२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हिँड्ने राजमार्ग, गुड्ने राजमार्ग 

‘गुड्ने राजमार्ग’ गाउँ पसेपछि कर्णालीका खस साम्राज्यकालीन भोट–माल–मधेस जोड्ने १ हजार बर्ष पुराना ‘हिँड्ने राजमार्ग’ अलपत्र परेका छन् । इतिहासकार भन्छन्– दक्षिण गंगातट र उत्तर कैलाश मानसरोवर वारपार गर्ने राजमार्ग हो यो । 

आधुनिककालमा ‘गुड्ने राजमार्ग’ आएपछि कर्णालीमा हजार वर्षदेखिको चल्तीको ‘हिँड्ने राजमार्ग’ (खस साम्राज्यकालीन भोट–माल–मधेस जोड्ने मार्गहरू) अलपत्र परेका छन् । तीमध्ये दुल्लुबाट हाउडीको लेक नाघेर हिँड्दै जुम्ला जाने बाटो पनि एक थियो । दसैंताका मैले त्यही बाटोको एकल पदयात्रा गरेँ– त्यो मार्गमा पर्ने सम्पदा–अवशेष हेर्दै, बासिन्दाका अनुभव सुन्दै । 

हिँड्ने राजमार्ग, गुड्ने राजमार्ग 

यो बाटोलाई पुरातत्त्व र इतिहासकारले दक्षिण गंगातट र उत्तर कैलाश मानसरोवर आसपासको गुगें साम्राज्य जोड्ने ट्रान्स–हिमालयन हाइवे अर्थात् हिमाल वारपार गर्ने राजमार्ग भनेका छन् । स्थानीय आवागमन मात्रै नभई लामो दूरीका तीर्थयात्रा, बन्दव्यापार, युद्ध र कूटनीतिक प्रयोजन पनि यसमा पर्थे । प्राचीन रेशम मार्गको यौटा सानो शाखा पनि थियो । यसपालि म हिँडेको यो खण्ड एघारौं शताब्दीदेखि खस साम्राज्यको राजधानी सिंजालाई शीतकालीन दुल्लु मुकाम र बाह्य संसारसँग जोड्ने मूलबाटो थियो ।

मेरो यात्रा वीरेन्द्रनगर अर्थात् चौघान चौरबाट सुरु भयो । दसैंमा घर फर्किनेहरूको घुइँचोमा मिसिँदै बस चढेँ । गाडी कपासेबाट उँभो लागेपछि कटकुवा, छेडा (गोठीकाँडा), सिद्धपाइला, रातानांगला, गुराँसे हुँदै अघि बढ्छ । सुर्खेतभन्दा अघि यो क्षेत्रको प्रशासन दैलेखअन्तर्गत गोठीकाँडाबाट चल्थ्यो । औलो उन्मूलन अभियान चलेपछि व्यवस्थित बस्ती विकास भयो र उत्तरतिर डाँडाकाँडाका गाउँबस्तीहरू चौघान चौरमा झरे, पखेराहरूमा वृक्षरोपण गरियो र अहिलेको भूस्वरूप कायम भयो ।

बसका यात्रीहरू हाउडी लेक भएर उत्तर जाने बाटोबारे अनभिज्ञ पाएँ । बरु सबैलाई महाबु लेकको बाटोबारे थाहा थियो । त्यहाँ साउनमा ठूलो मेला लाग्ने प्रसिद्ध महाबै जगन्नाथको मन्दिर छ । गाडी पुगेपछि त्यो ठाउँ अचेल नयाँ पर्यटकीय गन्तव्य बनेको छ । ६ वर्षअघि मैले महाबु लाग्नाको बाटो एकल यात्रा गरेको थिएँ ।

