्खलित भएका छन् । निर्दलीय पञ्चायतकालका शासकदेखि संघीय गणतन्त्रका शासक बाबुराम भट्टराईसम्म, सबै वाग्मतीको पानी स्वच्छ बनाउने अभियानमा लागेका थिए । पानी त स्वच्छ भएन, तर अभियान टुंगियो । तर किन हो, एसियाली विकास बैंक नै लागिपर्दा पनि वाग्मती जस्ताको तस्तै रहिन् । तैपनि, मानिसले पवित्र नदी वाग्मतीमा शुद्ध र स्वच्छ पानी बहने आशा अझै छाडेका छैनन् । उनीहरूलाई लागेको छ, उनीहरूकै जीवनकालमा ब्रम्हनालको जल सफा र स्वच्छ हुनेछ ।

बालक, वृद्ध र तन्नेरीहरू वाग्मतीप्रति भावविह्वल देखिन्छन् । मानिसमा वाग्मती नदीप्रतिको आस्था घटेको छैन । एक समय यस्तो पनि थियो– चाबहिल स्कुलमा पढ्ने बालकहरू पौडी खेल्दा वाग्मतीको सूर्यघाटमा डुब्थे र राज–राजेश्वरी घाटमा पानीबाट बाहिर निस्किन्थे । अहिले त वाग्मतीमा को पौडी खेल्छ र ? राज–राजेश्वरीको किरियापुत्री आवासमा पितृको आह्वान गरेर बसेका मानिसहरू कलधारामा नुहाएर शुध्द हुन्छन् । किरियापुत्री आवास सधैं ‘हाउसफुल’ हुन्छ ।

मानिसहरू भन्छन्, हाम्रो यो सहर बनारसभन्दा कुनै हिसाबले कम छैन । यो त धर्म र दर्शनको खानी हो । यो असत्य होइन । पहाडी सहर काठमाडौ र मैदानको सहर बनारसबीच भौतिक तुलना नहोला । तर, मानिसको विश्वास छ, दुवै सहरमा मर्नेले मुक्ति पाउँछन् । फरक यत्ति छ ः बनारसमा मर्नेहरूले मुक्ति पाउँछन्, काठमाडौंमा मर्नेहरूले मोक्ष–वरण गर्छन् ।

हो, यो कुरा तातो सत्य हो । काठमाडौंमा जति पनि मानिस आउँछन् ती सबै मोक्ष–वरणकै लागि आउँछन् । यहाँ आएपछि अनेक प्रयत्न गरेर युरोप जान्छन्, अमेरिका जान्छन्, खाडी देशहरूतिर भासिन्छन्, अफ्रिका, चीन, रुस कहाँ पुगेका छैनन् र नेपालीहरू ? सावगासले भ्याउनेहरू विदेशबाट मर्नकै लागि काठमाडौं आउँछन् । अमेरिकामा मर्नभन्दा मरेपछि खरानी हुन धेरै खर्च लाग्छ रे । यो पक्कै साँचो होला । जसको औकात हुँदैन, तिनका मृत शरीर बाकसमा काठमाडौं ल्याइन्छन् । आफ्नो मृत शरीर पशुपति क्षेत्रको भष्मेश्वर महा–श्मसानमा जलोस् भन्ने ठूलो आकांक्षा हुन्छ मानिसहरूको । जन्मभूमिका लागि अरू केही गर्न नसके पनि मर्नका लागि जन्मभूमि नै फर्किने आशा नै हो जन्मभूमिप्रतिको स्नेहभाव ।