२०३१ सालमा योगी नरहरिनाथले दैलेख–दुल्लुका घनश्याम आचार्यलाई पठाएको पत्र ।

म दैलेख बजार पुगेर मध्यपहाडी राजमार्गको बाटो हुँदै दुल्लु गएर बसें । होटल सञ्चालकका पिताजी घनश्याम आचार्यले योगी नरहरिनाथसँग गरेको संगतको अनुभव सुन्दै रात ढल्कियो । राजा महेन्द्रको कञ्चनपुर मुकाममा योगीसँग भेटेर सँगै गरेको महाकाली, सेती र कर्णाली अञ्चलको १८ महिने अन्वेषण यात्राका दृष्टान्तहरू रोमाञ्चक थिए । टिंकर भन्ज्याङ हुँदै कैलाश मानसरोवर दर्शनमा जाँदा भारतीय जस्तो ठानेर चिनियाँ सेनाले पक्रेर जमिनमुनि बंकरमा राखेछ । पछि मुगुबाट आएको दोभाषेको सहयोगमा २८ दिनपछि मुक्त भएर नेपाल सीमामा फर्केछन् । भारत–चीन युद्धपश्चात्को समय त्यो क्षेत्र निकै संवेदनशील थियो ।

अन्वेषणको क्रममा संकलित सामग्रीहरू सरकारको अभिलेखालयमा संग्रहित हुने र यात्राबाट फर्केपछि योगीले प्रकाशन गर्ने योजनाअनुरूप आठ जना भरियामार्फत काठमाडौं पठाइएका थिए । तर, सरकार फेरिएकाले होला, आफैंले संकलन गरेका सामग्री योगीजीले भेटेनन् । त्यसैले काव्यात्मक शिखरिणी यात्रा पुस्तकमा स्मृति टिपोटमा आधारित थोरै सन्दर्भ मात्र उल्लेख छन् । आचार्यलाई योगीले स्नेहपूर्वक पठाएको संस्कृत भाषाको हस्तलिखित चिठी पढेर मलाई नेपाली अर्थ पनि बुझाए उनले ।

कालिकोट शुभकालिका मुंग्राहाको ढुंगेधारा ।

अर्को दिन बिहानै दुल्लु आसपास डुलेँ । दुल्लुमा नेपाली भाषा र इतिहास प्रामाणिक हुने प्राचीन अभिलेखसहितका सम्पदास्थलको प्रचूरता छ । बजार प्रवेश गर्ने उकालो बाटो छेउमा पाथरनाउली (अमरवल्लभा वापी) छ । कलात्मक तरिकाले पथ्थरबाट निर्माण गरिएको ठूलो नाउलो, कुवा वा पनेरोमा शिलालेख छ । त्यो शिलालेख पढेर प्रो. जिसेप टुचीले अर्थ्याएअनुसार, विसं.१४११ मा खस राजा पृथ्वी मल्लका पालामा बटोहीको प्यास मेटाउने जीवनदायी कार्य छन्त्याल परिवारका देउवर्मनल बनाएको भनी धर्मदास नाउँ गरेका व्यक्तिले यो शिला कुँदेका हुन् ।

मैले कुराकानी गरेका स्थानीयले भनेअनुसार माटोमा पुरिएको यो नाउलोलाई सर्वप्रथम योगी नरहरिनाथले उत्खनन गर्न लगाई यसको महत्त्वबारे उजागर गरेका थिए । मानिसको आवागमन बाक्लो हुने बाटोमा प्रशस्त संख्यामा कलात्मक नाउला र मुंग्राहा (धारा) हुनुले यो विशेष मार्ग रहेका प्रमाण मिल्छ । टुचीले घोडाका लागि प्रख्यात जुम्लाका घोडचडीहरू हिँड्न मिल्ने गरी बनेको बाटो खस सम्राज्यका पालामा अहिले भन्दा चौडा र बलिया थिए भनी अनुमान गरेका छन् ।

यहाँ आसपास जमिन खनजोत गर्दा पुराना ताम्रपत्र र मुद्रा भेटिने तथ्य सुन्न–पढ्न पाइन्छ । कतिपय अभिलेख शिलाहरू जगमा परे, खोलाले लग्यो, भित्तामा चिनिए र केही खण्डित भेटिन्छन् । ‘ज्वाला क्षेत्रका असंख्य देवल संरचनाहरू लडेका, भत्केका, टुक्रेका, खोलाले पुरिएका देख्दा अलिकति चेतना भएका मानिसले हेर्दा पछुतो लाग्छ’ भनेर योगी नरहरिनाथले लगभग सात दशकअघि नै यस क्षेत्रको भ्रमणपछि प्रकाशित इतिहास प्रकाश भाग–१ मा लेखेका छन् ।