वाग्मती किनाराको विकास नभएको छैन । वाग्मती किनारामा बनेका करिडोर–सडकका वारि–पारि अलकत्रा छापिएका छन् । तिलगंगाको बगर क्षेत्रमा आँखा अस्पताल बनेको छ, जहाँबाट हजारौंले दृष्टि पाएका छन् । मानिस मरे पनि उसका आँखाहरू जीवित रहन्छन् भन्ने मान्यता छ चिकित्सा शास्त्रको । दाह–संस्कारका लागि भष्मेश्वरको महा–श्मसानमा ल्याइएका मृत शरीरको आँखा निकालेर नेत्रविहीनहरूलाई संसार देखाउने योजना थियो त्यो अस्पतालको । त्यो योजना सफल वा विफल के भयो ? थाहा छैन । सायद जम्न सकेन । जीवित मानिसको शरीरमा मरेको मानिसको आँखा जडेर उसलाई सूर्यको उज्यालो देखाउनु पक्कै धर्म हो । तर, हिन्दुको संस्कार अलि बेग्लै छ क्यारे । जे भए पनि यो क्षेत्रको उखपात विकास भएको छ । भारत–सरकारको सहयोगमा तीर्थयात्रीहरूका लागि बनेको धर्मशाला अहिले लक्जरी होटलमा परिणत भएको छ : जहाँ शाकाहारी भोजन र मदिरा दुवै उपलब्ध हुने चर्चा सर्वत्र सुनिन्छ । पशुपति बिकास कोषलाई थाहा छ– महादेव सर्वभक्षी परमेश्वर हुन् । उनलाई बलि पनि चढ्दछ र मद्य पनि । यस्तो आस्थाशील भूमिमा मदिराको वैधानिक व्यापारलाई कसरी अस्वाभाविक भन्नु ?

कुनै बेला ‘गौचर’ र ‘भैमाल’ भनेर चिनिने यो क्षेत्रको अहिले अकल्पनीय विकास भएको छ । बत्तिसपुतली गाउँका बासिन्दाहरू सबैको घरमा गाई पालिन्थ्यो । यी गाईहरू त्रिभुवन विमानस्थलको पश्चिमतिरको डाँडामा चर्ने गर्दथे । त्यसैले यो ठाउँको नाउँ नै रहेको थियो– गौचरन । अहिले त्यो डाँडा काठमाडौं सहरको शोभा बनेको छ । जताततै लक्जरी होटल खुलेका छन् । म्यान–पावर कम्पनीका कार्यालय खुलेका छन् । नानीचाको चिया पसलदेखि सानदार कफी पसलसम्म, यो एउटा क्षेत्रलाई मात्रै हेर्ने हो भने पनि, अहिले यो काठमाडौंका धनाढ्यहरूको बस्ती बनेको छ । जहाँ समृद्धि हुन्छ, त्यहाँ दरिद्रता पनि त्यत्तिकै हुन्छ । अलि पर, नदी किनारामा दरिद्र मानिएका सुकुम्बासीहरूले घरबास बनाएका छन् । कति सुकुम्बासी टहराभित्र अत्याधुनिक वासिङ मसिनदेखि सुविधाजनक फ्रिजरहरू भेटिन्छन् । के नेपाल सानो छ ? महाकवि देवकोटालाई सुनाउन मन लाग्छ– छैन कविवर, छैन । नेपाल सानो छैन । तपाईंले कल्पना गर्नुभएजस्तै यो सुन्दर छ, विशाल छ । तर, तपाईंले भन्नुभएजस्तो शान्त छैन । यो त कोलाहलमय छ ।

नयाँ वर्षकै दिन एक जना तन्नेरी नालामा परिणत भइसकेकी वाग्मतीको किनारामा पातलो प्लास्टिकमाथि कुशको आसन बिछ्याएर सजिलोसँग पलेँटी मारेर बस्न खोजिरहेको छ । उसको छेउमा एक जना पुरोहित कुशको बाहुन र मोटक बनाउँदै छन् । तन्नेरी केटाकी आमा नयाँ वर्षका दिन स्वर्गवासी भएकी थिइन् । तन्नेरी स्वर्गवासी आमालाई तर्पण र पिण्डदान दिन आएको थियो त्यहाँ । तन्नेरी आफ्नो छोरालाई वाग्मती नदी छेउमा बनेको आफ्नो घरको बाथरुमको धारामा प्लास्टिकको पाइप जोडेर त्यो पाइपबाट श्राद्ध–स्थलसम्म पानी ल्याउन कराउँदै थियो । वाग्मतीमा अहिले नालामा बग्ने पानी बगिरहेको छ । त्यो पानी पितृलाई चढाउने हो भने पितृ सिधै नर्कलोकमा पुग्छन् । यस्तै कुनै आशयको वशीभूत थियो त्यो तन्नेरी । हो त, अहिलेको समय परिवर्तन भएको छ । बाबु–आमाको गुनासो हुन्छ– अचेलका केटाकेटीलाई अह्राएर पुग्दैन, कराउनै पर्छ । कराएर पनि टेर्दैनन ।

श्राद्ध स्थलको छेउबाट रामनामी ओढेका एक हूल मानिस ‘पशुपतिनाथको जय’ को नारा लगाउँदै वाग्मती करिडोरको बाटो मन्दिरतिर लाग्दै छन् । ती मानिसको नजरमा आमाको श्राद्ध गर्न वाग्मतीको किनारामा आसन जमाएर बसेको तन्नेरी चढ्दैन । उनीहरूलाई यो पनि थाहा छैन होला, हिन्दु धर्मग्रन्थहरूमा पशुपतिनाथको महिमा र महत्त्व बढाउने वाग्मती नदीको योगदानको वर्णन छ । वाग्मती नदी छिन् र पशुपतिनाथ हुनुहुन्छ । पानीबिना माछाको परिकल्पना त मूर्खता नै हो । उनीहरू हिन्दु धर्मको जय जयकार गर्दै अघि बढ्दै छन् । छिमेकी भारतको अयोध्या नगरीमा हालै बनेको भगवान् रामको विशाल मन्दिर बनेको छ । भक्तजनहरू अयोध्या नगरी जान खर्च जुटाउँदै छन् । मानोमुट्ठी उठाएर धर्मकार्य गर्ने प्रवृत्ति पुरानै हो । उनीहरूको कुरा सुनेर म सोच्दछु– भक्ति र दर्शनकै लागि हो भने त भगवान् रामको मूर्ति यहाँ पनि प्रतिष्ठित छ । मेरो घैंटोमा घाम लाग्दछ – भक्तजनहरू अयोध्या नगरीमा बनेको भव्य मन्दिरको अवलोकन गर्न चाहन्छन् । मानिसहरू ‘इन्टेलिजेन्ट’ छन् । उनीहरू पशुपतिको जात्रामा जान्छन् । भगवान् शिवको दर्शन गर्दछन् । पेटारोमा राखेर ल्याइएको सिद्रालाई स्थानीय बजारमा बेच्दछन् । त्यसपछि घर फर्किन्छन् ।

काठमाडौं सहर पहिलेको जस्तो गुजमुच्च छैन । यो अहिले विशाल आयातनमा फैलिएको छ । यसको विस्तारको ठाउँ साँघुरिँदै गएको छ । तर पनि, बिस्तार रोकिएको छैन ।

सहरमा सवारी प्रशस्त छन् । कतिबेला लाग्छ, यी सवारीहरूले मानिसको संख्यालाई संकुचित बनाइदिनेछन् । जे छ, यहीं छ । यहाँ नभएको केही छैन र कहीं छैन । खरिद–बिक्रीमा रोक लागेका पाँच सय र हजार रुपैयाँको नोट छाप्ने गुमस्ताहरू यहीं भेटिन्छन् । पशुपति क्षेत्रका सडकहरूमा थरीथरीका बाबा भेटिन्छन्, जो सामान्य मानिसलाई छिटो वैदेशिक रोजगारी पाउन पूजा लगाउने सुझाव दिन्छन् । पूजा त्यति महँगो छैन । पाँचै सय रुपैयाँमा दशामोचन हुन्छ ।

सहरको यो भागको अभावको आफ्नै गणित छ । अभावको पनि परिभाषा बदलिएको छ । आवरणमा देखिने हाम्रा संस्कृतिहरू परायाजस्तो लाग्दछन् । मानिसहरूले आफ्नो प्रार्थनाका भाव, भाषा र शैली बिर्सिन थालेका छन् । एक जना सहरविज्ञ साथीले बताए ः काठमाडौं हुनुको हाम्रो गौरव बिस्तारै हराउन थालेका छन् । यहाँका रैथाने सहरियाहरू सहरसँग उक्ताउन थालेका छन् । उनीहरू अर्को काठमाडौंको खोजमा युरोप र अमेरिकातिर भौंतारिइरहेका छन् ।

यो नियति हो कि विडम्बना ? थाहा छैन ।

प्रकाशित : वैशाख ८, २०८१ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार केहीबेर विमान उडान र अवतरण नै रोक्नुपर्ने अवस्था आउनुलाई के भन्नुहुन्छ ?