अधिकांश नेपालीको थरको उत्पत्तिसँग जोडिएका गाउँहरू पनि दुल्लु क्षेत्रमा छन् । यहाँ पञ्चकोशी भनेर चिनिने शिरस्थान, नाभिस्थान, पादुका, धुलेश्वर र डुंगेश्वर क्षेत्रअन्तर्गत विभिन्न धाम छन् । कार्तिकदेखि चैत्रसम्म ५ देखि २५ दिनको विधिपूर्वक परिक्रमा गर्ने चलन छ । पितृकार्यका निम्ति श्राद्ध गर्ने विभिन्न १८ स्थान छन् ।

नेपाली भाषामा लेखिएको पहिलो अभिलेख भनेर चिनिने दामुपालको स्तम्भ, खस शासन व्यवस्थाको महत्त्वपूर्ण प्रमाण मानिने पृथ्वी मल्लको कीर्तिस्तम्भ यहीं छन् । दैलेखका भुर्ति, किमु, कुइकाना, तर्ताङ, कट्टी, दवाडा, काशिकाँध, पटाङ्गिनी, रावतकोट, कोइराला, पादुका, छुवाला, ब्याउली, वाणगंगा आदि स्थानमा देवल भेटिन्छन् । खस साम्राज्यकालीन संरचनालाई आजसम्म स्थानीय जनश्रुतिमा पाण्डवले बनाएका थिए भन्ने विश्वास छ ।

शाहकालीन दुल्लु पूर्व–पश्चिम अवागमनको पनि केन्द्र बन्यो । विसं. १८७६ मा काजी जसपाउ थापाले बनाएको विश्राम घर अहिले संग्रहालय बनेको छ । स्थानीय राजाका दरबारहरू माओवादी द्वन्द्वकालमा ध्वंस पारिए । जंगबहादुर राणाका बाबु बालनरसिंह कुँवरले जीर्णोद्धार गरेको बालेश्वर शिवालय भनेर चिनिने शिवमन्दिर यहीं छ । यहाँका तत्कालीन शासकले गोर्खालीराज स्विकार्दै रजौटा बिर्तामा बसेकाले जुम्लाभन्दा फरक दुल्लुका संरचनाहरू केही मात्रामा सुरक्षित भए ।

डाँडीमाडीमा भेटिएकी भैरवी गाउँपालिका अध्यक्ष रिता शाही भन्छिन्, ‘बाटैभरि भेडाका बथान, भारी बोकेका खच्चर र मान्छेका लावालस्कर धूलो उडाउँदै हिँड्थे । बाबालाई भेट्न आउने जुम्ली इष्टहरूले ल्याउने कोसेली रातो चामलको खीरको स्वाद आझै याद छ ।’ पचास वर्षअघि अध्येता पूर्णप्रकाश नेपाल ‘यात्री’ कुसापानी पुग्दा गाउँ पञ्चायत भवनकै आँगन भएर जाने मूलबाटोमा जुम्ला, मुगु, हुम्लाबाट मालमधेस गर्न हिँडेका असंख्य बटोही देखेको ‘भेरीका गाउँघर’ पुस्तकमा लेखेका छन् ।

यही बाटोमा भेटिएका धनबहादुर गुरुङको घर बजाङ्गीनेटामा छ । उनले भने, ‘बिहान तीनै बजेदेखि फुर्सद हुँदैन थियो । नौ बजेसम्म त चारपाँच सय कप चिया जान्थ्यो ।’ आफ्ना बाबासँग यही ठाउँमा पसल चलाउँदाको अनुभव छ उनीसँग । जब बाटो मोडियो, पेसा मोडियो र बस्ती छोडियो ।

दैलेखको भैरवी गाउँपालिकालाई कालिकोटको शुभकालिका गाँपालिकासँग जोड्ने ट्र्याक खुलेको छ । बाटोको छेउमा ढुंगाको दुईकोठे धर्मशाला छ । ढुंगाका अग्ला खाँबा र बिममा अडिएको संरचना दुल्लुको पाथरनाउलीसँग मेल खान्छ । सायद यो एकै कालखण्डमा बनेको हुनुपर्छ ।

यो मार्गको दैलेख खण्डमा पर्ने जडीको उकालो उक्लिँदा मध्याह्न भयो । समुद्र सतहबाट लगभग ३ हजार मिटर उचाइको यो हाउडी भन्ज्याङलाई भवानीथान पनि भनिन्छ । यहाँ पखेरामा खर ढुंगाका छाप्रा पसलका भग्नावशेष यत्रतत्र देखिन्छन् । निगालाको जंगल रहेको यो पहाडलाई अचेल रेडपान्डा संरक्षित क्षेत्र बनाइएको रहेछ । हाउडी गाउँबाट कुसापानी गाउँमा बिहेको निम्तोमा मान्न हिँडेका मष्टोका धामीहरूसहितको समूहसँग पनि भेट भयो ।

केही बेरमा रत्याथलो भन्ने चौरिलो ठाउँ आयो । यो समिट क्याम्पजस्तै यात्रीहरू थकाइ मार्ने, बास बस्ने अन्तिम स्टेसन थियो । वर्षामा गोठाला आउँथे होलान्, तर यतिबेला सुनसान रहेछ ।

तीन घण्टा घना जंगल ओरालो झरेपछि गाईका घाँट बजेको सुनेँ । त्यो रात शुभकालिका गाउँपालिका–८ का वडाध्यक्ष दीपराज महताराको घरमा बास बसेँ । यो गाउँ महताराहरूको उद्गम भनेर चिनिन्छ । कल्यालवंशी जुम्ली राजाको दूतको राजकीय जिम्मेवारी लिएर एक जना महतारा पनि काठमाडौं आएको प्रसंग पृथ्वीनारायण शाहले सल्यानका राजा आफ्ना सम्धीलाई लेखेको पत्रमा उल्लेख गरेको पढेको थिएँ ।

घरको आँगनसँगै बाटो किनारामा दुईटा कलात्मक धारा (मुङ्ग्राहा) छन् । मुहानमा घरहरू बनेकोले होला धारो सुकेको छ, तर पाइपको पानी जोडिएको छ । प्रायः यस्ता धारा नाउला आसपास देवल पनि पाइन्छन् । यहाँ नजिकै पनि देवलहरू भएको, तर पहिरोले बगाएर तल कतै खेततिर पुगेको प्रसंग वडाध्यक्षका ८० वर्षीय बुबाले बताए । यही बाटो गेला, भर्ता, पाद्मघाट, चिल्खा, भात्तडी वा जुविथा हुँदै जुम्ला सिंजा जान्छ । अनेक प्रतिकूलताका बाबजुद शेष रहेका कैयौं सम्पदा बाटो, बारी र वनतिर अझै भेटिन्छन् ।

पुर्खाहरूको उबेलाको साहस र संघर्षको कल्पना गर्दे म यही बाटो अघि बढें । तिलानदीको पारिपट्टि राताडाब देखियो । करिब ६ सय वर्षअघि मेरा पुर्खा यहींबाट कुडारी पारिको नुवाकोट हुँदै हालको फान्चौर पुगेका थिए भन्ने मान्यता छ । केहीबेर हिँडेर गेला गाउँमुनि झोलुङ्गे पुल तरेर पारिपट्टि पिलीको फेद तेस्रो लागेर कर्णाली राजमार्गको बिर्तामोडबाट गाडी चढेँ । आधुनिक युगका यात्रीलाई इतिहासका रोचक कथासँग साक्षात्कार गराउँदै पदयात्राको अनुभव दिने यौटा विशेष सम्पदा ट्रेलको रूपमा विकास गर्न सकिने सम्भावनाको प्रशस्त आधार भेटिएको महसुस गरेँ ।

(लेखक चौलागाईंको कर्णालीमाथि लेखिएको किताब ‘सपादलक्ष कर्णाली’ प्रकाशित छ)

प्रकाशित : वैशाख ८, २०८१ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार केहीबेर विमान उडान र अवतरण नै रोक्नुपर्ने अवस्था आउनुलाई के भन्नुहुन्छ ?